Ad Area

‘पानी पाउनै मुस्कील ’


तुलसीपुर, ९ चैत । तुलसीपुरका खिमबहादुर खत्रीको कुवाँ चैत लाग्नै लाग्दा सुक्छ । असार साउनमा कुवाँमा पानी भरिभराउ हुन्छ । तुलसीपुर–१० का कर्णबहादुर वलीले पातुखोलाको पानीले केही वर्ष पहिले चैत अन्तिम सातासम्म गहूँमा सिंचाइ गर्ने गरेका थिए तर यस वर्ष मुहान नजिकैका प्रकाश खड्काले गहूँमा चार्ने पानी नपाउँदा गहूँ बाली सुकेर पाक्न लागेको बताए ।

जलवायु परिर्वतन तथा जथाभावी विकासका नाममा उत्खनन्का कारण पानीका मुहानहरू सुकेका कारण सिंचाइसँगै खानेपानीका मुहानहरू सुक्दै गएका छन् । यसको समस्यामा नागरिक परेका छन् । वातावरण संरक्षण तथा पानीको स्रोत वरपर भएको विनाशका कारण पानीका मुहानहरू सुक्दै गएको स्थानीय बताउँछन् ।

‘कुनै बेला पातुखोलामा सिंचाइको लागि पानी प्रशस्त हुने गरेको थियो, अहिले खोलामा कमिला हिड्ने गरेका छन्’, तुलसीपुर–३ स्थानीय वयोवृद्ध केशव वलीले भने । जल मानव जातिलाई बाँच्नका निम्ति अतिआवश्यक स्रोतको रूपमा लिइन्छ । जलको अभावमा कुनै पनि प्राणी वा वनस्पति बाँच्न असम्भव छ । त्यसैले पानी नै जीवन हो भन्ने गरिन्छ । जीव र वनस्पतिका लागि जन्मन मात्र होइन बाँच्नका लागि पनि स्वच्छ पानीको आवश्यक पर्छ । पिउने पानी स्वच्छ र सुरक्षित भएमा ८० प्रतिशत रोग नै नलाग्ने दाबी गरिन्छ । संविधानको मौलिक हकमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन सकेको छैन ।

खानेपानीमा धारा माग गर्दा पानीको अभावले खानेपानीका धाराहरू जडान गर्न नसकेको हजारौँ उपभोक्ता छन् । ‘खनेका कुवाँ सुकेका छन्, धारा माग गर्दा पानीको अभावले दिन सकिँदैन भन्ने कुरा आउँछ, सविधानको मौलिक हक पनि कार्यान्वयन हुन सक्दैन’, स्थानीय लोकमाया केसीले भनिन् । सरकाको ‘एक घर एक धारा’ अभियान पनि कागजमै सीमित भएको नागरिक बताउँछन् । चुरे पहाड रित्तिँदै गर्दा त्यसमा वृक्षरोपण गर्ने योजना कसैको पनि छैन ।

नेपालमा पनि यो वर्ष ‘भूमिगत जलस्रोतको महत्व बुझौँ, सबै मिली संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रमको आयोजना भने दिवसको अवसरमा गरिन्छ । तर दिवस औपचारिक रूपमै मनाएर सकिने र खानेपानीको मुहान जोगाउने तथा पानीको स्रोत बढाउनेतर्फ जिम्मेवार निकाय लाग्न नसक्दा वर्षेनी खानेपानीको समस्या हुँदै आएको जानकारहरू बताउँछन् ।

होटलहरूमा दिवस मनाएर पानीका स्रोतहरू बढ्न नसक्ने विज्ञहरू बताउँछन् । चैते खडेरीमा पानी दिवस मनाउने मात्र हुने गरेको छ । नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिन्छ तर यहाँका धेरै सहर, बजार र गाउँमा खानेपानीको विकराल समस्या छ । चैत–बैशाख लाग्यो भने पानीको हाहाकार मच्चिने गरेको छ । मार्च २२ अर्थात् विश्व जल दिवस विश्वभर मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो दी जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व जल दिवसको घोषणा गरेको हो । सन् १९९२ मा विश्व जल दिवसलाई ‘एजेण्डा २१’ मा समाहित गरिएको थियो । सोहीअनुसार सन् १९९३ मा विश्वमा पहिलो पटक विश्व जल दिवस मनाइएको थियो ।