Ad Area

स्पिनर चम्किएपछि देउखुरी वारियर्स विजयी, पुरन्धारा ६ विकेटले पराजित


घोराही, १५ चैत्र । दाङको घोराहीमा जारी दाङ क्रिकेट लिग अन्तर्गत आज भएको सातौँ खेलमा देउखुरी वारियर्स ६ विकेटले विजयी भएको छ ।

दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरियास्थित क्रिकेट रंगशालामा जारी खेलमा पुरन्धारा च्यालेन्जर्सले दिएको १ सय ४ रनको मध्यम लक्ष्य देउखुरी १८ दशमलव १ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । देउखुरीलाई सहज जित दिलाउन प्रज्वल थापाले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ५२ रन बनाउँदा मार्की खेलाडी नारायण जोशीले २६ रन, विशाल विक्रम केसीले १० रनको योगदान दिनुभयो ।

पुरन्धारा च्यालेन्जर्सका कप्तान मोहन खत्रीले २ विकेट लिँदा मार्की खेलाडी अमर सिंह रौतेलाले १ तथा अक्लेश यादवले १ विकेट लिए पनि जितका लागि पर्याप्त हुन सकेन ।

दुवै टीमलाई आजको खेल निकै महत्वपूर्ण रहेकाले कडा प्रतिष्पर्धा हुने अपेक्षा गरिए पनि पुरन्धारा च्यालेन्जर्सका मध्यक्रमका ब्याट्सम्यान क्रिजमा टिक्न नसक्दा सस्तैमा समेटियो ।

ओपनरद्वय राजु रिजाल र विनोद मल्लले पहिलो पावर प्लेमा खेल आफ्नो पक्षमा पार्दै रन उकासेपनि त्यसपछिका खेलाडीको खेल धर्मराएपछि पुरन्धारा च्यालेन्जर्सका खेलाडी १६ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै १ सय ३ रनमै समेटियो । ओपनर राजु रिजाल व्यक्तिगत २२ रनमा खेलिरहेका बेला रन चोर्ने क्रममा रन आउट भएपछि पुरन्धाराको विकेट पतन निरन्तर चल्यो ।

त्यसपछि विनोद मल्ल १८, कप्तान मोहन खत्री २२ र अजय सहानीले १० रन जोड्नु बाहेक अरु खेलाडी लगातार पेभेलियन फर्किनु पर्यो ।
पुरन्धारा च्यालेन्जर्सको ईनिङ्ग्स धरासयी बनाउन देउखुरी वारियर्सका लेफ्ट आर्म स्पिनर आशिष वली एक्लैले ५ विकेट लिनुभयो ।

Blog Post Ad

उहाँले ४ ओभरमा १ मेडन राख्दै जम्मा ११ रन दिएर ५ विकेट लिएपछि पुरन्धारा च्यालेन्जर्सको फाईनल पुग्ने सपना अधूरो भयो । यस्तै, आयुष वलीले २ विकेट लिँदा प्रतिष जिसीले सत्रौँ ओभरमा लगातार २ विकेट लिएपछि खेल आफ्नो पक्षमा पारेको हो ।

जारी लिगमा एक खेलमा हार व्यहोरेको देउखुरी वारियर्स त्यसपछिका खेलमा लगातार जित निकाल्दै अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । यसअघि हिजो भएको खेलमा घोराही टाईगर्स पुरन्धारा च्यालेन्जर्सलाई हराउँदै फाईनल प्रवेश गरिसकेको छ ।यस्तै, आज दिउँसोको खेलमा तुलसीपुुर रोयल्स र घोराही टाईगर्स आमनेसामने हुँदैछन् । तुलसीपुर रोयल्स जारी लिगमा कमजोर टिम देखिएको छ भने घोराही टाईगर्स उपाधि दाबेदार टीम मानिएको छ । घोराही टाईगर्स ३ खेलमा अपराजित रहँदै फाईनलमा प्रवेश गरिसकेकाले तुलसीपुर रोयल्ससँगको खेलमा दवाव बिना नै जीतको यात्रा कायमै राख्ने लक्ष्यका साथ मैदानमा उत्रिने भएको छ । उता, तुलसीपुर रोयल्स भने जीतको खोजीमा मैदानमा उत्रिँदैछ ।

पाँच वटा फ्रेन्चाईज टीम खडा गरी जिल्लामै पहिलो पटक आयोजना गरिएको लिगमा देशभरबाट अक्सन मार्फत खेलाडी किनबेच गरी लिग आयोजना गरिएको लिग संयोजक प्रदीप मजगैयाले जानकारी दिए । लिगको फाईनल खेल १७ गते हुनेछ ।

Blog Post Ad Blog Post Ad