Ad Area

‘गोभी’ नबिक्दा मर्कामा किसान …


दाङ, ९ चैत । घोराही उपमहानगरपालिका–६ गुरगई निवासी किसान प्रेमबहादुर चौधरीले दश कठ्ठा जमिनमा रोपेको गोभी नबिक्दा समस्यामा परेका छन् । तरकारी खेती गर्ने र त्यहीबाट आएको पैसाले घरव्यवहार चलाउने उद्देश्यले व्यावसायिक गोभीखेती गर्दै आएका चौधरी तयारी अवस्थामा रहेका गोभी नबिक्दा मर्कामा परेका हुन् ।

करिब दश कट्ठा जमिनमा रोपेको माधुरी जातको फूलगोभीमध्ये ६ कठ्ठा जमिनमा गोभी तयार भए पनि बेच्नलाई समस्या भएको बताए । उनले बाहिरबाट सस्तोमा गोभी आउँदा आपूmहरूलाई विक्री गर्न समस्या भएको उनको भनाइ छ । दश कठ्ठामध्ये अहिले ६ कठ्ठा जमिनमा विक्रीका लागि तयारी अवस्थामा गोभी रहेको बताए ।

‘केही होला भनेर दश कठ्ठामा गोभी खेती गरेको थिएँ, त्यसमध्ये अहिले ६ कठ्ठा जमिनमा रोपेको गोभी विक्रीका लागि तयार भएका छन्’, किसान चौधरीले भने, ‘तर बजारमा विक्री गर्नका लागि लैजाँदा व्यवसायीले किन्नै मान्दैनन् ।’ उनले कतिपय व्यवसायीहरूले अत्यन्तै कम बजार मूल्य पाँच रूपैया प्रतिकिलो माग्ने गरेको बताए ।

एक हप्ताभित्र गोभी विक्री नगरे बारीमै फुलेर खेर जाने अवस्था सिर्जना भएको उनले गुनासो पोखे । ‘करिब ५० हजार रूपैयाँ खर्च गरेर दश कठ्ठा जमिनमा गोभी रोपेको थिए । त्योमध्ये ६ कठ्ठा जमिनको गोभी तयार भएको छ’, उनले भने, ‘तर बजारमा बेच्न लग्दा बिक्दैन, कतिपय थोरै मूल्यमा माग्नुहुन्छ, पाँच रूपैया केजीमा दिन सकेको छैन ।’

उनले पाँच रूपैयाँ केजी गोभी बेच्दा आफ्नो लगानी नै नउठ्ने बताए । गोभीको बिउ उमार्नदेखि खानका लागि तयार पार्दासम्म करिब ५० हजार रूपैयाँसम्म खर्च भएकाले कम मूल्यमा बेच्दा लगानी नै नउठ्ने उनी बताउँछन् । ‘कम मूल्यमा विक्री गर्दा मेरो लगानी नै उठ्दैन’, उनले भने, ‘त्यसैले घाटा खाएर विक्री गर्नुभन्दा बरु गाई–भैँसीलाई खुवाउनुका साथै गाउँघरमा ‘फ्री’मा बाँड्ने गरेको छु ।’

Blog Post Ad

गत वर्ष यो सिजनमा दैनिक सय केजीसम्म गोभी विक्री गर्ने गरे पनि यो वर्ष जिल्लामा प्रशस्त उत्पादनसँगै बाहिरबाट धेरै मात्रामा गोभी आउँदा विक्री गर्न धौ–धौ भएको उनले बताए । विगत दश वर्षदेखि तरकारी खेती गर्दै आएका चौधरीले गत वर्ष व्यावसायिक गोभी खेतीबाट राम्रो आम्दानी लिएको समेत बताए । ‘विगत दश वर्षदेखि निरन्तर रूपमा तरकारी खेती गर्दै आएको छु’, उनले भने, ‘यस्तो गोभी नबिक्ने समस्या कहिल्यै भएको थिएन ।’

तरकारी विक्रीको व्यवस्था मिलाउनका लागि व्यवसायी, कृषि ज्ञान केन्द्र, घोराही उपमहानगरपालिका कृषि शाखा, नगर प्रमुख, वडाध्यक्षलाई भने पनि सबैले ‘हुन्छ पहल गरिदिन्छौँ’ भन्ने गरे पनि विक्रीका लागि व्यवस्था नगरिदिएको गुनासो व्यक्त गरेका छन् । बजारमा भने गोभी ३० देखि ४० रूपैयाँ केजीसम्म प्रतिकिलो किनेर खानुपर्ने बाध्यता रहेको उपभोक्ताहरू बताउँछन् । दैनिक उपभोग्य वस्तुहरू दिन प्रतिदिन बढिरहँदा जिल्लामा बाहिरबाट तरकारी धेरै आउने गर्दा जिल्लाभित्रै उत्पादन गर्ने व्यवसायीहरूले भने समस्यामा पर्ने गरेका छन् ।

Blog Post Ad Blog Post Ad