Ad Area

दाङ क्रिकेट लिगको समीकरण रोमाञ्चक, चार वटै क्लव जित्नै पर्ने दवावमा


घोराही, १५ चैत्र । लगातार २ खेलमा हार व्यहोर्दै दवावमा परेको तुलसीपुर रोयल्सले मंगलबारको आठौँ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फाईनल पुुग्ने सम्भावना जिवितै राखेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरिया क्रिकेट रंगशालामा भईरहेको लिग अन्तर्गतको खेलमा फाईनल प्रवेश गरिसकेको घोराही टाईगर्सलाई २ विकेटले पराजित गर्दै तुलसीपुर रोयल्सले फाईनल खेल्ने सपना जिवितै राखेको छ । तुलसीपुर रोयल्सले टस जितेर बलिङ गर्ने निधो गर्दै घोराहीलाई व्याटिङको निम्तो दिएको थियो । घोराही टाईगर्सले निर्धारित २० ओभरमा आफ्नो ६ विकेट गुमाउँदै १ सय ३६ रन बनाउन सकेको थियो । जसका लागि रविन्द्र जंग शाहीले ४१, विराट भण्डारीले २९, सिद्धान्त शाहीले २९, रासिद खानले १३ रन बनाउनुबाहेक अरु खेलाडी सस्तैमा समेटिए । घोराही टाईगर्सलाई मध्यम स्कोरमा समेट्न तुलसीपुर रोयल्सका बसिर अहमदले ३, दीपक बोहराले २ तथा सुदीप नेपालीले १ विकेट लिनुुभयो ।
१ सय ३७ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको तुलसीपुर रोयल्सले उत्कृष्ट पारी खेल्दै जीत हासिल गरेको हो । तुलसीपुरलाई जीत दिलाउन सबै खेलाडीको प्रदर्शन राम्रो रह्यो । जसमा बसिर अहमदले ३३, कमल वलीले २७, राहुल यादवले १९, दीपक बोहराले १२, समिर शर्माले १०, विपिन रावल र दिपेन्द्र रावतले समान ८–८ रन बनाउनुुभयो । अन्तिम ओभरसम्म गएको खेलमा तुलसीपुर रोयल्सले लगातार रन बनाउँदै जीत आफ्नो पक्षमा पार्न सफल भएको हो । बलिङ तर्फ घोराही टाईगर्सका रविन्द्रजंग शाहीले ३, अनुप न्यौपानेले २ तथा रासिद खान र सिद्धान्त शाहीले समान १–१ विकेट लिनुुभयो ।
जीतसँगै अब बुधबार बिहान पुरन्धारा च्यालेन्जर्ससँगको खेलमा भर पर्नुपर्ने हुन्छ । पुरन्धारा च्यालेन्जर्सको पनि २ मा हार एक खेलमा जीत रहेकाले भोलिको खेल जित्नै पर्ने दवाव रहेको छ ।
यसअघि आज भएको सातौँ खेलमा देउखुरी वारियर्स ६ विकेटले विजयी भएको छ । जारी खेलमा पुरन्धारा च्यालेन्जर्सले दिएको १ सय ४ रनको मध्यम लक्ष्य देउखुरी १८ दशमलव १ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्याे । देउखुरीलाई सहज जित दिलाउन प्रज्वल थापाले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ५२ रन बनाउँदा मार्की खेलाडी नारायण जोशीले २६ रन, विशाल विक्रम केसीले १० रनको योगदान दिनुभयो ।
पुरन्धारा च्यालेन्जर्सका कप्तान मोहन खत्रीले २ विकेट लिँदा मार्की खेलाडी अमर सिंह रौतेलाले १ तथा अक्लेश यादवले १ विकेट लिए पनि जितका लागि पर्याप्त हुन सकेन ।
दुवै टीमलाई आजको खेल निकै महत्वपूर्ण रहेकाले कडा प्रतिष्पर्धा हुने अपेक्षा गरिए पनि पुरन्धारा च्यालेन्जर्सका मध्यक्रमका ब्याट्सम्यान क्रिजमा टिक्न नसक्दा सस्तैमा समेटियो ।
ओपनरद्वय राजु रिजाल र विनोद मल्लले पहिलो पावर प्लेमा खेल आफ्नो पक्षमा पार्दै रन उकासेपनि त्यसपछिका खेलाडीको खेल धर्मराएपछि पुरन्धारा च्यालेन्जर्सका खेलाडी १६ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै १ सय ३ रनमै समेटियो । ओपनर राजु रिजाल व्यक्तिगत २२ रनमा खेलिरहेका बेला रन चोर्ने क्रममा रन आउट भएपछि पुरन्धाराको विकेट पतन निरन्तर चल्यो ।
त्यसपछि विनोद मल्ल १८, कप्तान मोहन खत्री २२ र अजय सहानीले १० रन जोड्नु बाहेक अरु खेलाडी लगातार पेभेलियन फर्किनु पर्याे ।
पुरन्धारा च्यालेन्जर्सको ईनिङ्ग्स धरासयी बनाउन देउखुरी वारियर्सका लेफ्ट आर्म स्पिनर आशिष वली एक्लैले ५ विकेट लिनुभयो । उहाँले ४ ओभरमा १ मेडन राख्दै जम्मा ११ रन दिएर ५ विकेट लिएपछि पुरन्धारा च्यालेन्जर्सको फाईनल पुग्ने सपना अधूरो भयो । यस्तै, आयुष वलीले २ विकेट लिँदा प्रतिष जिसीले सत्रौँ ओभरमा लगातार २ विकेट लिएपछि खेल आफ्नो पक्षमा पारेको हो ।
जारी लिगमा एक खेलमा हार व्यहोरेको देउखुरी वारियर्स त्यसपछिका खेलमा लगातार जित निकाल्दै अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । देउखुरीलाई फाईनल पुग्न अर्काे खेल पनि जित्नु पर्नेहुन्छ । यसअघि हिजो भएको खेलमा घोराही टाईगर्स पुरन्धारा च्यालेन्जर्सलाई हराउँदै फाईनल प्रवेश गरिसकेको छ ।
जारी लिगमा घोराही बाहेक अरु चारवटै क्लबले शुरुवाती हारपछि जीत हासिल गर्दै गएकाले लिग समीकरण रोमाञ्चक बनेको हो ।भोलि हुने खेलमा चारवटै क्लबले स्पष्ट जीत निकाल्दै उत्कृष्ट दुुईमा पर्ने दाउका साथ मैदानमा उत्रनेछन् । भोलि बिहान पुरन्धारा च्यालेन्जर्स र तुलसीपुर रोयल्सबीच खेल हुनेछ भने दिउँसोका खेलमा देउखुरी वारियर्स र दंगाली लायन्स आमनेसामने हुँदैछन् । यी टीम बीचको खेलमा अंक तालिकाको दोश्रो नम्बरमा पर्न जीतसहित नेट रनरेटमा पनि सुधार गर्नुपर्ने हुन्छ ।
लिगमा घोराही टाईगर्स ४ खेलमा ३ मा जीत एकमा हारसहित ६अंकका साथ पहिलो स्थानमा छ । देउखुरी वारियर्स ३ खेलमा २ मा जीत र १ मा हारसहित ४ अंकका साथ दोश्रो स्थानमा छ भने पुरन्धारा च्यालेन्जर्स र दंगाली लायन्स ३ खेलमा २ मा हार र १ जीतसहित २ अंकका साथ क्रमश तेश्रो र चौथो स्थानमा छन् भने ३ खेलमा २ मा हार तथा १ खेलमा जीतसहित अंकका तालिकाको पुछारमा छ ।

पाँच वटा फ्रेन्चाईज टीम खडा गरी जिल्लामै पहिलो पटक आयोजना गरिएको लिगमा देशभरबाट अक्सन मार्फत खेलाडी किनबेच गरी लिग आयोजना गरिएको लिग संयोजक प्रदीप मजगैयाले जानकारी दिए । लिगको फाईनल खेल १७ गते हुनेछ ।

Blog Post Ad Blog Post Ad