Ad Area

मौलिक थारु लोकबाजा मादल बजाउने आधारभूत तालिम समापन


घोराही, २ बैशाख । नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको आयोजनामा संचालित लुम्बिनी प्रंदेश स्तरीय मौलिक थारु लोकबाजा मादल बजाउने आधारभूत तालिम समापन भएको छ ।
थारु भाषाको लोकबाजा लोप हुन लागेको तथा यसको सीप बारेमा समुदायकै व्यक्तिहरु बेखबर जस्तै बन्न लागेपछि प्रतिष्ठानको आयोजना तथा थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर २ दाङको व्यवस्थापनमा १० दिने तालिम प्रदान गरिएको हो । तालिममा थारु समुदाय र गैर थारु समुदायका प्रशिक्षार्थीलाई मादल बजाउने तालिम प्रदान गर्दै थारु कला, भाषा, साहित्यको उत्थानको प्रयास गरिएको छ । तालिममा सहभागीहरुले छोटो अवधिमा पनि मादल बजाउने सीप बारे धेरै कुराको जानकारी लिन पाएको बताएका छन् ।
प्रतिष्ठानका अध्यक्ष अशोक राईको अध्यक्षतामा बिहीबार आयोजित समापन समारोहमा प्रमुख अतिथि सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले थारु भाषाको मादल बजाउने व्यक्तिहरुको अभाव भईरहेको अवस्थामा तालिमका माध्यमबाट कला संस्कृति संरक्षणमा योगदान पुगेको बताए । यद्यपि, राज्यका तर्फबाट अहिले पनि सोँचे जति भाषा, कला, संस्कृति संरक्षणसँगै प्रवद्र्धन गर्न नसकेको बताए ।
सो अवसरमा भाषा संस्कृतिका प्राज्ञ डा. गोविन्द आचार्यले थारु जातिको वृहत सांस्कृतिक पक्षलाई उजागर गर्न सबै पक्ष गम्भीर बन्न जरुरी रहेको बताए । कार्यक्रममा थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी, दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष अनिल आचार्य, पत्रकार महासंघ दाङ शाखा सल्लाहकार सविन प्रियासनलगायतले बोलेका थिए । मादल बजाउने तालिमको प्रशिक्षकमा सांस्कृति संस्थानका पूर्व वाद्यवादक खर्क बुढा रहेका थिए ।

Blog Post Ad Blog Post Ad