Ad Area

‘आर्थिक विकासमा सहकार्य गर्न निजी क्षेत्र तयार’


दाङ, ११ बैशाख । देशको समृद्धिका लागि निजी क्षेत्र राज्यसँग सहकार्य गर्न तयार रहेको निजी क्षेत्रका अगुवाहरुले बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको १७औँ साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

सबै मिलेर देशको आर्थिक विकासमा अगाडि बढ्नुपर्ने भन्दै राज्यले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने वक्ताहरुको भनाइ थियो । आफूहरु राज्यका तीनवटै सरकारसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको समेत उनीहरुले बताएका थिए । तर राज्यको तर्फबाट निजी क्षेत्रसँग प्रभावकारीरुपमा समन्वय हुन नसकेको उनीहरुको गुनासो थियो । राज्यले व्यवसायीहरुलाई ढुक्क भएर लगानी गर्ने वातावरणसमेत निर्माण गर्न नसकेको निजी क्षेत्रका अगुवाहरुको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले समृद्धिको यात्रामा निजी क्षेत्र सँगसँगै अगाडि बढ्न तयार रहेको बताए । ‘हामी राज्य तथा हरेक क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार छौँ’, अध्यक्ष शर्माले भने । व्यवसायीहरु व्यवसायमा मात्र नभई सामाजिक जिम्मेवारी बहन गरेर अगाडि बढ्नुपर्ने बताए ।

‘हामी सामाजिक उतरदायित्व बहन गर्दै अगाडि बढ्दै आएका छौँ’, उनले भने– ‘आर्थिक विकासका लागि निजी क्षेत्र थाक्दैन हामी निरन्तर अगाडि बढ्छौँ ।’ राजनीतिक दलहरुले पनि निर्वाचनमा आर्थिक मुद्दालाई प्राथमिकता दिएर अगाडि जानुपर्ने उनले बताए । आर्थिक क्षेत्रको विकास हुन सकेमा मात्र देशको विकास गर्न सकिने उनको भनाइ रहेको थियो । ‘राजनीतिक दलहरुले निर्वाचनमा आफ्ना घोषणा–पत्रमा आर्थिक मुद्दालाई प्राथमिकता दिनुपर्दछ’, उनले भने ।

 जिल्ला अधिकारी हिरालाल रेग्मीले निजी क्षेत्रले देशको विकासमा सहयोग पु¥याएको बताए । जिल्लामा पूर्वाधारको विकासमा उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो । ‘निजी क्षेत्र पर्यटन तथा कृषिको विकासमा अगाडि बढ्न आवश्यक छ’, प्रमुख जिल्ला अधिकारी रेग्मीले भने । औद्योगिक क्षेत्रको विकासमा अगाडि बढेमा जिल्लामा नै रोजगारीको अवसर दिन सकिने उनको भनाइ रहेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका निवर्तमान उपाध्यक्ष हेमराज बन्जाडेले राज्यले निजी क्षेत्रलाई सम्मानित र उत्साहित बनाउने नीति ल्याउनुपर्ने बताए । यस प्रकारको नीति राज्यले ल्याएमा निजी क्षेत्र लगानी गर्नका लागि अगाडि बढ्नेसमेत उनले बताए । ‘राज्यले सुरक्षा ग्यारेन्टीको वातावरण बनाउनुपर्दछ’, बन्जाडेले भने ।

Blog Post Ad

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जिल्लाको विकासका लागि एयरपोर्टको नियमित सञ्चालन हुनुपर्ने बताए । अहिले तुलसीपुरमा रहेको एयरपोर्टको धावनमार्गको विस्तार गर्न राज्यलाई दबाव दिनका लागि निजी क्षेत्र अगाडि बढेको र दबावस्वरुप जिल्लाका निजी क्षेत्रहरु मिलेर खुत्रुके अभियान सुरु गरेको बताए ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका समन्वय समितिका रेशम बिसी, गढवा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष युवराज पोख्रेल, दाङ देउखुरी होटेल व्यवसायी समितिका अध्यक्ष दिपेन्द्र पुन, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, दाङ चेम्बर अफ कमर्शका अध्यक्ष बलदेव योगी, सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकी, संघका निवर्तमान सचिव माया पोख्रेल, नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष सविन प्रियासनलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वार्षिक प्रतिवेदन संघका महासचिव महेन्द्र बुढाथोकी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुशील पोख्रेलले प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीले गरेका थिए । कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकी र सचिव नरेशकुमार श्रेष्ठले गरेका थिए ।

विभिन्न व्यक्तिलाई पुरस्कृत तथा सम्मान

संघको साधारणसभाको अवसरमा उद्योगी, व्यवसायी तथा विभिन्न माध्यमबाट संघको विकासमा सहयोग पु¥याउनेलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो । उद्योगी आरती शाह, व्यवायी सीताराम बन्जाडे, केशव पन्त, पत्रकारिता क्षेत्रबाट आदिम केसी, कर्मचारी गणेश सुनारलाई नगदसहित सम्मान–पत्र प्रदान गरिएको थियो । त्यसैगरेर कोभिडको समयमा अक्सिजन व्यवस्थापनमा सहयोग पु¥याउनेहरुलाई समेत सम्मान गरिएको थियो । संघले साधारणसभाको अवसरमा आयोजना गरेको विभिन्न प्रतियोगीताका विजेताहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

Blog Post Ad Blog Post Ad