Ad Area

दसैँ संस्कृति पढाउन विद्यार्थीहरुलाई टीका जमरा उपहार


दाङ,२३ असोज । पश्चिमा संस्कृतिको प्रभावले चाडपर्वमा विकृति फैलिदै गइरहेको समयमा शान्ति निकेतन विद्यालय घोराहीले दसैँ संस्कृतिबारे साक्षात्कार गरेको छ । दसैँको धार्मिक, सामाजिक र पौराणिक महत्व रहेको भन्दै विद्यालयले शनिबार विद्यार्थी र अभिभावकहरुसँग दसैँ संस्कृति बारे साक्षात्कार गरेको हो ।

शिक्षासँगै संस्कार जोड्दै आइरहेको विद्यालयले विद्यार्थी र अभिभावकहरुलाई जमरा र टीका उपहार प्रदान गर्दै दसैँको शुभकामना आदान प्रदान मात्रै गरेन—दसैँले समाजमा पार्ने सकारात्मक प्रभावका बारेमा जानकारी समेत गरायो । दसैँलाई सबै नेपालीहरुको साझा पर्व बनाउनुपर्ने भन्दै विद्यालयका प्रिन्सिपल टीकाबहादुर बस्नेतले हरेक वर्ष यस्तै खालका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको जानकारी दिएका छन् ।

‘विद्यालयले किताबी ज्ञानसँगै व्यवहारिक शिक्षा प्रदान गर्दै आइरहेका छ । शिक्षासँगै संस्कार जोड्ने हाम्रो अभियान रहेको छ’, प्रिन्सिपल बस्नेतले भने,‘पश्चिमा संस्कृतिले हाम्रा चाडपर्वहरु बिकृत बन्दै गइरहेकाले हामीले दसैँलाई सामाजिक सद्भाव कायम गर्दै मनाउन आग्रह गर्दै विद्यार्थीहरुलाई दसैँको टीका र जमराको महत्वबारे जानकारी गराएका छौं । विद्यार्थी र अभिभावकहरुलाई टीका र जमरा उपहार पठाएका छौं ।’

कार्यक्रममा बोल्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं प्याव्सनका केन्द्रीय सदस्य यादव गिरीले विद्यालयहरुले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताएका छन ।

Blog Post Ad Blog Post Ad