Ad Area

स्थानीय तह निर्वाचन : लुम्विनी प्रदेशमा तयारी तीव्र


दाङ, ६ बैशाख । वैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारी तीव्र रुपमा भइरहेको छ । लुम्बिनी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय दाङ, राजनीतिक दल तथा सुरक्षा निकाय आआफ्नै किसिमले चुनावको तयारीमा जुटेका हुन् ।

राजनीतिक दल उम्मेदवार छान्न व्यस्त छन् भने निर्वाचन कार्यालय आवश्यक सामग्री खरिददेखि आन्तरिक तयारीसम्मका काममा व्यस्त रहेको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाका १ सय ९ पालिकामा ३२ लाखभन्दा बढी मतदाताले यस पटकको निर्वाचनमा मतदान गर्दैछन् । यी मतदाताका लागि लुम्बिनी प्रदेश भर एक हजार ६ सय २९ मतदान स्थलमा ३ हजार ८ सय ३२ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

मतदान केन्द्रलाई सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरेर त्यहीअनुसारको सुरक्षा तयारी गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । १२ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयहरु अहिले चुनावका लागि आवश्यक सामग्रीहरु खरिद, आवश्यक जनशक्तिको आँकलनदेखि अन्य आन्तरिक तयारीमा व्यस्त रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

निर्वाचनको तयारी अन्तर्गत मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको तालिम सम्पन्न भइसकेको छ भने कम्प्युटर अपरेटरको तालिम नेपालगञ्जमा भइरहेको कार्यालयले जनाएको छ । चारवटा उपमहानगरपालिका रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मतदाता घोराही उपमहानगरपालिकामा १ लाख १२ हजारभन्दा बढी रहेका छन् । जुन २०७४ सालको चुनावको भन्दा ३४ हजार ५ सयले बढी हो ।

त्यस्तै, दोश्रो बढी मतदाता रहेको तुलसीपुर उपमहानगरपालिकामा २०७४ सालको भन्दा ३० हजार ७ सय ८४ मतदाता थपिएर यस पटक १ लाख ७ हजार पुगेका छन् । बुटवल उपमहानगरपालिकामा ९० हजार मतदाता रहेका छन् भने नेपालगञ्ज उपमहानगरपालिकामा ८१ हजार मतदाताले यस पटकको पालिकाको निर्वाचनमा सहभागिता जनाउँदै छन् ।

प्रदेशमा क्रियाशील राजनीतिक दलहरु उम्मेदवार छनोटमा व्यस्त रहेका छन् । वडा तहबाट सम्भावित उम्मेदवारको नाम माथिल्लो कमिटीमा पठाइसकेको र माथिल्ला कमिटीहरुले उम्मेदवार छनोट प्रक्रिया अन्तिम चरणमा पु¥याएको राजनीतिक दलहरुले जनाएका छन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad