घोराहीको विकट बसेरीखोलामा स्वास्थ्य शिविर, चेकजाँचसँगै कोभिड खोप र हात्तीपाइले औषधि

दाङ, ७ चैत । घोराही उपमहानगरपालिका–५ बसेरीखोला निवासी ८४ बर्षीय खिर्मा रोकामगरलाई ज्वरो आउने, टाउको दुख्ने समस्याले सताउन थालेको एक हप्ता भैसकेको थियो । तर गाउँमा स्वास्थ्य चेक गराउने र औषधि पाइने ठाउँ नहुँदा उनी स्वास्थ्य चेक गराउन सकेकी थिइनन् । बृद्ध अवस्था कारण तीन घण्टा पैदल हिँडेर अस्पतालसमेत जान नसकेकी खिर्माले आइतवार वडा कार्यालयले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य अवस्था चेकजाँचसँगै औषधि पाउँदा खुशी व्यक्त गरिन् ।
‘ज्वरो र टाउको दुख्न थालेको धेरै दिन भैसकेको थियो । वृद्ध अवस्थाका कारण हिँडेर अस्पताल जान सक्ने ताकत छैन’, स्वास्थ्य शिविरमा आएकी खिर्माले भनिन्– ‘बिरामी अवस्थामा गाउँमै स्वास्थ्य सेवा पाउँदा खुशी लागेको छ ।’ उनले स्वास्थ्य सेवा बसेरीवासीले एक दिन मात्रै नभएर सधै पाउने दिन आए आफूजस्ता बिरामीहरुलाई ठूलो सहयोग मिल्ने बताइन् । त्यस्तै बसेरीखोलाकै महेन्द्र घर्तीमगरले गाउँमै कोरोना भाइरसविरुद्धको खोप र हात्तीपाइले रोग विरुद्धको औषधि खान पाउँदा खुशी लागेको बताए ।
कोरोना भाइरसविरुद्धको खोपको सुविधा गाउँमा नपाउँदा लगाउन नपाएको भन्दै उनले जोखिम कम भएको समयमा लगाउन पाउँदा खुशी लागेको बताए । ‘अहिले कोरोना भाइसको जोखिम त छैन । तर पछि फेरि कोरोना भाइरसको जोखिम हुनसक्ने भएकाले सरकारले दिएको खोप लगाउन मन थियो । तर खोप लगाउनकै लागि २–३ घण्टा हिँडेर बसन्तापुरमा रहेको स्वास्थ्यचौकी जान सकेका थिएनौ’, उनले भने– ‘तर अहिले कोरोना भाइरसविरुद्धको खोपसँगै गाउँमै हात्तीपाइले रोग विरुद्धको औषधि पाउँदा खुशी लागेको छ ।’
भौगोलिक विकटताका कारण आफ्नै वडामा रहेको स्वास्थ्यचौकी जानका लागि बसेरीवासीलाई पैदल जंगलको बाटो ३ घण्टा उकाली–ओराली हिँड्नुपर्ने बाध्यता रहेको छ । जसले गर्दा सरकारले निःशुल्क रुपमा उपलब्ध गराएका स्वास्थ्य सेवासमेत स्थानीयले उपभोग गर्न सक्ने अवस्था छैन् । स्थानीयलाई सरकारी निःशुल्क सेवा पाउनका लागि स्वास्थ्य शिविरकै भर पर्नुपर्ने बाध्यता रहेको छ ।
निःशुल्क स्वास्थ्य शिविरमा ४४ जना स्थानीयको स्वास्थ्य चेकजाँचसँगै प्राथमिक उपचार गरिएको धर्ना स्वास्थ्यचौकीका प्रमुख एवं जनस्वास्थ्य निरीक्षक नारायण न्यौपानेले बताए । उनका अनुसार स्वास्थ्य शिविरमा कोरोना भाइरसविरुद्धको खोप नलगाएका ४४ जनालाई कोरोना विरुद्धको खोप र ७१ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइएको थियो ।
‘विकट क्षेत्रमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा स्थानीयको स्वास्थ्य चेकजाँचसँगै प्राथमिक उपचार र परामर्शसँगै कोरोना भाइरसविरुद्ध खोप र हात्तीपाइले रोगको औषधि खुवाउने कार्यक्रमको तयारी गरेका थियौँ’, स्वास्थ्यचौकी प्रमुख न्यौपानेले भने– ‘त्यही अनुसार शिविरमा करिब ८५ बढी स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरेका छौँ ।’ उनले स्वास्थ्य शिविरमा बिरामीहरुको स्वास्थ्य चेकजाँच, परामर्शसँगै निःशुल्क प्राथमिक उपचार गरिएको बताए ।
उनका अनुसार जटिल खालको स्वास्थ्य समस्या देखिएका व्यक्तिहरुलाई उपचारका लागि विशेषज्ञ डाक्टर कहाँ जान सिफारिस गरिएको थियो । स्वास्थ्य शिविरमा ज्वरो, टाउको दुख्ने, रुघाखोकी, पेट दुख्ने, दम, प्रेसरलगायतका बिरामीहरुले सेवा लिएका थिए । घोराहीको विकट बस्तीमा रहेका जनतालाई घरदैलोमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य अनुसार वडा कार्यालयले धर्ना स्वास्थ्य चौकीको समन्वयमा शिविरको आयोजना गरेको वडा अध्यक्ष बिष्णुमणि दाहालले बताए ।
‘विकट क्षेत्रमा बसोवास गर्ने स्थानीयलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्य अनुसार बसेरीखोलामा स्वास्थ्य शिविरको आयोजना गरेका हौँ’, वडा अध्यक्ष दाहालले भने– ‘शिविरबाट धेरै स्थानीयले सेवा प्रदान गर्नुभएको छ ।’ उनले आगामी दिनमा शिविरसँगै बसेरीखोलामै प्राथमिक स्वास्थ्य उपचार पाउने व्यवस्थाका लागि वडा कार्यालयले पहल गरिरहेको बताए ।
घोराही उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विष्णुमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदी, सिन्दुरे बसेरीखोला टोल विकास संस्थाका अध्यक्ष तुलसीराम पुनलगायतले विकटबस्तीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय खुसी भएको बताएका थिए ।
कार्यक्रमको सहजीकरण धर्ना स्वास्थ्य चौकीका प्रमुख एवं जनस्वास्थ्य निरीक्षक नारायण न्यौपानेले गरेका थिए । स्वास्थ्य शिविरमा बसेरी, सिन्दुरे, गाईखुटीलगायतका टोलका स्थानीय तथा श्रीबराहक्षेत्र प्राथमिक विद्यालयका विद्यार्थीहरुले सेवा लिएका थिए । शिविरमा धर्ना स्वास्थ्यचौकीका प्रमुख नारायण न्यौपानेसँगै स्वास्थ्यकर्मीहरु अशोक योगी, सीता चौधरी र सरिता चौधरीले सेवा प्रदान गरेका थिए ।