Ad Area

निर्माणाधीन सडकमा पहिराे खस्दा दाङ-सल्यान सडक अवरुद्ध


दाङ, ९ चैत । सडक निर्माणको क्रममा झरेको पहिरोले स्काभेटर पुरिँदा राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्ड अवरुद्ध भएको छ ।

मंगलबार बेलुकी करिव साढे सात बजेतिर सल्यानको कपुरकोट ३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्दै गर्दा माथिबाट सुख्खा पहिरो झरेर बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको थियो । अहिले उक्त सडक खण्ड पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् । पहिरो सँगै झरेको ठूला ठूला ढुंगाले स्काभेटरलाई च्यापेको छ । निकै जोखिमयुक्त स्थान भएकाले स्काभेटर निकाल्न र पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

पहिरो झरेको स्थानमा अर्को एउटा स्काभेटर भए पनि त्यसबाट सडकको अवरोध हटाउन नसकिने भएकाले दाङ तर्फबाट अर्को स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको बताइएको छ ।

सम्भवत: आज दिउँसो सम्ममा सडक सञ्चालनमा आउन सक्ने प्रहरीको भनाई छ ।  बाटाे अवरुद्ध हुँदा सवारी आवागमन राेकिएकाे छ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad