Ad Area

दाङमा मस्जिद सञ्चालन सम्वन्धी विवादमा झडप,आधा दर्जन बढी घाइते


दाङ, ८ बैशाख । दाङको लमहीमा रहेको एक मस्जिद सञ्चालन सम्वन्धी दुई पक्षविच झडप हुँदा आठ जना घाइते भएका छन् । लमही नगरपालिका–५ स्थीत सुन्नी जामे मस्जिद सञ्चालन सम्वन्धी शुक्रवार दिउँसो दुई पक्षविच मस्जिदभित्रै विवाद हुँदा आठ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख पुष्पराज थापाले जानकारी दिनुभएको छ ।

मस्जिद सञ्चालनका लागि विवाद नमिलाएर पैसा उठाउन खोज्दा झडप भएको प्रहरी प्रमुख थापाले बताउनुभयो । ‘लामो समयदेखि मस्जिद सञ्चालन गर्ने नेतृत्व चयनका बारेमा विवाद रहिछ’,वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख थापाले भन्नुभयो,‘विवाद नमिलाएर पुनः पुरानो नेतृत्वले मस्जिद सञ्चालनका लागि पैसा उठाउन थालेपछि विवादका क्रममा झडप हुँदा आठ जना घाइते भएका हुन ।’ मस्जिदका अध्यक्ष जमात अलीको आजिना माग गर्दै अर्काे समूहले होहल्ला गरेपछि विवादका क्रममा झडप भएको थियो ।

प्रहरीका अनुसार झडपमा एक समूहका पाँच र अर्काे समूहका तीन जना गरी आठ जना घाइते भएका थिए । घाइते हुनेहरुमा लमही नगरपालिका–५ निवासी ६४ वर्षीय गुठे कुरेसी, सोही ठाउँ निवासी ३३ बर्षीय अरसद अलि, सवविर अलि, ५२ बर्षीय मोहम्मद कासिम, २९ बर्षीय सकिल अलि, ६५ वर्षीय दिल मोहम्मद मिया, २५ वर्षीय कमाल अलि, ४२ वर्षीय मोहम्मद याकदिन अलि रहेका छन् ।

झडपमा चक्कु र ईटा प्रहार भएको वडा प्रहरी कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो । घाइते मध्य चार जनाको लमही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्य एकजनाको टाउको गम्भीर चोट लागेको प्रहरीले बताएको छ । घट्नाबारे थप अनुसन्धान प्रहरीले गरिरहेको समेत वडा प्रहरी कार्यालय लमहीका प्रमुख थापाले बताउनुभएको छ ।

Blog Post Ad Blog Post Ad