Ad Area

राष्ट्रिय छन्द दिवसमा छन्दोवद्ध कविता वाचन तथा सम्मान कार्यक्रम सम्पन्न


घोराही, ८ बैशाख । राष्ट्रिय छन्द दिवसका अवसरमा राप्ती साहित्य परिषदले छन्दोवद्ध कविता वाचन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । यस क्षेत्रको सबैभन्दा जेठो र क्रियाशील साहित्यिक संस्थाका रुपमा रहेको परिषदले यस प्रकारको कार्यक्रम पहिलो पटक गरेको छ ।

राप्ती साहित्य परिषद केन्द्रको आयोजनामा बिहीबार भएको कार्यक्रममा पुराना र नयाँ पुस्तालाई जोड्दै साहित्यक उत्थानमा विशेष जोड दिएको साहित्यकारहरुको भनाई थियो । परिषदका केन्द्रीय अध्यक्ष टीकाराम उदासीको अध्यक्षता तथा परिषदका सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी छन्दोवद्ध कविता वाचनसँगै कवितामाथि समिक्षा गरिएको थियो ।

सो अवसरमा कविहरु डा. गोविन्द आचार्य, प्राध्यापक डा. सुदन पौडेल, श्रवण नेपाली, हरिप्रसाद पौडेल स्वर्णशिखा, तिला पन्थी, धनसिंह गिरी, गिरीराज पन्थी, शेषमणि रिजाल, यम रेग्मी, छवि किरण वली, खगेश्वर भण्डारी, डिल्लीराज श्रीधर, हरि पोख्रेल, भुवन देवकोटा शरद, खगराज न्यौपानेले छन्द कविता वाचन गरेका थिए ।

छन्दोवद्ध कविताको समिक्षकका रुपमा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. भीम खतिवडा रहेका थिए। गद्य कविताको प्रभाव बढ्दै गएको बेला छन्द कवितालाई पनि सँगसँगै अघि बढाउन यस प्रंकारको कार्यक्रम निरन्तर हुनुपर्ने सहभागीहरुको जोड थियो ।
छन्द कविता वाचनसँगै छन्दमै समीक्षा गरिएपछि साहित्यकारहरुले नौलो अभ्यास भएको महसुस गरे।

कार्यक्रममा साहित्यका क्षेत्रमा लामो समयसम्म कलम चलाउँदै आउनुभएका साहित्यकार गणेश विषम र यस अघि घोषित पुरस्कृत श्रष्टा प्राध्यापक डा. सुदन पौडेललाई पनि सम्मान गरिएको थियो । परिषदका केन्द्रीय सदस्य धनसिंह गिरीको स्वागत मन्तव्यबाट शुरुभएको साहित्यिक कार्यक्रमको सहजीकरण परिषदका केन्द्रीय उपाध्यक्ष एवं दाङ जिल्ला अध्यक्ष  दीपक शर्मा समीरले गरेका थिए।