Ad Area

पुरुषलाई हनिट्रयापमा पारेर ५० लाख बार्गेनिङ गर्ने ३ जना महिला धरौटीमा छुटे


दाङ,२१ असोज । दाङको एक होटेलमा पुरुषलाई बोलाई हनिट्रयापमा पारी ५० लाख बार्गेनिङ गर्ने तीनजना पेसेवर महिला धरौटीमा छुटेका छन्।

दाङ जिल्ला अदालतले लोभलालच देखाई नजिक भइ हनिट्रयापमा पारेर पैसा असुल्ने तीन जना महिलाको गिरोहलाई धरौटीमा छोड्न आदेश दिएको हो।

जिल्ला अदालतका न्यायाधीश डिल्लिराज शर्मा अर्यालको एकल इजलाशले थुनछेक आदेश अन्तरगत महिलालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले अदालतको आदेश बमोजिम हनिट्रयापमा पक्राउ परेका घोराही–१५ का ३२ वर्षीया सीतादेवी थापा १ लाख ५० हजार रुपैयाँ, ३५ वर्षीया खुमा वली ८० हजार र ३२ बर्षीया सुष्मा परियार ७० हजार रुपैयाँ धरौटी राखेर छुटेको जानकारी दिएका छन्।

जबरजस्तीकरणी मुद्धा दर्ता गरिदिने भन्दै आर्थिक लाभ लिन खोजेको अभियोगमा दाङमा प्रहरीले तीन जना महिलालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो।

प्रहरीले घोराहीका एकजना पुरुषसँग होटलमा बसेर मादक पदार्थ पिएपछि विवाद सिर्जना गरेर जबरजस्तीकरणी मुद्धा दर्ता गर्ने त्रास देखाई आर्थिक लाभ लिन खोजेको अभियोगमा तीन जना महिलालाई पक्राउ गरेको थियो।

पक्राउ परेकी सीतादेवी थापाले गएको ६ असारमा घरायसी समस्या परेको र सहयोग गर्नुपर्ने भन्दै ती पुरुषलाई घोराहीको कोहिनुर रेष्टुरेन्टमा बोलाई उक्त घटना गराएको प्रहरीले जानकारी दिएको थियो।

होटलमा बसेर मादक पदार्थ पिएपछि घर फर्कने क्रममा सीतादेवी खाटमा पल्टिएको र उनीहरुले बोलाएको पुरुषलाई गालीगलौज गर्दै जबरजस्तीकरणीमा मुद्धा दर्ता गर्ने भन्दै धम्की दिएको ती पुरुषले प्रहरीमा दिएको निवेदनमा उल्लेख छ।

अर्कोदिन ती पुरुषलाई फोन गरी ती महिलाहरुले पैसामा मिलाउन र यदि त्यसो नभए मुद्धा दर्ता गर्ने भनेपछि प्रतिष्ठामा आँच आउने सोचले एक लाख रुपैयाँ नगद र १७ लाख रुपैयाँको चेक दिएको प्रहरीलाई बताएका छन्।

प्रहरीले सितादेवीको कोठामा खानतलासी गर्दा चेक, तमसुक बरामद गरिसकेको छ। ती महिलाहरुले ५० लाख रुपैयाँ माग गरेपछि ती पुरुषले आवश्यक प्रमाणसहित प्रहरीमा उजुरी गरेका थिए।

पक्राउ परेकाहरु विरुद्ध अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसुरमा मुद्धा दर्ता गरिएको थियो। उक्त कसुरमा ३ बर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था रहेको छ।

प्रहरीले मुलुकी अपराध ऐनको दफा २५३ अन्तरगत ३ बर्ष कैद सजायको माग गर्दै मुद्दा चलाएको हो।