Ad Area

कहाँ हरायो घोराहीमा नगर बस चलाउने योजना ?


दाङ, १८ चैत । घोराही उपमहानगरपालिकामा नगर बस सञ्चालन गर्ने भनिएको लामोे समय बितिसके पनि सञ्चालनमा आउन सकेको छैन । नगरमा नगर बस सञ्चालन गर्नका लागि उपमहानगरपालिकामा तयारी गरिएको थियो । जनप्रतिनिधिहरु आएपछि आर्थिक वर्ष २०७५÷०७६ को नीति कार्यक्रममार्फत घोराहीमा नगर बस सञ्चालनमा ल्याउने नीति कार्यक्रम पारित गरिएको थियो ।

नीति ल्याए पनि त्यसको कार्यान्वयन भने हालसम्म भएको छैन । नीति कार्यक्रममा शहरी यातायातअन्र्तगत यातायात व्यवसायीसँग सहकार्य गरी रुट निर्धारण गरी नगर क्षेत्रमा सिटीबस सञ्चालन गरिनुका साथै पार्किङ व्यवस्थापनलाई व्यवस्थित गरिने उल्लेख गरिएको थियो । नीति कार्यक्रममा ल्याए पनि यसको कार्यान्वयन गर्न नसक्दा जनप्रतिनिधिहरुप्रति नागरिकहरुले गुनासो गर्न थालेका छन् । नगर बस सञ्चालन नहुँदा नगरवासीहरुले अटोमा धेरै रकम तिरेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

नगरपालिकामा नगर बस सञ्चालन गर्नका लागि जनप्रतिनिधिहरु आएपछि कुनै पनि निर्णय नभएको घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भीमबहादुर चौधरीले बताए । ‘अहिलेसम्म नगर बस सञ्चालन गर्नका लागि कुनै पनि निर्णय भएको छैन’, चौधरीले भने– ‘नीतिमा भए पनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन ।’ नगर कार्यपालिकाले निर्णय गरेमा मात्र काम अगाडि बढ्ने उनको भनाइ रहेको छ ।

स्थानीय तहमा जनप्रतिनिधिहरु नआउँदै नगर क्षेत्रमा नगरबस सञ्चालन गर्ने भनेर निर्णय समेत गरिएको थियो । त्यसका लागि तयारीसमेत थालिएको थियो तर जनप्रतिनिधिहरु आए पनि सो प्रक्रिया अगाडि बढ्न सकेकोे छैन् । नगरका ग्रामीण क्षेत्रमा बस सञ्चालन भएपछि नगरवासीहरुलाई सहज हुने गरी नगर बस सञ्चालन गर्ने तयारी गरिएको थियो । पहिलो चरणमा नगरपालिकाभित्र सहजरुपमा यातायात पुग्ने स्थानमा बस सञ्चालन गरिने गरी योजना बनाइएको थियो ।

नगरपालिकामा बस सञ्चालन गर्नका लागि नगर क्षेत्रमा अध्ययनसमेत गरिएको थियो । नगर बस सञ्चालन गर्नका लागि यातायात व्यवसायीहरु नगरपालिका मिलेर अध्ययनसमेत भएको थियो । नगरभित्र कति बस सञ्चालन गर्ने, रकम कति निर्धारण गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल गरेर निर्धारण गरिने त्यस समयमा निर्णय गरिएको थियो । नगरपालिकाको संयोजनमा यातायात व्यवसायीहरुले नगर बस सञ्चालन गर्ने सहमति भएको थियो । यातायात व्यवसायी समितिहरुले समेत सहमति जनाएका थिए ।

नगरपालिकाले नगरबस सञ्चालन गर्नका लागि नगर बस सञ्चालनका लागि रुटसमेत तय गरेको थियो । सबै नगर बसहरु बसपार्कबाट सञ्चालन गर्ने सहमति भएको थियो । नगरपालिका र यातायात व्यवसायीहरु मिलेर तयार पारेको नगर बस सञ्चालन हुने क्षेत्रहरुमा मसिना नागेश्वर मन्दिरबाट घोराही गैरागाउँ हँुदै कर्जाही धारापानी, बसपार्कबाट ट्राफिक हुँदै मसिना नागेश्वर मन्दिरबाट गिठेपानी स्कुल फुर्सेखाली हुँदै बसपार्कको रुट तयार पारेका थिए । बसपार्कबाट नवलपुर सिस्नेखोलासम्म, बसपार्कबाट तुरुन्तपुर हुँदै बाह्रकुने दह–बगाले–रानीजरुवा बसपार्क आउने निर्धारण गरिएको थियो ।

Blog Post Ad

बसपार्क बाह्रकुने दह हुँदै वनगाउँ–बाहुनडाँडा–लेटार–गरुवागाउँ–सर्रा हाइवेबाट पुन घोराही बसपार्क, घोराही–हापुर जाने बाटोबाट कमलघारी–चखेरी हुँदै पुनः घोराही, घोराही बसपार्कबाट बडहरा–मंगलेरी–रमना हुँदै पुनः बसपार्क, बसपार्कबाट तेरौटे–लेटार–बाहुनडाँडा अर्घु हुँदै पुनः बसपार्क, बसपार्कबाट हाइवे हुँदै विपीमार्ग–रामपुरसम्म नगर बस सञ्चालन हुने भनेर योजना बनाइएको थियो ।

त्यसैगरेर बसपार्कबाट प्युठानरोड–डवरी–चौघेरा–ओखरा–ढिकपुरसम्म पुग्ने र फर्कने, घोराहीबाट गैरागाउँ–कर्जाही–क्वाडी–पचुर्खा–धर्ना धारापानी, घोराही–तुलसीपुर चोकबाट सर्रा–सौडीयार–धर्नासम्म पुग्ने रुट थियो । बसपार्क तुलसीपुर चोकबाट प्रहरी बोर्डिङ हुँदै खिरटिया धर्ना पुगेर घोराही फर्कने, घोराही तुलसीपुर चोकबाट कपासी हँुदै सौडीयार, राजपुरसम्म र घोराही फर्कने, बसपार्कबाट हाइवे हँुदै बेलभार सिस्नेखोला पुग्ने र फर्कने, बसपार्कबाट रतनपुर–सर्रा–गुर्जेखोलासम्म नगर बस सञ्चालन गर्ने गरी पहिलो चरणमा रुट निर्धारण गरिएको थियो । रुट निर्धारण गरे पनि त्योभन्दा बढी कुनै प्रगति भएको छैन । ‘नीतिगत निर्णय भयो तर कार्यान्वयन भने भएको छैन’, एक कर्मचारीले भने ।

Blog Post Ad Blog Post Ad