Ad Area

पल शाह प्रकरणमा नाबालिकाले फेरिन् बयान


काठमाडौं,४ वैशाख । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी नाबालिकाले अदालतमा बयान फेरेकी छन् । जिल्ला अदालत, तनहुँमा आइतबार बकपत्रका क्रममा पीडित नाबालिकाले आफूमाथि बलात्कार नभएको बताएकी हुन् ।

अदालतमा पीडित नाबालिकाले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको जिकिर गरेकी छन् । प्रहरीले जबरजस्ती विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाएको पनि उनले भनेकी छन् । पीडित नाबालिकाको पक्षमा बहस गरेकी अधिवक्ता मोहना अन्सारीले ‘पुरुषार्थको विजय कसरी हुन्छ’ भन्ने विषयको आज आफू साक्षी भएको टिप्पणी गरेकी छन् ।

सरकारी वकिलको रोहवरमा उनले प्रहरीसँग दिएको बयानमा चाहिँ उनले शाहले विभिन्न प्रलोभन देखाएर आफूमाथि पटकपटक जबरजस्ती करणी गरेको बताएकी थिइन् । ‘मध्यराति आएर शाहले विवाह गर्ने झुठो आशमा हुँदैन भन्दाभन्दै जबरजस्ती गरेका थिए’ उनले त्यतिबेला वयानमा भनेकी थिइन् ।

तर अदालतमा बकपत्रका क्रममा भने उनले बयान फेरेकी हुन् । उनका बुबाले ११ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबरजस्ती करणीमा किटानी जाहेरी दिएका थिए । शाह अहिले पुर्पक्षका लागि जिल्ला कारागार, तनहुँमा छन् । शाहलाई थुनामा पठाउने आदेश दिँदा अदालतले पीडित उनकै बयानलाई आधार मानेको थियो ।

Blog Post Ad Blog Post Ad