Ad Area

घोराहीका प्रतिवद्धता अधुरै


घोराही उपमहानगरपालिकामा रहेका १९ वटै वडामा एक÷एक वटा नमूना विकास गाउँ बनाइने, मजदुरको हित हुने नीति अवलम्बन गरिने, भूमिको बैज्ञानिक वर्गीकरण गरिनेलगायतका अधिकांश प्रतिवद्धता पुरा भएका छैनन् ।

दाङ, ७ बैशाख ।  एमाले घोराही उपमहानगरपालिकाको घोषणा पत्रमा उप–महानगरपालिका क्षेत्रभित्रका सबै खोलाहरुमा ड्याम निर्माण गरी सिँचाइको व्यवस्था मिलाइने बुँदा समावेश थियो । स्थानीय तह निर्वाचन २०७४ मा घोराही उपमहानगरपालिकामा एमालेले जित्यो । तर, अहिलेसम्म खोलामा ड्याम निर्माण गरिएको छैन । उपमहानगरपालिकाले नीति कार्यक्रममा खोलाको पानी संकलन गर्ने भनेको थियो । सिचाइँको समस्या समाधान गर्नका लागि वर्षात्को पानी सञ्चय गरी हापुर, कटुवा र सिस्ने खोलामा पानीका ड्याम बनाउने भनिएको थियो । तर, यी कामहरु अहिलेसम्म पनि भएका छैनन् ।

घोषणापत्रमा प्रतिवद्धता गरिएको एक घर एक रोजगारको नीति पनि कार्यान्वयन भएको छैन । नगरपालिकामा रहेका १९ वडामध्ये हरेक वडामा एक÷एक वटा नमूना विकास गाउँ बनाइने काम भएको छैन् । मजदुरको हित हुने नीति अवलम्बन गरिने, भूमिको बैज्ञानिक वर्गीकरण गरिने प्रतिवद्धता पुरा भएका छैनन् । खेतीयोग्य जमिनलाई कृषि क्षेत्रका रुपमा, ग्रामीण क्षेत्र, सहरी क्षेत्र, वन क्षेत्र, सीमसार क्षेत्र र औद्योगिक क्षेत्रका रुपमा वर्गीकरण गरेर काम गरिने प्रतिवद्धता पुरा भएको छैन । घोराही उपमहानगरपालिका कृषि शाखा प्रमुख चोपनारायण खनालले यी कामहरु नभएको बताए ।

भूमिमा देखिएको दोहोरो स्वामित्वलाई पूर्ण रुपमा अन्त्य गरिने, जमिनको खण्डीकरणलाई निरुत्साहित गर्दै उत्पादन र उत्पादकत्व बृद्धिमा जोड दिइने कामहरु पनि प्रभावकारी रुपमा कार्यन्वयन भएका छैनन् । कृषिमा व्यावसायिकरण, औद्योगिकीकरण, विविधिकरण, आधुनिकीकरण गरिने, माटो र हावापानी अनुकूल बाली छनौट गरी ‘एक गाउँ एक उत्पादन’ अवधारणाबाट व्यावसायिक कृषि उत्पादन गर्न प्रोत्साहन गरिने कुरा प्रतिवद्धता पत्रमा उल्लेख छ । तर, यी प्रतिवद्धता अनुसार काम नभएको कृषि शाखा प्रमुख खनालले बताए ।

कृषि व्यवसाय प्रवद्र्धन र संरक्षणका लागि राज्यले व्यवस्था गरेको बीमा व्यवस्थालाई प्रभावकारी बनाउने, मूल्य व्यवस्थापन र बजार अनुगमनको काम गरिने, गुणस्तरीय खाद्य अधिकारको ग्यारेन्टी गरिने, कृषिजन्य साना–मझौला–ठूला उद्योगहरूको प्रवद्र्धन गरिने, कृषिबजार सूचनाको व्यवस्था, संकलन, भण्डारण र प्रशोधनका लागि सार्वजनिक गोदाम र चिस्यान केन्द्रको व्यवस्था गरिने प्रतिवद्धता पनि पुरा भएका छैनन् । घोराही १२ की किसान हरिकला चौधरीले किसानको माग अनुसारका काम नभएको बताइन् । घोषणा पत्रमा किसानहरुको पक्षमा धेरै कुरा समेटिएपनि अहिले काम चाहिं नभएको बताइन् ।

पानीको स्रोत अभाव रहेको स्थानमा थोपा सिँचाइलाई प्रभावकारी बनाइने प्रतिवद्धता थियो । पाँच वर्षमा कृषि समुह सहकारीमार्फत सञ्चालनमा आएका साना सिचाइँ ६० प्रतिशत अनुदानमा ६६ वटा योजना सम्पन्न भएको घोराहीका मेयर नरुलाल चौधरीले बताए । नदी, खोलानाला र बगरले ओगटेको जमिनलाई मत्स्यपालन, जलमार्गलगायत बहुउद्देश्यीय प्रयोजनका लागि विकास गरिने, बहु–उद्देश्यीय वनपैदावरको प्रयोग गरी प्राङ्गारिक मल प्रयोगको बिस्तारबाट जमिनको उर्वरता बढाइने, मलखादमा रहेको परनिरर्भरता अन्त्य गरिने प्रतिवद्धता थिए जुन कामहरु अहिलेसम्म पनि भएका छैनन् ।

Blog Post Ad

आध्यात्मिक, आयुर्वेदिक र आधुनिक उपचारग्राम स्थापना गर्ने (धारापानी, नारायणपुर घोराहीमा) गुणस्तरीय औषधि र प्रयोगशाला सुविधा विस्तार गर्न निजी क्षेत्रलाई सहजीकरण गरिने भनिएको थियो । घोराही उप–महानगरपालिमा भित्री र बाहिरी गरी दुईवटा चक्रपथ निर्माण गरिने, यी दुवै चक्रपथले उप–महानगरपालिका १९ वटै वडालाई समेट्ने, साविकको घोराही नगरपालिकामा निर्माण गर्ने भनिएको चक्रपथको काम अबिलम्ब अघि बढाइने उल्लेख भएपनि अहिलेसम्म यी कामहरु अघि बढेका छैनन् ।

तालिका १ ः घोराही उपमहानगरपालिकाको प्रतिवद्धता कार्यन्वयनको अवस्था

 

सडक  सडकलाई प्रमुख प्राथमिकता दिइएको थियो । स्थानिय पालिकामा जनप्रतिनिधि आएपछि हालसम्म १४० किलोमिटर सडक कालोपत्रे गरिएको छ । तर, बजार क्षेत्रका मर्मत गरिएका सडकहरुमा कालोपत्रे उप्किका छन् । केही सडकहरु भने उदाहरणिय छन् ।
कृषि  कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिइएको थियो । तर, हाल ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकरण, ६० प्रतिशत अनुदानमा वीउ वितरण बाहेकका काम भएका छैनन् । नमूना विकास गाउँ, भूमिको बैज्ञानिक बर्गिकरण, उत्पादन र उत्पादकत्व बृद्धिमा जोड दिने काम भएका छैनन् । बीमा, मूल्य व्यवस्थापन र बजार अनुगमन, कृषिबजार, चिस्यान केन्द्र बनाउने काम भएका छैनन् ।
सिचाइँ  सिचाइँका लागि घोराही उपमहानगरपालिका भित्रका सबै खोलामा पानी संकलन भण्डार बनाउने योजना थियो जुन योजना अधुरै छन् ।
स्मार्ट सिटी घोराहीलाई स्मार्ट सिटी बनाउने घोषणापत्रमा समावेश थियो । जनप्रतिनिधिले छलफल कार्यक्रम गरे । तर, पुर्वाधार तथा अवधारणा तयार नहुँदा आझेलमा छ ।
नगर बस सञ्चालन योजना  घोराही उपमहानगरपालिकामा सिटी बस संचालन गर्ने योजना थियो । यसका लागि अध्ययन गरिएको थियो । नगरपालिकाको संयोजनमा यातायात व्यवसायीहरुले नगर बस सञ्चालन गर्ने सहमति पनि भएको थियो । तर, यो विषयमा पालिकाले निर्णय नगरेका कारण काम अधुरै रहेको छ ।

 

स्मार्ट सिटी बनाउने काम अधुरो
घोराही उपमहानगरपालिकालाई स्मार्ट क्षेत्र बनाउने सबै दलहरुले चुनावी घोषणा पत्रमा समावेश गरेका थिए । घोराही नगरप्रमुखमा नरुलाल चौधरी विजयी भएपछि घोराहीलाई स्मार्ट सिटीका रुपमा विकास गर्न औपचारिक कार्यक्रम पनि आयोजना गरियो । आइटी क्षेत्रका विज्ञहरुलाई सहभागी गराएर कार्यक्रम गरिएको थियो । तर, त्यसपछि भने स्मार्ट सिटीको योजना ओझेल परेको छ । स्मार्ट सिटी बनाउनका लागि चाहिने अवधारणा पुरा नहुँदा यो कार्यक्रम ओझेलमा परेको हो । कोरोनाको काणले यो कार्यक्रमलाई अगाडी बढाउन नसकिएको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए ।

स्मार्ट सिटीका लागि स्मार्ट प्रशासन, स्मार्ट यातायात सेवा, स्मार्ट नागरिक, स्मार्ट वातावरण, स्मार्ट जीविका हुन आवश्यक पर्ने बताउँदै नागरिक समाज दाङका संयोजक केवि मसालले घोराहीको तत्कालको अवस्थाका कारण स्मार्ट सिटीको योजना पुरा नभएको बताए । ‘बजार क्षेत्रभित्र खाल्डाखुल्डी छन्, नाला बनाउन सडक खनेर भताभुंग छन्, यस्तो शहर कसरी स्मार्ट सिटी हुन्छ ?’ उनले प्रश्न गरे । शिक्षा, स्वास्थ्य, कृषि, प्रविधिमा योजनाहरु बनाएर काम भएपनि प्रभावकारी नभएको उनको भनाई छ ।
नगर बस अध्ययनमा मात्र सिमित

घोषणा पत्रमा घोराही उपमहानगरपालिकामा नगर बस सञ्चालन गर्ने योजना थियो । आर्थिक वर्ष २०७५÷०७६ को नीति कार्यक्रममा नगर बस सञ्चालनमा ल्याउने नीति कार्यक्रम पारित गरिएको थियो । नीति ल्याएपनि त्यसको कार्यान्वयन भने हालसम्म भएको छैन । शहरी यातायातअन्र्तगत यातायात व्यवसायीसँग सहकार्य गरी रुट निर्धारण गरी नगर क्षेत्रमा सिटीबस सञ्चालन गरिनुका साथै पार्किङ व्यवस्थापनलाई व्यवस्थित गरिने उल्लेख गरिएको थियो । यसको कार्यान्वयन गर्न नसक्दा जनप्रतिनिधिहरुप्रति नागरिकहरुले गुनासो गर्न थालेका छन् । नगर बस सञ्चालन नहुँदा नगरवासीहरुले अटोमा धेरै रकम तिरेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

नगरपालिकामा नगर बस सञ्चालन गर्नका लागि जनप्रतिनिधिहरु आएपछि कुनै पनि निर्णय नभएको घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भीमबहादुर चौधरीले बताए । ‘अहिलेसम्म नगर बस सञ्चालन गर्नका लागि कुनै पनि निर्णय भएको छैन’, चौधरीले भने, ‘नीतिमा भएपनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन ।’ नगर कार्यपालिकाले निर्णय गरेमा मात्र काम अगाडि बढ्ने उनको भनाइ छ ।

नगरपालिकामा बस सञ्चालन गर्नका लागि नगर क्षेत्रमा अध्ययनसमेत गरिएको थियो । नगर बस सञ्चालन गर्नका लागि यातायात व्यवसायीहरुसँग मिलेर नगरपालिकाबाट अध्ययन भएको थियो । नगरभित्र कति बस सञ्चालन गर्ने, रकम कति निर्धारण गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल गरेर निर्धारण गरिने निर्णय पनि उतिवेला भएको थियो । नगरपालिकाको संयोजनमा भएको वैठकमा यातायात व्यवसायीहरुले नगर बस सञ्चालन गर्ने सहमति जनाएका थिए । नगरपालिकाले नगरबस सञ्चालन गर्नका लागि रुटसमेत तय गरेको थियो । सबै नगर बसहरु बसपार्कबाट सञ्चालन गर्ने सहमति भएको थियो । तर, यो सहमति अहिलेसम्म कार्यान्वयनमा आएको छैन ।

पाँच वर्षमा सबै काम सम्भव भएन ः मेयर
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले पाँच वर्षमा घोषणा पत्रका सवै प्रतिवद्धता पुरा गर्न नसकिएको बताए । तर, भौतिक पूर्वाधार, सामाजिक सुधार, शिक्षा र सफाईको क्षेत्रमा महत्वपूर्ण उपलव्धी हासिल गरेको दावी गरे । चौधरीका अनुसार चार बर्षको अवधिमा पूर्वाधार विकासमा सवै वडामा स्वास्थ्य संस्था स्थापना र सञ्चालन, एक सय ४० किलोमिटर सडक कालोपत्रे, उपमहानगरपालिकाभित्र ८५ वटा कुवा निर्माण, ४० वटा डिप बोरिङ निर्माण भएका छन् । चार वर्ष सकिदा १९ वटा नयाँ पार्क निर्माण, ५१.९१ किलोमिटर ढल निर्माण, २८ किलोमिटर नदी नियन्त्रणका लागि काम गरिएको चौधरीले बताए । प्रमुख चौधरीका अनुसार २६ वटा कृत्रिम जलाशय निर्माण, १३ वटा खेलकुद मैदान निर्माण, चार वटा रंगशाला निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग गरिएको छ । शिक्षातर्फ १५ वटा नयाँ विद्यालय भवन निर्माण, २२ वटा विद्यालयमा नयाँ कक्षा कोठा थप निर्माण तथा मर्मत गरिएको चौधरीले बताए ।

१४ वटा यात्रु प्रतिक्षालय निर्माण, ८ वटा सार्वजनिक शौचालय निर्माण, १४ सय घरधुरीमा खरको छानो बिस्थापन गरी टिनको छानो लगाइएको छ । कृषि तथा पशुपंक्षीतर्फ ५० प्रतिशत अनुदानमा एक सय ४५ वटा कृषि यान्त्रिकरण साना औजार अनुदानमा वितरण गरिएको छ । विउ उत्पादन गर्ने सहकारीहरुलाई ६० प्रतिशत अनुदानमा ९ टन धान गहुँ र तोरीको मुल विउ वितरण, ६० प्रतिशत अनुदानमा ५० टन प्याज, धान, गहुँ र तरकारीको उन्नत विउ वितरण गरिएको पनि चौधरीले बताए ।

सरसफाईतर्फ घोराही १६ तेरौटेमा स्यानेटरी ल्याण्ड फिल साइटको निर्माण गरिएको छ । घोराही, नारायणपुर बजारवाट गल्ने फोहोर र नगल्ने फोहोर छुट्याएर गल्ने फोहोरवाट वायो ग्यास प्लान्टमा प्रयोग गरेर ग्यास उत्पादन गरिएको छ भने नगल्ने फोहोरलाई प्रयोगमा ल्याउने उद्देश्यले खरिद गरिन्छ । ५९ किलोमिटर ढल निर्माणको काम भएको पनि चौधरीले बताए । पहिलो वर्ष कानुन निर्माणको वर्षका रुपमा वितेको भएपनि चार वर्ष भने घोषणा पत्रमा गरिएका प्रतिवद्धता पुरा गर्ने प्रयास भएको चौधरीको भनाई छ । तर, दुई वर्ष भने कोरोनाका कारण लक्ष्यअनुसारको उपलव्धी हासिल गर्न नसकिएको उनले बताए ।

 

Blog Post Ad Blog Post Ad