प्रेमकुमारी पुन : जसले पुर्खाैली सीपलाई ब्राण्ड बनाइन्
उनलाई लागेको थिएन, कुनैदिन उद्यमी बनुला भनेर । तर भइदियो यस्तै ।
२१ वर्षे शिक्षण पेशामा विताएकी प्रेमकुमारी पुनले पुर्खाैली सीपलाई व्यवसायिक रुप दिइन् । गाउँघरमा अल्लोबाट कपडा बनाउने त्यही सीपले कालान्तरमा उनलाई चिनारी दियो । रोल्पाबाट दाङ झेरर उनले चिनारी महिला उद्योग जन्माइन् र उद्यमी बनिन् ।
****
रोल्पाको त्यो गाउँमा कपडा होस् की झोला सबै अल्लोकै लगाइन्थ्यो । गाउँघरमा अल्लो घागोबाट कपडा बुन्थे । पुर्खाली सीप थियो, त्यो । १२ वर्षकी छदा उनले पनि अल्लो धागो बुन्न सिकिन् ।
२१ वर्षे शिक्षण पेशामा विताइन् । मुलुकमा चलेको सशस्त्र द्धन्द्धबाट विस्थापीत भएर उनी रोल्पाबाट २०५८ सालमा दाङ झरिन् । जन्मघरबाट दाङ झर्नुमात्र रहर थिएन, बाध्यता थियो ।
जतिबेला गाउँमा सशस्त्र द्घन्द्घमा माओवादीको जगजगी थियो । माओवादी र सरकार पक्षले गाउँमा अनेक दुख दिन्थे । गाउँघरका अन्य मान्छेलाई घरमै आएर कुट्थे, धम्क्याउथे । प्रेम कुमारीको परिवारले पनि द्घन्द्घमा यस्ता अनेक दुख झेले ।
२०५८ साल तीरको कुरा हो । विद्यालयको कामले रोल्पाको सदरमुकाम जाँदा प्रेम कुमारीका श्रीमानलाई प्रहरीले छोपेर थानामा हाले । तीन पटक यस्तै भयो । त्यसपछि ज्यान जोगाउनै मुस्कील प¥र्याे । ‘कहिले माओवादीले सताउने, कहिले प्रहरीले । त्यसपछि ज्यान जोगाउनै गाह्रो भयो । गर्दै आएको शिक्षण पेशा छाडेर दाङ झरे ।’ उनले सम्झिइन् ।
दाङ आएपछि के गर्ने कसो गर्ने भयो । द्धन्द्धबाट ज्यान त जोगियो तर बाँकी जीवन कसरी पाल्ने भन्ने समस्या आइप¥र्याे । आयआर्जनको बाटो खोज्नुपर्ने भयो । त्यसपछि उनले परिवार पाल्न सिलाइकटाई सुरु गरिन् । सिलाई कटाइमा तालिम सिकिन्, उत्कृष्ट भइन् । त्यसपछि उनले नयाँ यात्रा सुरुवात थालिन् । ‘राती तीन बजे उठेर कपडा काट्थे, दिउसो सिलाउथे,’ उनले ती दिन सम्झिइन् ।
त्यसपछि उनको भेट रुकुमवाट सशस्त्र द्घन्द्घबाट प्रभावित भएका आफूजस्तै महिला दिदी बहिनीसँग भयो । अल्लो धागोबाट कपडा बनाउने पुर्खाैली सीपलाई व्यवसायिक रुप दिने सोच बन्यो । उनै दिदीबहिनीको आग्रहगमा अल्लो उद्योग संचालन भयो ।
२०६० सालमा उद्योग दर्ता भएर कपडा उत्पादन हुन थाल्यो । त्यही उद्योगमा अहिले ६० लाख बढी लगानी भइसकेको छ । उद्योगले अल्लोबाट बनेका कपडा सम्बन्धी बस्तुहरु दैनिक उत्पादन गर्दै आएको छ । अल्लोबाट बनेका कोट, ब्याग र अन्य कपडाजन्य सामाग्रीहरु उत्पादन हुन्छन् ।
त्यस माथि थुप्रै दिदी बहिनीहरुले रोजगारी पाएका छन् । उद्योगमा १९ वटा तान, ६ वटा सिलाई मेसिन चलाउने र आउटर, सल बुन्ने छ जना गरी ३०÷३५ जनाले रोजगारी पाएका छन् ।
‘सुरुमा अल्लो धागोवाट कपडा बेच्न निकै गाह्रो भयो’ उनले सम्झिन्, ‘मेला तथा महोत्सवले अल्लोलाई बजारीकरण गर्ने अवसर दियो । पहिले हेरी अहिले धेरै राम्रो छ । व्यापर बढेको छ ।’
उद्योगले उत्पादन गरेको अल्लो अहिले नेपालमा मात्र होइन भारत र चाइनामा लगेर प्रर्दशन सहित विक्रीविरतण गर्दै आएको बताइन् । अल्लो कपडा अहिले पुर्खाली सीपमात्र सीमित छैन, ब्राण्ड समेत बनिसकेको छ । देश विदेश अल्लो कपडाको माग बढ्दो छ । उनी दंग छिन् । भन्छिन् ‘आमाले सिकाएको सीपले मलाई चिनारी दियो । आमा भइदिएको भए यही कुरा सुनाउथे होला ।’
****
‘पुरस्कार पाउँदा आमा सम्झिए’
उद्यम क्षेत्रमा काम गर्दै गर्दा उनले नेपाल सरकारले दिएको उत्कृष्ट उद्यमी पुरस्कारल पाइन् । सबैभन्दा धेरै खुसी त्यही पुरस्कार पाउदा भइन् । ‘पहिलो पुरस्कार यही थियो । पुरस्कार पाउदा सबैले बधाइ भन्दा म भावुक भए’ उनले भनिन् ‘त्यही बेला आमालाई सम्झिए । आमा भैदिएको भए यो खुसी आमासँग साट्ने थिए ।’ त्यसपछि उनले धेरै राष्ट्रिय र क्षेत्रिय पुरस्कार पाइसकिन् । हाल उद्योगमा कोरोनाले केही प्रभावित बनाएको भएपनि आगामी दिनमा यसैलाई व्यवस्थित गर्ने योजना बनाएको सुनाइन् ।