Ad Area

संस्कार गृह निर्माणार्थ जारी, महायज्ञमा शनिवार सबैभन्दा धेरै नगद दान


घोराही, ३ बैशाख । दाङको घोराहीमा बिहीबारबाट जारी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा दान गर्नेहरुको उत्साह बढ्दै गएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियामा संस्कार गृह निमार्णसंगै संस्कृति संरक्षण र सम्बद्र्धन गर्ने उद्धेश्यका साथ शुरु गरिएको महायज्ञमा दैनिक भक्तजनको उपस्थिती बढ्नुका साथै स्वेच्छिक नगद दान गर्नेहरुको संख्या पनि बढ्दै गएको मूल आयोजक समिति अध्यक्ष रमेश कुमार आचार्यले जानकारी दिनुभयो । महायज्ञको तेश्रो दिन आज शनिबार हालसम्मकै बढी नगद दान भएको उहाँले बताउनुभयो ।

महायज्ञमा कथा श्रवण गर्न आएका भक्तजनहरुले आफ्ना पितृको सम्झनामा तथा गच्छे अनुसार स्वेच्छिक नगद दान गर्नेहरु बढ्दै गएको पाइएको छ । आज शनिबार ४ लाख ५१ हजार ९ सय ६ रुपैयाँ नगद दान संकलन भएको मूल आयोजक समितिको भनाई छ । जसमा निधन भएका फनिन्द्रकुमार भुसालका श्रीमती रोमाकुमारी भुसाल तथा छोराहरु गोकर्ण भुसाल, शंकर भुसाल र हरिप्रसाद भुसालले संयुक्त रुपमा पितृको सम्झनामा नगद १ लाख ५ हजार पाँच सय ५५ रुपैयाँ दान गर्नुभएको छ ।

प्रमुख कथा वाचक कोमल उपाध्यायको रोचक कथावाचन सुन्न तथा सामाजिक कार्यमा आफुलाई समाहित गर्न भक्तजनहरु गर्मी मौसमको पर्वाह समेत नगरी दिनभर उपस्थित हुने गरेका छन् । दैनिक रुपमा बिहान योगाअभ्याससँगै शुभारम्भ हुने महायज्ञमा साँझ पनि भजन किर्तन हुने गरेकाले भक्तजनहरु थप आकर्षित हुदै गएका छन् ।

भौतिकवादमा लिप्त हुँदै गएको समाजलाई असल आचरण सिकाउन जरुरी रहेकाले यस प्रकारका अभियानले समाजलाई सही बाटोमा हिँडाउन मद्दत पुग्ने विश्वासका साथ सबै उमेरका व्यक्तिहरु महायज्ञमा सुविचार सुन्न पुग्ने गरेका महायज्ञ संचालक समिति संयोजक हरिप्रसाद पाण्डेयले बताउनुभयो ।

तीनदिनको अवधिमा भक्तजनबाट कुल ७ लाख ७३ हजार २ सय ३१ रुपैयाँ संकलन भएको महायज्ञ मूल आयोजक प्रचारप्रसार उपसमिति संयोजक कमल वलीले जानकारी दिनुभयो । बैशाख ८ गतेसम्म संचालन हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञका संकलित दानबाट संस्कार–गृह निमार्ण र संचालन गरिने बताइएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad