Ad Area

‘धार्मिक अपनत्वका लागि धर्म निरपेक्षताको खारेजी’


हिन्दु राष्ट्र जागरण अभियान

दाङ, ६ चैत । गौरवशाली हिन्दु राष्ट्र नेपालको मूल नारा सहित ‘घर–घरमा जाऔँ, आफ्नो धर्म आफै बचाऔँ, धर्मनिरपेक्षतालाई डाँडो कटाऔँ, हिन्दु राष्ट्र पुनः लेखाऔँ’, भन्ने अभियान देशव्यापी रूपमा सुरु भएको छ । यही अभियानको जानकारी दिनका लागि घोराहीमा एउटा भव्य एवं सभ्य हिन्दु धर्मसभाको आयोजना गरिएको छ ।

काठमाडौंमा भएको धार्मिक अभियन्ताहरूको बृहत मन्थनपछि अभियानलाई केन्द्रदेखि पालिकासम्मै लग्ने र हरेक जिल्लामा हिन्दु सम्मेलनको आयोजना गरी राज्यलाई हिन्दु राज्य घोषणा गर्नका लागि नागरिक दबाब सिर्जना गर्ने उद्देश्यले यो धार्मिक सभा सुरु भएको आयोजकले बताएको छ । यो अभियानलाई सार्थक बनाउन र मुलुकभर फैलाउनका लागि जिल्ला स्तरीय भेला, पालिका स्तरीय भेला र वडा स्तरीय भेलाको आयोजना गरी सबै क्षेत्रलाई संगठित बनाएर राजनीतिको मूल प्रवाहमा यो अभियानका विषयलाई लैजाने पनि सो अवसरमा बताइएको छ ।

कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी तथा निर्देशक तुलसी घिमिरेले बालबालिकालाई संस्कार बुझाउनु पर्ने बताएका छन् । हिन्दु धर्मको संरक्षणका लागि हिन्दु संस्कार संस्कृतिको अर्थ नयाँ पिढीलाई बुझाउन जरुरी रहेको बताए । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले आयोजना गरेको ‘प्रबुद्ध नागरिक गोष्ठी एवं साहित्य परिचय कार्यक्रम’लाई सम्बोधन गर्दै घिमिरेले हिन्दु धर्म स्थापनाको लागि हिन्दु धर्मको महत्व बुझाउन आवश्यक रहेको बताए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका घिमिरेले ‘हाम्रा संस्कार, संस्कृतिसँग जोडिएको अर्थ र महत्व बुझाउन जरुरी छ’, उनले थपे, ‘दसैँ, तिहारलगायतका पर्वसँग जोडिएका महत्वलाई अबको नयाँ पिढीलाई सिकाऔँ, हाम्रा संस्कार, संस्कृतिसँग जोडिएका महत्व आफैमा वैज्ञानिक छन्, यही महत्वले हाम्रो हिन्दूत्वको संरक्षण गर्छ । नेपालमा रहेका हिन्दुहरूले एकै पटक हिन्दूत्वको नारा लगाउने हो भने धर्म निरपेक्षता आफै भाग्दछ । यसका लागि एकता र इच्छाशक्ति आवश्यक छ ।’

Blog Post Ad

घोराहीको होटल मालाइनको हल जिल्लाका प्रबुद्ध विद्वत्वर्गले भरिभराउ थियो । राजनीतिक आस्थाका नभएर धार्मिक आस्था बोकेका सयौँ सहभागीले ध्यानमग्न भएर कार्यक्रमको औचित्यलाई ग्रहण गरिरहेका देखिन्थे । शान्त स्वभावमा चलेको कार्यक्रम अवधिभर कोही पनि नियास्रो अनुभूति गरेर कार्यक्रम स्थलबाट बाहिरिनु परेको थिएन । स्कूले विद्यार्थीदेखि अध्यापक र साहित्यकारहरूको बाक्लो उपस्थितिले समारोह स्थललाई एउटा भव्य धार्मिक सभाको रूपमा चित्रण गर्दथ्यो ।

कार्यक्रमको जानकारी दिँदै हिन्दु स्वयम्सेवक दाङका संघ चालक किशोरचन्द्र गौतमले धर्म निरपेक्षतासँगै हिन्दुको अस्तित्व समाप्त हुन थालेकाले अस्तित्व बचाउने दायित्वबोध गर्ने बेला आएको बताएका थिए । उनले भने, ‘हाम्रो अस्तित्व संरक्षणको जिम्मा हाम्रो काँधमा आएको छ, अस्तित्व संरक्षणका लागि अब हिन्दु राष्ट्र स्थापना गर्न आवश्यक छ, हिन्दु राज्य स्थापनाका निम्ति योजनाबद्ध क्रियाकलापको आवश्यक रहेको छ । अब योजनाबद्ध क्रियाकलापका आधारहरू स्थापना गरौँ, हिन्दु राज्य असम्भव छैन ।’

संघ चालक गौतमले अब आवश्यक विषयप्रति गम्भीर हुन जरूरी रहेका बताए । धर्मनिरपेक्ष जवर्जस्ती लादिएको बताउँदै नेताहरूको सत्तामोह र सत्ता दिलाइदिने विदेशीहरूको चलखेलले हिन्दु धर्म संकटमा परेको पनि बताए । अबको समयको माग, युगको माग हिन्दु धर्म बचाउनु रहेकोले अभियानलाई निरन्तरता दिन सबैलाई आग्रह गरे ।

त्यस्तै कार्यक्रमलाई संघका प्रचारक विपुल दाहाल, संघका काठमाडौं विभागका कार्यवा तुल्सी न्यौपाने, नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष लेखनाथ आचार्यलगायतले सम्बोधन गरेका थिए । अभियानका अध्यक्ष गणेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभियन्ता डिल्ली पण्डितले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण अभियन्ता शरदकुमार शर्माले गरेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका छात्रछात्राहरूले पनि आ–आफ्ना धार्मिक प्रस्तुतीहरू देखाएका थिए ।

नेपालमा कूल जनसंख्याको कम्तिमा ८८ प्रतिशतभन्दा बढी हिस्सा हिन्दु धर्मावलम्बीहरूले ओगटेको जनगणनाको तथ्याङ्कले नै स्पष्ट पारेको छ । यति हुँदाहुँदै पनि सरकारले संविधान जारी गर्दा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र भनेकोमा हिन्दु धर्मका अभियन्ताहरूको व्यापक असन्तुष्टि छ । यससँगै पछिल्लो समयमा हिन्दु राज्यको अवधारणा नै समाप्त पार्ने विभिन्न षड्यन्त्र समेत हुन थालेका छन् ।

शिक्षा, स्वास्थ्यलगायत विभिन्न सेवाका नाममा धर्म प्रचार गर्ने र गराउन विवश पार्ने शक्तिहरूले पनि मुलुकका दुर्गम बस्तीदेखि सांसदका घरघरसम्म आर्थिक प्रलोभनका घटनाहरू एकपछि अर्को गर्दै दोहो¥याइरहेका छन् । जसले पुरातन हिन्दु धर्मको अस्तित्व नै संकटमा पार्न खोजिएको देखिएको छ ।

Blog Post Ad Blog Post Ad