Ad Area

खैरो हिरोईनसहित तीन जना तुलसीपुरबाट पक्राउ !


दाङ, १८ चैत्र । ईलाका प्रहरी कार्यालय तुलसीपुरले ३७० मिलिग्राम लागूऔषध खैरो हिरोईनसहित तीन जनालाई पक्राउ गरेको छ । बिहीबार बेलुका ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित रुकुमेली ठाडाढुंगा नामक होटलबाट ३७० मिलिग्राम लागूऔषध खैरो हिरोईनसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पक्राउ पर्नेमा बबई गाउँपालिका २ निवासी २५ वर्षीय अनिष डाँगी, तुलसीपुर उपमहानगरपालिका ५ निवासी १९ वर्षीय किरण बुढाथोकी र सोही वडा निवासी १८ वर्षीय सन्तोष बस्नेत रहेका छन् ।

तुलसीपुर ५ बसपार्कमा रहेको उक्त होटलमा कोठा भाडामा लिई बसीरहेकाले लागूऔषध खैरो हिरोईन विक्रि वितरण गरि रहेका छन् भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटि गएको प्रहरी टोलीले होटलबाट ३७० मिलिग्राम खैरो हिराईनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नगद चार हजार, तीन थान मोबाईल सेट पनि बरामद गरेको छ । साथै उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । जिल्लामा केही समययता लाग्रू औषधका कारोबारी प्रहरीको फन्दामा धमाधम परिरहेका छन् ।