Ad Area

बैशाख ६ देखि कृषि गणना, मलदेखि विषादिसम्मको गणना हुने


दाङ, ५ बैशाख । बैशाख ६ गतेबाट कृषिसम्बन्धी तथ्यांक लिनका लागि सुपरिवेक्षक तथा गणक घर–घरमा पुग्ने भएका छन् । गणना लिन जिल्लामा १ सय १४ जना जनशक्ति परिचालन गरिने भएको छ । गणक, सुपरिवेक्षक तथा कार्यालयका कर्मचारी गरेर यो संख्यामा जनशक्ति परिचालन हुने जिल्ला कृषि गणना अधिकृत तुलसीराम पोख्रेलले बताए ।

उनका अनुसार ८३ जना गणक २२ जना सुपरिवेक्षक र ९ जना कार्यालय व्यवस्थापन तथा अनुगमनका लागि परिचालन हुने भएका हुन् । गणक तथा सुपरिवेक्षक नियुक्तिका लागि अहिले अनलाइनमार्फत केन्द्रले छनोट गरेको थियो । बेरोजारले रोजगार समेत प्राप्त गरेका छन् । केन्द्रले नै सर्ट लिस्ट प्रकाशन गरेर जिल्लामा पठाएको थियो । उनीहरुलाई तालिम समेत प्रदान गरिसकिएको छ । बैशाख ६ गतेदेखि फिल्डमा पठाइने प्रमुख पोख्रेलले जानकारी दिए ।

विभागले ४५ दिनको समय राखेर गणकहरुलाई फिल्डमा खटाउने छ । गणकहरुले २५ जेठमा बिदा पाउने भएकाले त्यस अगाडि नै गणनाको काम पूरा गर्ने तयारी विभागको छ । कृषि गणनामा लिएका व्यक्तिगत विवरण विभागले गोप्य राखेर तथ्यांकहरु मात्र सार्वजनिक गर्ने प्रमुख पोख्रेलले बताए । जिल्लाका १० स्थानीय पालिकाहरुमा २ सय ३९ वटा गणना क्षेत्र निर्धारण गरेर तथ्यांक संकलन गरिने उनले बताए ।

५ हजार ९ सय ७५ घर परिवारमा पुगेर कृषिसम्बन्धी जानकारी लिनेछ । यो नमुना सर्वेक्षणको रुपमा गरिने छ । संघीयता आएपछि पहिलोपटक कृषि गणना हुन थालेको हो । केन्द्रीय तथ्यांक विभागले कृषि गणना गर्न लागेको हो । राष्ट्रिय जनगणना जस्तै कृषि गणना पनि प्रत्येक १० वर्षमा गर्ने गरिन्छ । यस वर्ष हुन थालेको कृषि गणनाको नारा ‘कृषि गणनाको सार कृषि योजनाको पूर्वाधार’ निर्धारण गरिएको छ ।

नेपालमा पहिलोपटक २०१८ सालमा कृषि गणना भएको थियो । अहिले हुन थालेको कृषि गणना सातौं कृषि गणना हो । पहिलोपटक देशभरका ७ सय ५३ स्थानीय तहहरुमा नै गणना गर्न थालिएको छ । जसले गर्दा सबै पालिकामा कृषिको अवस्थाको बारेमा जानकारी लिन सकिने प्रमुख पोख्रेलले बताए । कृषि गणनाबाट कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त हुनेछ । खेतीयोग्य जमिन, जमिनमा प्रयोग भइरहेको मलदेखि विषादिसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको बताइएको छ ।

नेपाल कृषिप्रधान मुलुक हो । कृषिले अर्थतन्त्रमा गरिरहेको योगदानलाई तथ्यांकमा देखाउन गणनाले ठूलो सहयोग गर्ने तथ्यांक विभागले जनाएको छ । कृषि गणनामा नेपालका प्रत्येक जिल्लाको कृषि संरचना, गतिविधि तथा कृषि उत्पादनसँग सम्बन्धी विवरण संकलन गरिन्छ । कृषकले चलन गरेको जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिँचाई, पशुपन्छी संख्या, कृषि औजारको उपयोग, कृषि कर्ममा संलग्न जनशक्तिजस्ता विषयमा तथ्यांक संकलन गरिने भएको छ ।

Blog Post Ad

यसबाट कृषि क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनमा मुलुकलाई आवश्यक पर्ने तथ्यांक उपलब्ध हुने भएको छ । कृषकले कृषि प्रयोजनमा ऋण लिएको भए त्यसको समेत विवरण संकलन गरिने भएको छ । ऋण लिए पनि गणनाको अघिल्लो दिन सम्म तिरिसकेको भए त्यस्तो विवरण भने राखिँदैन ।

कृषि गणनामा हरेक घरमा भने गणक पुग्ने छैनन् । नमूना छनोटमा परेका घरमा गणकहरु पुगेर विवरण भर्नेछन् । कृषि गणनामा ठूलो स्तरको नमुना लिएर त्यहाँबाट तथ्यांक संकलन गर्ने गरिन्छ । प्राप्त हुने तथ्यांकलाई औसतमा निकालेर तथ्यांक विश्लेषण गरिने भएको छ । यस क्रममा मुलुकका हरेक क्षेत्र समेट्ने गरी नमुना छनोट गर्ने विभागको भनाइ छ । यसले कृषिका पकेट क्षेत्र पत्ता लाग्ने छ ।

विगतमा सामान्य तया वडालाई एक क्षेत्र मानेर नमुना छनोट गरी विवरण संकलन गरिएको थियो । गणकले छानिएका परिवारमा पुगेर विवरण ल्याउँछन् भने सुपरिवेक्षकहरुले सामुदायिक प्रश्नावलीबाट विवरण संकलन गर्नेछन् ।

कृषि गणना सचेतना गोष्ठी

जिल्ला कृषि गणना कार्यालय दाङको आयोजनामा जिल्लास्तरीय कृषि सचेतना गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कृषि गणना समन्वय समितिका संयोजक हिरालाल रेग्मीले राज्यले थालेको अभियानमा सबैले सहयोग गर्नुपर्ने बताए । सबैले आ–आफ्नो स्थानबाट अभियानलाई सहयोग गर्न समेत आग्रह गरे ।

‘राज्यले सञ्चालन गरेको अभियानमा सबैको सहयोगले मात्र सफल हुन्छ’, रेग्मीले भने– ‘सही सूचनाले यो अभियानलाई सहयोग गर्नु सबैको दायित्व हो ।’ कार्यक्रममा कृषि गणना अधिकृत तुलसीराम पोख्रेलले कार्यक्रमका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण गणेशप्रसाद मरासिनीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad