घोराही बन्यो देशकै पहिलो बालमैत्री उपमहानगर

घोराही, २३ चैत्र । घोराही उपमहानगरपालिका देशकै पहिलो बालमैत्री पालिका घोषणा गरिएको छ । बुधबार एक भव्य समारोहका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बालमैत्री स्थानीय शासनका सबै सूचक पूरा गरेकाले संघीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगरका रुपमा घोषणा गरेका हुन् ।
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, कार्यान्वयन कार्यविधि २०६७ तथा बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ का सबै सूचक, मापदण्ड, प्रकृया पूरा गरेकाले मंगलबारबाट घोराहीलाई बालमैत्री पालिका घोषणा गरिएको प्रष्ट पारे ।
बालमैत्री पालिका घोषणा गर्दै मुख्यमन्त्री केसीले भने, ‘दाङको घोराही उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, कार्यान्वयन कार्यविधि २०६७ तथा बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेका सबै प्रकृया, सूचक र मापदण्ड पूरा गरेकाले आज यस भव्य समारोहबीच घोराही उपमहानगरपालिकालाई संघीय शासन व्यवस्थापछिको देशकै पहिलो बालमैत्री उपमहानगरपालिका घोषणा गरिएको छ ।’
सो अवसरमा मुख्यमन्त्री केसीले संघीय संरचनापछि निर्माण भएको स्थनीय सरकारमा प्रदेशमै गर्व गर्न लायक उपलब्धी हासिल गरेको बताए । संघीय संरचनापछि देशकै पहिलो बालमैत्री पालिका घोषणा गर्दै मुख्यमन्त्री केसीले प्रदेशले गौरव गर्न लायक संस्थागत रुपमा जनप्रतिनिबाट काम भएको भन्दै प्रसंशा व्यक्त गरे ।
घोराही उपमहानगरपालिकाले प्रदेशमै सकारात्मक चर्चा पाउने गरी निकै उपलब्धीमूलक काम गरेको उनको भनाई थियो । पालिकालाई देशकै पहिलो बालमैत्री उपमहानगर बनाएर ऐतिहासिकता हासिल गर्न सकेकोमा बधाई दिए ।
‘जसले आफ्नो कार्यकालको पहिलो कार्यकालमै भूगोलका हिसावले देशकै ठूलो पालिकामा देशकै पहिलो बालमैत्री उपमहानगर घोषणा गर्न मेहनत गर्यो, यो काममा खटिनु हुने सबैमा मेरो तर्फबाट बधाई तथा धन्यवाद छ,’ उनले भने, ‘यो कामले ऐतिहासिकता कायम गरेको छ, यो कार्यका लागि नगरप्रमुख नरुलाल चौधरीलगायत शाखा, महाशाखा, वडा कार्यालय, टोल विकास संस्था, अभियन्तालगायत सबैलाई हार्दिक आभार अनि धन्यवाद छ ।’
यस्तै, उहाँले घोराही उपमहानगरपालिका स्थानीय सरकारले गरेका काममा प्रदेशमै राम्रो काम गर्नेमा चर्चा कमाएको भन्दै जल संरक्षण सफलताको आधार भएको बेला देशकै ठूला भूलोग भएको उमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गरेर आफुलाई अब्बल सावित गरेको बताए ।
घोषणा कार्यक्रमले सूचकांकमा अब्बल हासिल गर्दै प्रदेश सरकारबाट स्वीकृति प्राप्त गरी बालमैत्री पालिका घोषणाले अरु पालिकालाई पनि यो अभियानमा लाग्न प्रेरित गरेको बताए । उनले संघीयता कार्यान्वयनको संस्थापक जनप्रतिनिधिका रुपमा धेरै काम भएको बताए । धेरै राम्रा अभ्यास भएपनि जल तथा वातावरण संरक्षणमा जलाशय निर्माणले घोराहीले देश तथा प्रदेशमा निकै चर्चा कमाएको बताए ।
यो असल अभ्यासले सुक्खा बन्दै गएको जमीन सिंचित गर्दै कृषि उत्पादकत्व बढाउन तथा वातावरण संरक्षणमा उल्लेख्य योगदान पुगेको बताए । ‘घोराहीले धेरै काम गरेको छ, म ती सबै कामको चर्चा गर्न चाहन्न । यो बेला दुईटा कुराको चर्चा गर्नुपर्छ । एउटा हो, जलाशय निर्माण र अर्को हो, बालमैत्री पालिका घोषणा,’ उनले भने, ‘यो ऐतिहासिक कामले संघीयताको असल अभ्यासलाई थप पुष्टि गरेको छ । यो महान काममा खटिनु हुने सबै जनप्रतिनिधि, वडाबासी, नागरिक, सरोकार निकायलाई लुम्बिनी प्रदेश सरकार उच्च मूल्यांकन गर्दछ ।’
घोराहीलाई बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ मा व्यवस्था भए बमोजिम चरणवद्ध कार्यक्रम, अभिमुखीकरण, सचेतना, टोल वडामा सरोकारवालाहरुको गठन, अनुगमनलगायतको प्रकृया पूरा गरी ५१ वटै सूचक पूरा गरेको प्रमाणीकरणका आधारमा बालमैत्री पालिका घोषणा गरिएको हो ।
सो अवसरमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले पालिकालाई बालमैत्री घोषणा गर्न लामो समयसम्म प्रकृयागत रुपमा सबै वडाहरुमा काम गरेर अघि बढेपछि सफलता मिलेको बताए । देशकै पहिलो बालमैत्री उपमहानगर बनाउँदै बालबालिकाको हक अधिकार स्थापित गर्दै सभ्य, स्वस्थ र मर्यादित उपमहानगर बनाएको बताए । उनले यो अभियानलाई सफल बनाउन निकै मेहनत गर्नुपरेको भन्दै अभियानमा खटिने सबैलाई स्मरण गरे ।
आफुहरु जनप्रतिनिधि भएर पालिकामा आईसकेपछि बालबालिकाहरुको क्षेत्रमा पनि केही नौलो काम गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्दै अभियानलाई सार्थक बनाउन सबैसँग हातेमालो गरेर अघि बढेकाले काम सफल भएको बताए । ‘बालमैत्री पालिका घोषणा केवल घोषणामा मात्रै सिमित हुनेछैन, यो बालबालिकाको अधिकार स्थापित गराउने सवालमा गर्नुपर्ने नीतिगत कुरा तथा सहभागीतामा पनि अर्थपूर्ण काम हुनेछ,’ उनले भने, ‘अब घोराही उपमहानगरमा बालश्रम, बालविवाह, शिक्षाबाट वञ्चितीकरण, स्वास्थ्य, पोषणलागयतका कुरामा कैफियत हुने काम हुनेछैन, यसका लागि नीतिगत रुपमै काम अघि बढेको छ । सबै नगरबासी, अभिभावकहरुको पनि सचेतना बढेको छ । यो कामले भोलिको सक्षम, सभ्य र स्वस्थ नागरिक उत्पादनमा टेवा पुग्छ ।’
घोषणा समारोहमा विभिन्न संघ संस्थाका प्रतिनिधिलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले घोराहीलाई बालमैत्री पालिका घोषणा कार्यक्रमले विद्यालयहरुलाई निकै उत्साहित बनाएको बताउनुभयो । उहाँहरुले बालबालिकाहरुको सर्वाङ्गिण विकासमा सहज हुनुका साथै दीगो विकास लक्ष्यलाई सार्थक बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
घोषणा समारोहमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, घोराही उपमहानगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास समिति संयोजक भरत अर्याल, जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख मित्रप्रसाद गौतम, पद्मोदय पब्लिक नमूना मावि घोराहीका प्रधानाध्यापक रामप्रसाद जैसी, हापुर निघुवार माविका प्रधानाध्यापक अर्जुन न्यौपाने, बालविकास माविकी सहायक प्रधानाध्यापक राधा केसी, गोरखा माविका प्राचार्य मानसिंह घर्ती, साहित्यकार डा. लोकराज पराजुली, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, नगरस्तरीय बाल सञ्जालकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, बाल क्लव उपाध्यक्ष भोजराज जिसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बालमैत्री पालिका घोषणा गर्नुअघि विभिन्न विद्यालयका विद्यार्थीहरु, टोल विकास संस्थाका प्रतिनिधि, सरोकार निकायका प्रतिनिधिहरुलगायत हजारौँको उपस्थितीमा बृहत् र्याली निकालिएको थियो । उपमहानगरको कार्यालयबाट शुरुभएको वृहत र्याली बजार परिक्रमा गरी बहुउद्देश्यीय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
बालमैत्री पालिका घोषणा समारोहमा बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए । उपप्रमुख सीता सिग्देल न्यौपानेको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा बालमैत्री पालिका घोषणा गर्न सहयोग गरेका तथा सक्रिय भूमिका खेलेका संघसंस्था, संचारमाध्यमलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले गरेका थिए ।