Ad Area

दाङका स्थानीय तह : व्यग्यं बन्दै स्मार्ट सिटीको अवधारणा


तुलसीपुर र लमहीले घोषणापत्रदेखी नीति तथा कार्यक्रमसम्ममा फोहोर व्यवस्थापनलाई मुख्य प्राथमिकता दिएपनि दुवै स्थानीय तह यो मामिलामा असफल भएका छन् ।

दाङ, ५ बैशाख । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिकाले गुणस्तरीय सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेको थियो । पछि स्थानीय तह निर्वाचन २०७४ मा एमालेले जित्यो पनि । तर, तुलसीपुरमा सडककै विषयमा विवाद छ । बजारको मुख्य सडक (क) लाइनमा सडक खाल्डाखुल्डी छन् । यसले बर्षाको समयमा हिलो र हिउँद मौसममा धुलोले नागरिकहरुलाई दुःख दिएको छ । सवारी साधनको बाक्लो चहलपहल हुने सडकमा धुलोले स्वास्थ्यमा समेत असर पुगेको बताउछन्, स्थानिय नर बहादुर बस्नेत । यता, तुलसीपुर उपमहानगरपालिकाले भने पाँच वर्षको अवधिमा ५६ किलोमिटर बाटो कालोपत्रे गरेको जनाएको छ ।

तालिका १ : तुलसीपुर उपमहानगरपालिका घोषणापत्र कार्यन्वयनको अवस्था

सडक  सडकलाई प्राथमिकता दिएपनि मुख्य सडक खण्डमा जताततै खाल्डाखुल्डी छन् ।
स्मार्ट सिटी  तुलसीपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न प्रमुख घनश्याम पाण्डे अवलोकनका लागि चीन, ताइवान, थाइल्याण्ड पनि गए । तर, स्मार्ट सिटी बनाउने प्रतिवद्धता कार्यन्वयन भएको छैन ।
फोहोर व्यवस्थापन फोहोरलाई मोहर बनाउने तुलसीपुरको योजना भएपनि हालसम्म डम्पिङ साइडको उचित व्यवस्थापन समेत हुन सकेको छैन ।
एक बस्ती एक खेल मैदान  एक बस्ती एक खेल मैदानले घोषणा पत्रदेखि नीति कार्यक्रममा प्राथमिकता पाएपनि यो काम योजना अनुसार हुन सकेको छैन । १९ वटा वडा रहेको तुलसीपुरमा ५ वटा मात्र खेल मैदान तयार छन् ।
मोनोरेल  रिङ रोड बनाउने, मोनो रेल सञ्चालन गर्ने विषय घोषणापत्रमा समावेश भएपनि यसको सञ्चालनको लागि सम्भाव्यता अध्ययन समेत भएको छैन ।

स्थानीय तहको निर्वाचनमा तुलसीपुरलाई स्मार्ट सिटी बनाउने सबै दलको प्रतिवद्धता थियो । प्रमुख पदमा एमालेका घनश्याम पाण्डे विजयी भएपछि यसलाई नीति कार्यक्रममा समावेश गरियो । तुलसीपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न भन्दै उनी अवलोकनका लागि चीन, ताइवान, थाइल्याण्डको अवलोकन भ्रमणमा पनि गए । तर, यो कामले गति लिएन । स्मार्ट सिटीको अवधारणा अहिले स्वंय पाण्डेसहितका जनप्रतिनिधीहरुका लागि व्यग्यं सावित भएको छ ।

पाण्डेले पाँच वर्षे कार्यकाल वित्नै लाग्दा अहिले स्मार्ट सिटीको गुरुयोजना तयार पारेका छन् । पाण्डेयले ‘स्मार्ट सिटी लक्ष्य भएपनि एउटै कार्यकालमा सम्पन्न हुन नसक्ने’ बताए । स्मार्ट सिटीका लागि पूर्वाधार तयार गरेको बताउँदै उनले भने, ‘अब बन्ने स्मार्ट सिटी आफुले तयार गरेको अवधारणा अनुसार नै हुने छ ।’

फोहोर व्यवस्थापनमा असफल
तुलसीपुर बजार क्षेत्रमा फोहोर व्यवस्थापनको ठुलो समस्या भएकाले यसको समाधान गर्ने कार्यलाई घोषणापत्रमा उच्च प्राथमिकता दिइयो । बजारमा व्यवस्थित नाला निर्माण गरिने, फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने, फोहोरलाई प्रशोधन गरी मोहरमा बदल्ने तुलसीपुरका मेयर पाण्डेको लक्ष्य थियो । तर, अहिलेसम्म पनि फोहोरमैला व्यवस्थापन केन्द्र बन्न सकेको छैन भने तुलसीपुर उपमहानगरपालिकामा स्थायी डम्पिङ साइड पनि छैन ।

Blog Post Ad

तुलसीपुर उपमहानगरपालिकामा फोहोर व्यवस्थापनको लागि स्थायी डम्पिङ साइड बनाउने भन्दै करिव एक करोड रुपैँयाँमा तुलसीपुर–१३ फुलवारीमा जग्गा किनिएको छ । बस्ती नजिक रहेको जमिनमा स्थानीयले डम्पिङ साइड बनाउने कुरामा बिरोध गर्दा स्थायी डम्पिङ साइड बनाउन सकिएको छैन । स्थायी डम्पिङ साइड गराउने भन्दै लिएको जग्गा भने उपमहानगरपालिकाले लिजमा दिएको छ । फूलवारीस्थित जग्गा तुलसी गौशालालाई लिजमा दिइएको प्रवक्ता सूर्यप्रकास डाँगी (श्याम) ले बताए । हाल तुलसीपुर–१२ मा अस्थायी डम्पिङ साइड बनाएर फोहोर फाल्ने गरिएको छ ।

हाल उपमहानगरपालिकाले काम चलाउका रुपमा तुलसीपुर महेन्द्र स्कुल नजिकै शिवशक्ति टोलको खोल्सामा फोहोर विसर्जन गर्दैै आएको छ । स्थायी डम्पिङ साइडको अभावका कारण नगरपालिकामा फोहर बिर्सजनमा समस्या भएको हो । उपमहानगरपालिकाका प्रवक्ता डाँगीले फोहरलाई मोहरमा बदल्न दीर्घकालीन डम्पिङ साइडको व्यवस्थापनका लागि आफूहरु लागेपनि स्थान अभाव भएको बताए ।

स्थायी डम्पिङ साइड बनाउने र फोहोरलाई व्यवस्थित रुपमा व्यवस्थापन गर्न जमिनको खोजी गरेको भएपनि उपयुक्त जमिन नभेटिदा समस्या भएको प्रवक्ता डाँगीको भनाई छ । ‘हामीहरुले नीति तथा कार्यक्रममा प्राथमिकता दिएका छौँ र बजेट पनि ल्याएका छौं, स्थान अभावले काम हुन सकेको छैन, हामीहरु जग्गाको खोजीमै छौंँ’, डाँगीले भने । अहिले फोहर वर्गीकरण नहुँदा र स्थायी डम्पिङ साइड नहुँदा समस्या आउने गरेकोे उनले बताए । अहिले तुलसीपुर उपमहानगरपालिकाले फोहर बिसर्जन गर्ने स्थायी ल्याण्डफिल्ड साइड नहुँदा फोहरको बर्गीकरण समेत नगरेर उठाउने गरेको छ ।

तुलसीपुरमा स्थायी डम्पिङ साइड निर्माणका लागि पहल गरिएपनि सो विषय छलफलमा मात्र सीमित भएको छ । डम्पिङ साइड नहुँदा त्यसको प्रत्यक्ष मारमा बजारदेखी दक्षिण क्षेत्रका गाउँ परेका छन् । तुलसीपुर उपमहानगरपालिकाको दक्षिणतर्फका टारिगाउँ, गोलौरा, गोलौरी, गौरीगाउँलगायतका किसानहरुले तुलसीपुर बजार हुँदै बग्ने कुलाको फोहर जाँदा बर्षेनी समस्या ब्यहोर्दै आएका छन् ।

पालिकाको स्थायी ल्याण्डफिल्ड साइट नहुँदा जैविक तथा अजैविक फोहर वर्गीकरण नहुँदा पनि यस्तो समस्या उत्पन्न हुने गरेको छ । तर, वडा नम्बर १२ का अध्यक्षसमेत रहेका प्रवक्ता डाँगीले चाहिं समस्याको दीर्घकालीन समाधानका उपायहरुको खोजी भइरहेको बताए । तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधि आउनुभन्दा अगाडी बजारमा जथाभावी रुपमा फोहोर फाल्ने गर्दा बजार दुर्गन्धित थियो । तर, जनप्रतिनिधि आइसकेपछि बजारको फोहोरलाई उठाउने र सफा गर्ने काम गरिएपनि घोषणा पत्र र नीति तथा कार्यक्रममा समावेश गरिएअनुसार दीर्घकालिन समाधानको उपाय भने कार्यन्वयनमा आएको छैन ।

घोषणा पत्रमा मात्र सिमित मोनोरेल
तुलसीपुर उपमहानगरपालिकामा रिङ रोड बनाउने, मोनो रेल सञ्चालन गर्ने प्रतिवद्धतापत्रमा समावेश थिए । तर, पाँच वर्षमा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनको काम भएको छैन ।

तुलसीपुर उपमहागनरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेले मोनोरेल सञ्चालनको सन्दर्भमा कुनै काम अघि नबढेको बताए । तुलसीपुरमा रिङरोड बनाउने विषय धेरै पहिलेदेखि नै उठ्दै आएको हो । आफ्नै कार्यकालमा रिङरोड पूरा गर्छु भनेका पाण्डेको कार्यकालमा तीन किलोमिटरमात्रै रिङरोड कालोपत्रे भएको छ ।

खेल मैदान निर्माणले गति लिएन
तुलसीपुर उपमहानगरपालिकामा एक बस्ती एक खेल मैदान बनाउने भनिएको थियो । तर ५ वर्षमा ५ वटा खेल मैदान निर्माण भएका छन् भने एउटा निर्माणाधीन छ । तुलसीपुर उपमहानगरपालिका–९ का वडाध्यक्ष घनश्याम ढकालले उपमहानगरले खेल मैदानमा निर्माणमा बजेट नै नदिएको आरोप लगाए । भएका मैदानसमेत उपमहानगरपालिकाले संरक्षण नगरेको स्थानियको आरोप छ ।

तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले कोरोनाका कारण लक्षित कामहरु गर्न नसकेको बताए । उनले चार बर्षमा प्राबिधिक शिक्षामा लगानी गर्ने र कोरोना व्यवस्थापनको काम प्रभावकारी रुपमा गरेको बताए । यसका साथै नगरका अति आवश्यक कामहरु गरिएको पाण्डेको दावी छ ।

लमहीको प्रतिवद्धता पनि कार्यन्वयनमा आएन
लमही नगरपालिकामा कृषि क्षेत्रको सघन विकासको लागि एक टोल एक उत्पादन कार्यक्रमलाई प्राथमिकता दिइने, बगर तरकारी खेती कार्यक्रमलाई प्रवद्र्धन गर्दे लमहीलाई तरकारी उत्पादन केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता थियो । तर, अहिलेसम्म यी कार्यक्रम कार्यन्वयन भएका छैनन् ।

तालिका २ः लमही नगरपालिकाको घोषणापत्र कार्यन्वयनको अवस्था

एक टोल एक उत्पादन  एक टोल एक उत्पादनको योजना भएपनि यो कार्यन्वयनमा आएन भने तरकारी उत्पादनलाई व्यवस्थित गर्न पनि सकिएको छैन ।
फोहोर व्यवस्थापन  फोहोरलाई मोहर बनाउने योजना बनाएको लमहीले संकलन भएको फोहोर अजम्बरी सामुदायिक बनमा लगेर फाल्ने गर्दछ । अहिले बजार तथा बसपार्क क्षेत्रमा कागजका टुक्रा, प्लाष्टिकहरु जथाभावी फालिएका छन् ।

फोहोर व्यवस्थापनको काम अधुरो
लमहीको फोहोर व्यवस्थापन प्रमुख आवश्यकतामध्येको एक हो । फोहोर व्यवस्थापनलाई सवै राजनितिक दलको घोषणापत्रमा प्राथमिकता दिइएको थियो । स्थानीय पालिकामा जनप्रतिनिधि आइसकेपछि नीति कार्यक्रममा पनि राखियो । तर, फोहोर व्यवस्थापनको काम भने कार्यन्वयन भएको छैन । बजार क्षेत्रवाट संकलन भएको फोहोर लमही नगरपालिका ५ मा रहेको अजम्मरी सामुदायिक बनमा बनाइएको डम्पिङ साइडमा फाल्ने गरिएको छ । जनप्रतिनिधि आएको पहिलो बर्ष गल्ने फोहोरलाई कम्पोष्ट मल बनाउने तथा नगल्ने फोहोरलाई फेरी प्रयोग गर्ने गरी योजना बनाइएपनि पाँच बर्ष पुग्न लाग्दा त्यो कार्य वेवारिसे भएको छ । लमही नगरपालिका वातावरण तथा सरसफाई शाखाकी प्रमुख गायत्री थापाले योजनाअनुसार फोहोर व्यवस्थापनको काम हुन नसकेको बताइन् ।

तीन बर्षमा फोहोरलाई संकलन गरी फाल्ने काम मात्र गरिएको छ । आर्थिक वर्ष २०७७÷०७८ को पहिलो महिना गल्ने र नगल्ने फोहोरलाई छुट्ट्याएर डम्प गर्ने योजनाअनुसार अभ्यास गरिएको थियो । करिव एक महिना गल्ने र नगल्ने फोहोरलाई छुट्याएर उठाउने काम पनि गरियो । तर, पछि बजार क्षेत्रका बासिन्दाले गल्ने र नगल्ने फोहोरलाई छुट्याएर दिन सकेनन् जसले गर्दा यो काम सफल हुन सकेन ।

जनप्रतिनिधि आएको चार बर्षमा फोहोरलाई मोहर बनाउने कामलाई प्राथमिकता नदिदा पालिका फोहोर व्यवस्थापनमा असफल देखिएको हो । अहिले गल्ने, नगल्ने, सिसाका टुक्रा, प्लाष्टिक एकैठाउँमा डम्प गर्ने गरिएको छ जसले गर्दा बन क्षेत्रमा कामका लागि जानेहरुलाई दुर्गन्धले सताउने गरेको छ । लमहीकी स्थानीय सरिता चौधरीले गाई भैसीका लागि घाँस काट्न तथा अन्य कामका लागि जंगल जाँदा दुर्गन्धले सताउने गरेको बताइन् । बजार क्षेत्रमा खासै फोहोर नभएपनि जंगल भने दुर्गन्धित बन्दै गएको चौधरीको भनाई छ । लमहीको योजनाअनुसार फोहोरलाई मोहरका रुपमा परिणत गर्ने काम भने अहिलेसम्म पनि हुन सकेको छैन ।

घोषणा पत्र जनता ठग्ने माध्यम : समन्वय प्रमुख
जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले घोषणा पत्र जनता ठग्ने माध्यम मात्र भएको बताए । ‘घोषणा पत्रमा प्रतिवद्धता गरेअनुसार कसले काम गरेको छ ?’, उनले भने, ‘निर्वाचनको समय आर्कषक घोषणा पत्र तयार हुन्छ, तर निर्वाचन जितिसकेपछि वास्ता गरिदैँन । अहिले जिल्लाको सबै पालिकाहरुको अवस्था हेर्दा घोषणापत्र अनुसार काम भएको छैन ।’ कहिकतै केही कामका प्रयास भएपनि प्रतिवद्धता अनुसार प्रतिफल देखिने गरी कुनै काम नभएको नेपालीको भनाई छ । निर्वाचनको समयमा नेताहरुले घोषणापत्रमार्फत गरेका बाचाले जनताहरुमा आशा पलाएको भएपनि अहिले ती आशा निराशामा वदलिएको नेपालीले बताए । नेतृत्व तहमा इमानदार व्यक्ति नआएसम्म घोषणापत्रमा समावेश भएका प्रतिवद्धता पुरा नहुने उनले बताए ।

Blog Post Ad Blog Post Ad