Ad Area

विकासमा अग्रसर बस्ती ‘बसेरी खोला’


घोराही, १० चैत । ‘खोलाको छेंउमा बालुवा खोस्रेर खानेपानी पिउनु पर्दथ्यो, तर अहिले घर–घरमै खानेपानी पुगेको छ । हिउँदमा त ठिकै हुन्थ्यो तर बर्षातको समयमा बाढीका कारणले गर्दा सङ्लो पानी खान पाइदैनथ्यो । खोलाको धमिलो पानी पिउने गरिन्थ्यो ।’ घोराही ५ बसेरी खोलाका जहरसिंह खड्काले भने । वरिपरी पहाडले घेरेको वीचको खोलाको भागमा वस्ती छ । जंगलको बिच भागमा बस्ती भएकाले पनि जंगली जनावरको त्रास थियो । पानी लिन जाँदा जंगलवाट केही आउछ की भन्ने डर हुन्थ्यो, तर गतवर्ष संघिय सरकारले खानेपानी आयोजनाको लागि ७० लाखको वजेट व्यवस्थापन गरेपछि बसेरीखोला लगायत यहाँका अन्य बस्तीलाई खानेपानीको सुविधा भएको छ । पानीको जोहो गर्नका लागि दुःख हुन्थ्यो, । “दिउसो काम गर्नुपर्ने, साँझ पानी लिन खोला झर्दा डर हुने ।

बसेरी खोला टोलका अध्यक्ष तुलसीराम पुनले ५० हजार लिटरका दुई वटा खानेपानी ट्याङ्कीबाट पानी वितरण भइरहेको बताए । घोराही उपमहानगरपालिका वडा नंं ५ कै चिसापानी भन्ने ठाउँवाट पानी ल्याइएको छ । जुन बसेरीखोलावाट दुई किलोमिटरको दुरीमा पर्छ । खानेपानीका लागि थाकलचौर र बडाचौरमा ९ वटा सार्वजनिक धारा बनाइएको छ । तर प्रशस्त पानी हुँदा पाइपको माध्यमवाट घर÷घरमै लगिएको छ । ‘तल्लो भेगमा खोला, माथिल्लो भेगमा बस्ती थियो, पानीको जोहो गर्न केटाकेटी जान्थे जोखिम थियो ।’ उनले भने । अहिले भने खानेपानीको राम्रो सुविधा भएको छ,

बसेरी खोला पहिले जंगलै जंगल थियो । तर करिव छ दशक अगाडी गाईभैसी पाल्ने थलोका रुपमा यो गुल्जार बन्दै गयो । रोल्पा तथा दाङकै पहाडी भेग सैघा, स्युजा लगाएतका ठाउँवाट गाइभैसी ल्याएर आउने थलो भएको थियो बसेरी । पहिले गाइभैसी पाल्ने जमाना थियो, त्यो समयमा घासपातका लागि बसेरी राम्रो ठाउँ थियो । प्रशस्त घाँस पाइन्थ्यो । पछि त्यहाँ झरेकाहरुले त्यहीनै थलो बनाउन थाले । बसेरी झरेकाहरु पहाड फर्किएनन् । केटाकेटी उतै हुर्किए । तर समस्या र अभाव भने थियो । अभाव झैल्दै मानिसहरु धेरै बर्षसम्म बसेरीमा बसिरहे । केही बर्षयता मात्रै विकासका केही कुरा पुग्न थालेका छन् । केही बर्ष अघि पानी पुग्यो । स्वास्थ्यको त अहिले पनि अभावै छ । बसेरीसम्म पुग्नका लागि सडकको अवस्था राम्रो छैन । तर पानीको सुविधाले धेरै खालका दुःखलाई विर्साइदिएको छ ।

बसेरीसम्म पुग्नका लागि सडकको सुविधा थिएन् । खोलाका ढिकहरुमा लिस्नो बनाएर हिड्नुपर्दथ्यो, टोल अध्यक्ष पुन सम्झन्छन् । तर अहिले स्थानीयतहमा जनप्रतिनिधि आइसकेपछि बसेरी सम्म पुग्नलाई मोटरवाटोको ट्रयाक बनाइएको छ । घोराही उपमहानगरपालिकाले प्रत्येक बर्ष १५ लाख रुपैँया बजेट छुट्याएर सडक पु¥याएको हो । सडक पुगेपनि विजुली बत्ति अहिलेसम्म पनि पुगेको छैन् । बत्तिका रुपमा सोलार जोडेका छन् । एनसिएल र नमस्तेको नेटवर्क चल्दैन् । नेटवर्क चल्नका लागि टावर बनाइएका छैनन् । तर उनिहरुलाई आशा छ की एकदिन बसेरी खोलाले सबै सुबिधा पाउने छ । बसेरी झरेदेखि फर्किएर जान मन नलागेको बताउछन्, पुन । मान्छेलाई जहाँ बस्यो उतै राम्रो हामीलाई यही ठाउँ प्यारो छ, उनले भने ।
घोराही ५ का वडा अध्यक्ष विष्णुमणि दाहालले बसेरी खोला लगाएतका ठाउँ विकास उन्मुख रहेको बताए । पहिले बसेरी पुग्न पैदल हिड्नै पर्ने थियो तर अहिले सरर मोटरमा जान सकिन्छ । खानेपानीको अभाव थियो त्यो समस्या पनि संघिय सरकारसंग पहल गरेर समाधान गरिएको छ । अव विजुली बत्ति र नेटवर्कको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । यि कामहरु पनि वडा र नगरको बजेटले नभ्याउने हुँदा संघिय सरकार संग पहल गर्ने बताए ।

 

Blog Post Ad Blog Post Ad

Blog Post Ad