Ad Area

दाङमा बालबालिका लक्षित टाईफाईड रोग विरुद्धको खोप अभियान शुरु


घोराही, २४ चैत । दाङमा बालबालिका लक्षित टाईफाईड रोग विरुद्धको खोप अभियान शुरु भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या परिवार कल्याण मन्त्री इन्द्रजित थारुले बिहीबार दाङको घोराहीमा विधिवत रुपमा खोप कार्यक्रम शुभारम्भ गरे । खोप कार्यक्रम शुभारम्भ गर्दै मन्त्री थारुले कुनै पनि रोग लाग्नुभन्दा लाग्नै नदिने गरी स्वास्थ्य हेरचाहलाई ध्यान दिनुपर्ने बताए ।

घोराही १५ स्थित दीपशिखा माविमा स्वास्थ्य कार्यालय दाङको आयोजना र घोराही उपमहानगरपालिकाको समन्वयमा भएको खोप शुभारम्भ कार्यक्रममा मन्त्री थारुले स्वास्थ्यको सुधारका लागि खोप, औषधी र अस्पतालहरुको पर्याप्तताले मात्रै नहुने भन्दै व्यक्ति व्यक्तिले आनिबानी, खानपान, शारिरीक अभ्यास, सरसफाईमा ध्यान दिनु पहिलो प्राथमिकता हुने बताए ।

उनले भने, ‘खोप, औषधीले मात्रै स्वास्थ्यलाई सहज बनाउन सकिने होईन, यसका लागि आधारभूत रुपमै सरसफाईदेखि हाम्रा आहार विहार आनीबानी पनि सुधार्न जरुरी छ ।’ दाङको घोराहीमा मंगलबार देखि टाइफाइड रोग विरुद्धको खोप अभियान थालनी भएकोमा मन्त्री थारुले बिहीबार आयोेजित कार्यक्रममा उनले रोगबाट बच्न अपनाउन सकिने सावधानी र उपायको पालना गर्नुपर्ने बताए । साथै उनले रोग बिरुद्ध सञ्चालन गरिने खोप तथा औषधी सेवनलाई प्रभावकारी बनाउनुपर्ने सरकार र स्वास्थ्यकर्मीहरु बढि जिम्मेवार हुनुपर्नेमा समेत जोड दिए । तीन तहकै सरकारले हरेक रोग विरुद्धको अभियानमा एकतावद्ध रुपमा अघि बढेमा मानव स्वास्थ्यका सबै सूचकलाई सुधार गर्न सकिने उनको जोड थियो ।

स्थानीय तहहरुले आधारभूत स्वास्थ्य सेवा सँगै नागरिकहरुलाई स्वस्थ रहन सिकाउने देखि लिएर सुरक्षित पिउने पानीको प्रबन्ध गर्ने, ढल निकास, सरसफाई, खानपान, आनीबानी र शारिरीक अभ्यासमा समेत काम गर्नुपर्ने उल्लेख गरे । प्रदेश र संघ सरकारले सहज उपचारको प्रबन्धमा ध्यान दिनुपर्नेमा समेत जोड दिए ।

स्वस्थ जनशक्ति भए मात्रै सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतीक क्षेत्रको समुचित विकास हुने उनको भनाई छ । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले रोग लाग्नु भन्दा लाग्नै नदिने गरी सचेतना जगाउने र खोप, औषधी सेवनका कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न आफुहरु प्रतिवद्ध रहेको बताए ।

घोराही उपमहानगरपालिकाले १९ वटै वडामा निशुल्क औषधी सहितको आधारभूत स्वास्थ्य सेवा सञ्चालन गरेको जानकारी दिए । त्यसैगरी, जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य जाँच, सिकलसेल एनिमिया, थाल्नेमिया र सुत्केरीलाई निशुल्क रगतको व्यवस्था र मोतिया विन्दु भएकाको निशुल्क अप्रेशन गर्दै आएको समेत जानकारी दिए ।

Blog Post Ad

सरकारले तोकेका उमेर समूहका बालबालिकालाई खोप लगाउन नगरबाट एक सय बढी स्वास्थ्यकर्मीहरु परिचालन भएको समेत जानकारी दिए । कार्यक्रममा नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आफुहरु सकृय भएर लागेको बताए ।

स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले टाइफाइड रोगको संक्रमण दर अन्य रोगको तुलनामा १० गुणा बढी हुने भन्दै १५ महिनादेखि १५ बर्ष मुनिका सबै बालबालिकालाई खोप लगाउन लागेको जानकारी दिए । कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका खोप अधिकृत दिवाकर महर्जन, विद्यालय संचालक समिति अध्यक्ष नारायण अधिकारीले समेत खोप कार्यक्रमलाई प्रभावकारी बनाउँदै स्वस्थ नागरिक तयार पार्ने अभियानमा सबैले साथ दिनुपर्ने बताए ।

दाङमा २ लाख २ हजार एक सय ३४ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने कार्यक्रम रहेको छ । जसअनुसार पालिकाहरुमा स्वास्थ्य कार्यालयसँगको समन्वयमा अभियान शुरुभईसकेको छ । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालयका खोप कार्यक्रम प्रमुख किशोर आचार्यले गरेका थिए ।

Blog Post Ad Blog Post Ad