प्रेस काउन्सिलद्वारा पत्रकार महासंघ दाङलाई आचारसंहिता बोर्ड प्रदान

घोराही, २१ चैत । प्रेस काउन्सिल नेपालले नेपाल पत्रकार महासंघ दाङ शाखालाई पत्रकार आचारसंहिता बोर्ड प्रदान गरेको छ । काउन्सिलले सोमवार पत्रकार महसंघ दाङ शाखालाई पत्रकार आचारसंहिता बोर्ड र काउन्सीलले प्रकाशन गरेको पुस्तकहरू प्रदान गरेको हो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलको उपस्थितिमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदी र सचिव आर.के.शीतललाई पत्रकार र सञ्चारमाध्यमले देहायअनुसार कार्य गर्नुहुदैन लेखिएको बोर्ड र पत्रकार आचारसंहिता, संहिता र शैली पुस्तकहरू प्रदान गरेका हुन ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पछिल्लो समय नागरिक समाजबाट पत्रकारितामाथि विभिन्न प्रश्नहरू उठिरहेकाले आचारसंहिता पालना गरेर पत्रकारिता गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । उनले निर्वाचन नजिकिरहेकाले निर्वाचनको समयमा आचारसंहिता पालना गर्न विशेष सजग रहनुपर्ने पनि बताए ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस काउन्सिलले पत्रकारहरूलाई आचारसंहिता बारे सचेत बनाउने भएकाले हरेक पत्रकार महासंघ, जिल्लाका सञ्चारमाध्यम र पत्रकारहरूका हातहातमा पुर्याउने बताए । जुन अभियान अन्तरगत काठमाडौँ उपत्यका बाहिर पहिलो पटक पत्रकार महासंघ दाङ शाखालाई बोर्ड प्रदान गरिएको अध्यक्ष बस्नेतले बताएका थिए ।