Ad Area

घाँस खेती आम्दानीको स्रोत


दाङ, ९ चैत । दाङका किसानले व्यावसायिक रुपमै बरसिम घाँसखेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । जिल्लाको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका, राप्ती गाउँपालिकालगायतका स्थानका कृषकहरुले व्यावसायिक रुपमा बरसिम घाँस खेतीबाट पशुपालनसँगै बीउ बिक्रीबाट राम्रो आम्दानी गर्न सफल हुँदै गएका छन् ।

अन्य पालिकाहरुभन्दा घोराही उपमहानगरपालिका वडा नम्बर ६ का कृषकहरु बरसिम घाँसबाट बढी लाभ लिँदै आएका छन् । जसले गर्दा घाँसखेतीतिर उनीहरु आकर्षित भएका छन् । घाँसबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका अधिकांश गाउँमा बरसिम घाँस खेती गरिएको छ । पहिले पहिले हिउँदयाममा बाँझै रहने खेतहरु अहिले लोभलाग्दो गरी हराभरा भएका छन् । जाडोको मौसममा पशुको दुग्ध उत्पादनका लागि अत्यन्तै लाभकारी मात्रै होईन निकै पौष्टिक तत्वयुक्त बरसिम घाँस रौपन थालेपछि जमीनको उर्वराशक्ति पनि बढ्दै गएको कृषकको अनुभव छ ।

कुनै समय गाईबस्तुका लागि घाँसको जोहो गर्न बिहान भर र दिन भरको सास्ती झेलेका कृषकलाई बरसिम घाँस लगाउन थालेपछि पशुपालनमा निकै सजिलो भएको छ । धान बाली स्याहार गरी सकेपछि प्राय बाँझै रहने खेत अहिले वर्षायाममा जस्तै हराभरा छन् । जसले गर्दा वातावरण पनि निकै मनमोहक देखिने गरेको छ ।

कुनै समय पशुबस्तुका लागि घाँसको जोहो गर्न निकै सास्ती व्यहोरेका घोराही उपमहानगरपालिका वडा नम्बर ६, ६, १७ का अधिकांश कृषकका लागि बरसिम घाँस लगाउन थालेपछि हाई सञ्चो मान्ने गरेका छन् । हिँउदमा तोरी, मसुरो र गहुँको साटो बरसिम घाँस लगाएर घाँस बिक्रि सँगै पशुपालनबाट मनग्गे आम्दानी लिन सफल भएको बताउछन्, घोराही ६ गुरुवागाउँका खुसलराम डाँगी ।

विगत आठ वर्षदेखि घर छेवैँमा रहेको खेतमा बरिसम घाँस लगाएर भैसी र बाख्रा पालनबाट राम्रो आम्दानी लिन सफल खुसलरामले शुरुमा १२ सयको लगानीमा बरसिम घाँस छरेका थिए । तर, अहिले उहाँले त्यही घाँसबाट अन्य बालीभन्दा कैयौँ गुणा बढी आम्दानी गर्न सफल भएका छन् । घोराही ६ गुरुवागाउँका अर्का ६० वर्षीय भीमबहादुर डाँगीले विगत १५ वर्षदेखि यही घाँसको भरमा आफ्नो कृषि पेशालाई निरन्तरता दिँदै आएका छन् । धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर सो घाँसको बीउ छर्ने गरिन्छ ।

कात्तिकको अन्तिमतिर बरसिमको बीउ छरेपछि एक याममा चारदेखि पाँच पटकसम्म काट्न सकिन्छ । घाँस लगाउँदा त्यसले धान उत्पादनमा समेत वृद्धि हुने उनको अनुभव छ । ‘यो घाँस लगाएपछि त बस्तुुभाउ पाल्न पनि सजिलो, दुध पनि धेरै दिन्छन् । खेतको उर्वराशक्ति पनि बढेको छ,’ भीमबहादुुरले भने, ‘बरसिम घाँसले त फाईदै फाईदा पुगेको छ ।’ घोराही ६ को गुरुवागाउँ बरसिम घाँस उत्पादनको गुणस्तर दृष्टिकोणले देशमै उत्कृष्ट ठहरिएको छ ।

Blog Post Ad

बीउ छरेपछि गोडमेल र स्याहार्न झन्झट नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो । गाई, भैँसी, भेंडा र बाख्रा सबैलाई सो घाँसले फाइदा पु¥याउँछ । गहुँ र मसुरोभन्दा धेरै आम्दानी हुने भएकाले बरसिम घाँसमा आफुहरु आकर्षित भएको १५ वर्षअघिदेखि घाँस प्रयोग गर्दै आएका लक्ष्मण चौधरी बताउछन् । कुनै बेला घुरो काटेर दिन बिताएका उनि लागि अहिले बरसिम घाँस निर्बिकल्प बनेको छ ।

किसानले प्रायः आम्दानी गर्नका लागि नगदेबालीको खेती गर्ने चलन भए पनि दाङका किसानले वागवानीअन्तर्गतका तरकारी, फलपूmल र फूलको साटो घाँस बिक्री गरेर मनग्य आम्दानी गर्न थालेका हुन् । बरसिम खाएका पशुले दूधको मात्रा बढाउनुका साथै अत्यन्तै लाभकारी मानिएको कृषकको अनुभव छ ।

दाङ बरसिम घाँसको बीउ उत्पादनका लागि उपयुक्त हावापानी भएको जिल्लाका रुपमा परिचित हुँदै गएकोे छ । दाङमा उत्पादन भएको घाँसको बीउको उमार शक्ति र गुणस्तर अरु जिल्लाको भन्दा निकै राम्रो भएकाले रुपन्देही, कास्की, पाल्पा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, मोरङ, सर्लाही, चितवन, नवलपरासी, सुर्खेत, प्युठान, काठमाडौँ, ललितपुर, भक्तपुरमा बिक्री हुने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले बताए ।

किसानले हरियो घाँस काटेर गाईबस्तु पाल्न र त्यसबाट आम्दानी लिन सपल भएका छन् भने अन्तिममा त्यही घाँसको बीउ बेचेर राम्रो आम्दानी पनि गर्दै आएका छन् । घाँस खेतीबाट गत वर्ष ७० लाख आम्दानी भएको सचिव अधिकारीले बताए । यस वर्ष पनि बरसिम घाँसको बीउ करिब ७५ लाखको बिक्री हुने उनको अनुमान छ ।

मौसमले साथ दिएकाले यस वर्ष घाँस खेती राम्रो हुने कृषकले अपेक्षा गरेका छन् । दाङ घाँसको बीउ पकेटको क्षेत्रका रुपमा विकसित हुँदै गएकाले यहाँ पशुपालनको पनि उत्तिकै सम्भावना बढ्दै गएको हो । दाङ बरसिम घाँसको बीउ उत्पादनका लागि उपयुक्त हावापानी भएको जिल्लाका रुपमा चिनिन्छ ।

दाङमा उत्पादन भएको घाँसको बीउको उमार शक्ति र गुणस्तर अरु जिल्लाको भन्दा निकै राम्रो छ । घोराही –६ का श्रीधर अधिकारीले आफ्नो दुई बिघा खेतमा हिउँदका समयमा तोरी, मसुरो र गहुँको साटो वरसिम घाँस लगाउने गरेको बताए । बरसिमको सुकेको डाँठलाई पनि खुवाउन पाइने र फल लाग्यो भने बिक्री गर्न पाइने यो अत्यन्तै उपयोगी घाँस भएको किसानहरु बताउँछन् । उनका अनुसार एक बिघा खेतबाट एक याममा एक लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।

हिउँदमा वरसिम घाँस एक पटक लगाएपछि एक याममा चारदेखि ६ पटकसम्म घाँस काट्न सकिन्छ । घाँस लगाउँदा त्यसले धान उत्पादनमा समेत वृद्धि हुने धेरै कृषकको अनुभव छ । बरसिम घाँसको बीउ सबैले नजोतेरै छर्ने गरेका छन् । घोराही– ६ का गुरुवागाउँ, गुरगँै, वेरुवागाउँ, जजरागाउँ, वेरगै, फचकपुर र अघरा गाउँका किसानले वरसीम घाँसखेती गरेका छन् । अहिले उक्त क्षेत्रमा रहेका १५० घरपरिवारले घाँस खेती गर्ने गरेको शिवशक्ति घाँसको बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिए । लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो ।

घाँसका लागि भौतारिनु नपर्ने खेतबारीबाट सजिलै पाउन सकिने भएपछि हरेक वर्ष यसका किसानको सङ्ख्या बढ्दै गएको शिवशक्ति उत्पादक सङ्घले जनाएको छ । व्यावसायिक रुपमा वरसीम घाँसखेती गर्ने दाङ पहिलो जिल्ला पनि हो । कृषकले एक किलो घाँसको बीउ दुई सयमा बिक्री गरेका छन् । बीउ उत्पादक सङ्घले सरकारले निर्धारण गरेको मूल्यअनुसार नै बिक्री गर्ने गरेको छ ।

उसो त, घोराही ६ मा २०५६ सालदेखि व्यावसायिक रुपमा घाँस खेती शुरु गरिएको हो । अहिले दाङ बरसिम घाँसको बीउ ‘पकेट क्षेत्रको’ रुपमा विकसित हुँदै गएको छ । अन्य जिल्लामा हावापानी नमिल्दा यसको बीउ उत्पादन कमै मात्रामा हुने तथा उमार शक्ति कम हुने गरेको पाईएको छ । यस्तै, जिल्लामा नेपियर, मकैचरी, जैलगायत जातका घाँस खेती भए पनि हावापानी र उमारका दृष्टिले बरसिम घाँसलाई सबैभन्दा उत्तम श्रेणीमा राखिएको छ ।

बीउ उत्पादनका लागि घाँसको खेती हुन थालेपछि उन्नत जातका पशुपालन गर्नेको सङ्ख्या बढ्दै गएको पशुसेवा विज्ञ केन्द्र, घोराहीले जनाएको छ । घाँस खेती फस्टाउँदै गएपछि स्थानीय सरकारहरुले पनि कृषकहरुलाई अनुदान लगायत प्रोत्साहनका कार्यक्रम गर्दै आएका छन् ।

Blog Post Ad Blog Post Ad