Ad Area

५१ लाख बढी नगद दान संकलन गर्दै महायज्ञ समापन


घोराही, ८ बैशाख । घोराहीमा जारी श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा ५१ लाख बढी दान संकलन गर्दै बिहीबार समापन गरिएको छ । संस्कार गृह निर्माणार्थ दाङको घोराहीमा बैशाख १ गतेबाट शुरु भएको महायज्ञमा मन फुकाउँदै दान गर्नेहरुले गच्छे अनुसार दान गरेपछि लक्ष्य अनुसार दान संकलन भएको महायज्ञ मूल आयोजक समितिको भनाई छ । महायज्ञको अन्तिम दिन भक्तजनले मन फुकाउँदै गच्छे अनुसार १३ लाख ८१ हजार ४ सय ७५ रुपैयाँ नगद दान गरेका छन् । बिहीबार सबैभन्दा बढी नगद दान घोराही १७ गुलरियाका हुमबहादुर अधिकारीले ६० हजार रुपैयाँ दान गर्नुभएको छ ।
महायज्ञ मूल आयोजक समिति अध्यक्ष रमेश कुमार आचार्यका अनुसार महायज्ञमा हालसम्म कुल ५१ लाख ७ हजार १ सय ६० रुपैयाँ नगद दान संकलन भएको छ ।
नगद दान, तुला दान गर्नेहरु हजारौँँको संख्यामा रहनुभएको महायज्ञ मुल आयोजक प्रचारप्रसार उपसमिति संयोजक कमल ओलीले जानकारी दिनुभयो । बिहानैदेखि राति अबेरसम्म भक्तजनहरुले निकै चासोका साथ सहभागीता जनाउँदै मन प्रसन्न पारेर दिल खुलाएर दान गर्ने गरेकाले महायज्ञ आयोजकले अपेक्षा गरे अनुसार भक्तजनबाट दान संकलन भएको बताइएको छ ।
आध्यात्मिक र धार्मिक संस्कारको विकासका लागि महायज्ञका माध्यमबाट संकलित दानबाट संस्कार गृह निमार्णसंगै संस्कृति संरक्षण र सम्बद्र्धन गर्ने आयोजकको भनाई छ ।
स्थानीय टोल विकास संस्था, परिवार, व्यक्ति, भक्तजनहरुले स्वस्फूर्त रुपमा सहभागीता जनाउँदै भजन, कथा श्रवण गर्ने र गच्छे अनुसार दान गरेका महायज्ञ संचालक समिति संयोजक हरिप्रसाद पाण्डेयले बताउनुभयो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया पार्कमा दैनिक रुपमा प्रसिद्ध कथा वाचक कोमल उपाध्यायको रोचक कथावाचन सुन्न तथा सामाजिक कार्यमा आफुलाई समाहित गर्न भक्तजनहरु गर्मी मौसमको पर्वाह समेत नगरी दिनभर उपस्थित हुने गरेका थिए । भागवत सप्ताह समापन गरी बबई नदीमा बाजागाजासहित भव्य उपस्थितीका बीच बिहीबार बेलुकी फूलपाती बिसर्जन गरिएको छ ।
महायज्ञमा दैनिक रुपमा कथावाचनसँगै धार्मिक अनुष्ठान स्वरुप व्रतबन्ध, तुलादान, ब्राह्मण भोजन, लक्ष्यवर्तिका, अन्नदान, कलशदानका कार्यक्रम हुने गरेको थियो । अब शुक्रबार बिहान ८ बजे महायज्ञका औपचारिक समापन कार्यक्रम राखिएको महायज्ञ संचालक समिति संयोजक पाण्डेयले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad