Ad Area

दाङमा आजदेखि टाइफाइडविरुद्धको खोप अभियान सुरु


दाङ, २३ चैत । दाङमा टाइफाइडविरुद्ध खोप अभियान आज बुधवारदेखि शुरु गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङले मंगलवार घोराहीमा सञ्चारकर्मीहरुसँग एक कार्यक्रमको आयोजना गरी चैत २३ गते बुधवारदेखि बैशाख ११ गतेसम्म जिल्लामा सञ्चालन हुन थालेको टाइडफाइड विरुद्धको खोप अभियानका बारेमा जानकारी दिएको हो ।

देशव्यापीरुपमा चैत २५ देखि बैशाख १८ गतेसम्म अभियान चल्ने भए पनि दाङमा दुई दिन अघिदेखि अभियान सुरु हुन थालेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिएका छन् । कार्यालय प्रमुख शाहीले विद्यार्थीको परीक्षालाई मध्यनजर गरेर जिल्लाका दशवटै पालिकाहरुमा चैत २३ गते बुधवारदेखि खोप अभियान चलाउने निर्णय गरेको बताए ।

‘विद्यार्थीको परीक्षालाई मध्यनजर गरेर २ दिन अघिदेखि नै जिल्लामा खोप सञ्चालन गर्ने निर्णय भएको छ’, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शाहीले भने– ‘खोप अभियानलाई प्रभावकारी बनाउन सञ्चारक्षेत्रको सहयोग आवश्यक छ ।’ उनले लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित चौधरीले देउखुरीको गढवाबाट अभियानको सुरुवात गर्ने समेत बताए । नेपालमा खोपका कारण लाग्ने रोगहरुलाई शून्य अवस्थामा पु¥याउने उद्देश्य अनुसार सबै बालबालिकाहरुलाई खोप लगाउन आग्रह गरेका थिए ।

अभियानका क्रममा जिल्लाका २ लाख २ हजार १ सय ३४ जना १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिने लक्ष्य रहेको कार्यालयका किशोर आचार्यले बताए । उनका अनुसार २ लाखमध्ये विद्यालयमा अध्ययनरत १ लाख ६७ हजार १ सय ६८ र विद्यालय बाहिर रहेको ३४ हजार ९ सय ६६ लक्षित जनसंख्या रहेको छ । जिल्लाका ६ सय २९ विद्यालयहरुमध्ये ५ सय १५ वटा विद्यालयहरुमा खोप केन्द्र स्थापना गरेर जनशक्ति परिचालन गरिएको बताए ।

बालबालिकाहरुलाई पहिलो पटक प्रदान गर्न थालिएको खोपका लागि सम्पूर्ण केन्द्रहरुमा आवश्यक सामग्री पु¥याइसकेको समेत बताए । ‘भोलिदेखि सुरु हुन थालेको टाइफाइडविरुद्धको अभियानलाई सफल बनाउन जिल्लाका अधिकांश केन्द्रहरुमा खोपका लागि आवश्यक सामग्री पु¥याइसकेका छौँ’, उनले भने– ‘कतिपय भ्याक्सिन राख्न नमिल्ने ठाउँमा बिहान पठाउँछौ ।’

खोपका लागि १ हजार १ सय ९५ स्वास्थ्यकर्मी र २ हजार ३ सय ८१ जना स्वयंसेवक परिचालन हुने स्वास्थ्य कार्यालय दाङले जनाएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालयका बामदेव शर्माले गरेका थिए । जिल्लामा आजदेखि सुरु भएपनि राप्ती गाउँपालिका र बबई गाउँपालिकामा भने २५ गतेदेखि हुने भएको छ ।