Ad Area

जनयुद्धमा शहादत प्राप्त शहिदहरुको सालिक अनावरण


घोराही, २४ चैत । दस वर्षे जनयुद्धमा शहादत प्राप्त गर्नुभएका शहिदहरुको सालिक अनावरण गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर १४ झिंगौरा सामुदायिक वन शहरी हरित शहिद पार्कमा स्थापना गरिएको शालिकको पूर्व सभामुख एवं संघीय सांसद कृष्णबहादुर महराले अनावरण गरे ।

घोराही १४ का वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षता तथा पूर्व सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा शहादत प्राप्त गरेको झिँगौराका ३ जना शहिदहरुको शालिक वडा कार्यालयबाट विनियोजित बजेटबाट निर्माण गरी अनावरण गरिएको हो । तत्कालीन जनयुद्धका क्रममा घोराही १४ झिँगौराका ओमभक्त चौधरी विजय, लौटन चौधरी र पृथ्वी चौधरीको सालिक अनावरण गरिएको छ ।

सो अवसरमा पूर्व सभामुख महराले देशका लागि ज्यानको बाजी थापेर प्राण त्यागेका शहिदहरुको सम्मानमा सबै लाग्नुपर्ने बताए । उनीहरुको योगदानले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै यसको सपना पूरा गर्न प्रतिवद्ध हुनु नै आजको आवश्यकता रहेको बताए । ‘देश परिवर्तनका लागि ज्यानको बाजी राखेर जनयुद्धमा होमिएका शहिदहरुको सपना अझै पूरा भएका छैनन्, हामी अझै अधिकार प्रांप्तिको लडाईमै छौँ,’ उनले भने, ‘अधूरा सपना पूरा गर्न सबै अघि बढ्न जरुरी छ ।’

यस्तै, उनले देशमा व्यवस्था परिवर्तनको जग बसेपनि जनताले अझै अधिकार पाउन नसकेको तर्क गरे। ‘जनताले अझै अधिकार पाउन सकेका छैनन्, यो अधिकारको लडाईमा हामी मन वचन र कर्मले अघि बढ्नुपर्छ,’ उनले भने । सामुदायिक वन क्षेत्र भएकाले वनको सरंक्षणसँगै दीगो व्यवस्थापनका लागि पनि हातेमालो गर्न आग्रह गरिएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता समुहले विस्तृत गुरु योजनासहितको प्रतिवेदन पूर्व सभामुख महरालाई बुझाएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य प्रदेश मामिला तथा कानुन समिति सभापति दामा शर्मा, नेकपा माओवादी केन्द्रका दाङ जिल्ला ईन्चार्ज जीवन गौतम, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य, हेमराज शर्मा, शालिक निर्माण अध्यक्ष सहदेव थारु, घोराही उपमहनगरपालिकाका इन्जिनियर युवराज पौडेल, शहिद भएका लौटन चौधरीकी श्रीमती धनकुमारी, मनकामना सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष लैया चौधरी, वन डिभिजन कार्यालय, दाङका भक्त चौधरी, नागरिक समाज दाङका निवर्तमान संयोजक चन्दराज पन्तलगायतले बोलेका थिए ।

Blog Post Ad

मनकामना सामुदायिक वनका सहसचिव भागिराम चौधरीले स्वागत गरेको कार्यक्रमको सहजीकरण विष्णु भण्डारीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad