बोल्ने मान्छे खाजा खान आए भने भाषाका कारण समस्या हुन्छ
रञ्जिता अधिकारी
दाङ, १३ बैशाख । सानो सटरमा खाजाघर, हसिलो अनुहार भएका दुई किशोरी, मान्छे देख्दा खिसिक्क हाँस्छन् । बोल्नलाई मुख खोल्नुको साटो हातको ईसाराले शब्द ब्यक्त गर्छन् । यो दैनिकी बिहान पाँच बजेदेखि बेलुका ७ वजेसम्म चल्छ । घोराही उपमहानगरपालिका–१७ वर्गद्धी घर भएका रीता चौधरीले घोराही– १५ जिल्ला वन कार्यालय नजिकै करीव एक लाख रुपैयाँको लगानीमा खाजाघर संचालनमा ल्याउनुभएको छ । सांकेतिक भाषा तथा खाजा घरमा व्यापार राम्रो भएको छ । हिम्मत गरेर व्यापार गरेका छन्, छिमेकीहरु अचम्म परेर हेरेको हेर्यै गर्छन् ।
यो सामान्य व्यक्तिका लागि सहज काम हो । जसले दैनिक जीवनमा यस्ता काम सहजै गर्न सक्छ । ३३ वर्षीया रीता चौधरीले गर्दै आएको यो काम अरुका लागि प्रेरणाको श्रोत मान्न सकिन्छ । रीता बोल्न र सुन्न सक्नुहुँदैन । किनकी उहाँ जन्मजात बहिरा हुनुहुन्छ । खाजाको परिकार पाउरोटी, वेफ वर्गर, वेफ पिज्जा, चटपटे, पिरो लाफिङ, दही पुरी, चिया कफी, फलफूल, दही लस्सी आदि नास्ताका परिकारहरु बनाएर बिक्री हुने गर्दछ । सबैलाई सजिलो होला भनेर दररेट पनि भित्तामै देखिने गरी टाँसिएको छ ।
बोल्ने मान्छे खाजा खान आए भने भाषाका कारण समस्या हुन्छ । आफू जस्तै भाषा भएकाको सजिलै कुरा बुझ्ने भएकाले सजिलो भएको छ । कापीमा लेखेर भएपनि आएका ग्राहकको सेवा गर्ने गरेको उहाँको भनाई छ । रीताकी आमालाई यो पेशा मन परेको छैन । पढे लेखेको छोरी पढाउने पेसा गरे हुन्थ्यो भन्नुहुन्छ, तर रीतालाई अर्काको काम गर्न भन्दा आफ्नै काम गर्न मन परेकोले यता आएको बताउनुहुन्छ ।
बिहान ५ बजे उठेदेखि शुरु हुन्छ, उहाँको दैनिकी । उठ्नासाथ आलु उसिन्यो, केराउ पकायो, ग्राहकका लागि चाहिने अरु थुप्रै खानेकुराको जोहो गर्न व्यस्त भयो । तालिम, गोष्ठी, ज्याला मजदुरी गरेर जम्मा गरेको पैसाबाट व्यावसाय सुरु भएको होे । उहाँको साथमा काम गर्ने पनि बहिरा नै छन् । रीताले आर्थिक लगानी गरेपनि अरु साथीले उहाँलाई खाजा पकाउन सीप सिकाउने, सहयोग गर्ने काम गर्दै आएका छन् । बहिरा व्यक्तिले यसरी व्यवसाय गरेर उदाहरणीय काम गरेको देख्दा उहाँका वरपरका अरुले प्रशंसा गर्ने गरेका छन् । उहाँका लागि यी सबै काम सांकेतिक रुपमा गर्नुपर्छ ।
रीता घरकी जेठी छोरी, घरको अभिभावकीय जिम्मेवारी पनि छ । बुवाको दुई वर्षअघि निधन भयो । आमाले मात्रै घरको सबै जिम्मेवारी धान्न सक्ने अवस्था छैन । एक भाइ शारीरिक अपांग छन् । एक बहिनी र अरु दुई भाइ सपाङ्ग भएपनि सानै छन् । शारीरिक रुपमा सपाङ्ग भएकाहरु के गर्ने भनेर अन्यौल भईरहेका, बेरोजगार बसेका धेरै देख्न र सुन्न पाईन्छ तर रीता भने यसअघि पनि घरको काम गर्ने, रंगरोगन गर्ने या कुनै उद्यमशीलताका काममा आवद्ध हुनेअवसर मिलिरहेको थियो ।
लकडाउन अघि फलफूल बेचेको बताउने उहाँले त्यसबाट आफुलाई सोँचे जस्तो प्रतिफल मिल्न नसकेको बताउनुहुन्छ । ‘मैले बोल्न नजान्ने, अरुले कुरा नबुझ्ने भयो, फलफूल बिक्रि गर्न कठिन भयो,’ सांकेतिक भाषामै रीताले भन्नुभयो । कामलाई उच्च सम्मान गर्ने उहाँको बानी छ । भ्याएसम्म सबै काम आफै गर्नुहुन्छ । उहाँको खाजा घरमा बिहान कफी चिया खाने ग्राहक आउँछन् । दिउँसो खाजा खानेहरु आउँछन् ।
बहिरा व्यक्तिले खाजा पसल खोलेको थाहा पाएपछि सरकारी कर्मचारी पनि उहाँको खाजाघरमा पुग्ने गरेका छन् । दिउँसो र बेलुकी पानी पुरी, चाट, चाउमिनलगायत अरु खाजा खान आउने पनि बढेको उहाँको भनाई छ । रीताले पकाउन पनि आफै सिक्नुभएको हो, कतिपय कुरा बनाएको देखेर अनि कतिपय कुरा युट्यबमा हेरेर बनाउन सिकेको उहाँ बताउनुहुन्छ । बोल्न र सुन्न नसक्ने रीताले सामाजिक संजाल फेसबुक लाईभमार्फत आफुले खाजाघरबाट प्रदान गर्ने सेवाका बारेमा सांकेतिक रुपमा जानकारी गराउने गर्नु भएको छ । जसको माध्यमले धेरैेले उहाँको उद्यमको बारेमा जान्ने र त्यहाँ गएर सेवा लिने गरेका छन् ।
व्यवसायका लागि लिएको खाजाघरको मासिक तीन हजार भाडा तिर्नुपर्छ । बिहान ५ बजेदेखि राति ९ बजेसम्मको दैनिकीमा उहाँले करीव हजार–पन्ध्र सयको कारोबार गर्ने गरेको बताउनुहुन्छ । यो उहाँका लागि अपेक्षा गरे अनुसार कै आम्दानी हो । उहाँलाई सघाउन बहिरा साथीहरु फुर्सद भएको बेला आउने गर्छन् । २०७८ पुसको मध्यसाताबाट योजनालाई सार्थक बनाउन प्रयास गरेको र नयाँ वर्षको अवसर पारेर विधिवत रुपमा सांकेतिक भाषा तथा खाजाघर संचालनमा ल्याउनुभएको उहाँले बताउनुभयो ।
घोराही १७ की सरस्वती चौधरी, बंगलाचुलीकी विष्णु सुनार उहाँका साथी हुन् । व्यावसायिक रुपमा चौधरी र सुनारलाई साथमा राख्नुभएको छ । आफुसँग खाजाघरको सरसफाई गर्न, काममा सघाउन घोराही– २ रामपुरकी आशा पौडेललाई पनि साथैमा राख्नु भएको छ । आशा पनि बहिरा नै हुनुहुन्छ । ‘काम भन्ने कुरा सानो ठूलो हुँदैन, श्रम गरेर खानलाई के को लाज ? उहाँले भन्नुभयो ‘हाम्रो समाजको धारणा नै गलत छ, अझ हामी जस्ता बहिरालाई त झन तल्लो स्तरले हेर्ने गरिन्छ ।’
खासमा रीता बहिरा भएर पनि काममा डटेर लाग्ने एक अथक परिश्रमी युवा हुन्नुहुन्छ । जसले आफ्नो कामबाटै भविष्य खोजी रहनुभएको छ । केन्द्रीय बहिरा क्याम्पस नक्साल काठमाडौँबाट बिएड उत्तीर्ण गरी सक्नुभएकी रीता सांकेतिक भाषा प्रशिक्षणको काम पनि गर्नुहुन्छ । जिल्लामा रहेको राप्ती बहिरा संघमा आवद्ध उहाँ संस्थागत सहयोग भने पाउन नसकेकोमा दुखी हुनुहुन्छ । ‘जिल्लामा रहेका बहिराहरुको अभिभावक संस्थाले हामीलाई भौगोलिक नजरले हेर्यौ की भन्ने लाग्छ, मैले संस्थाका आधिकारिक व्यक्तिलाई आफ्नो उद्यमको बारेमा जानकारी गराएको थिएँ, तर हौसला दिन कोही पनि आउनु भएन,’ उहाँले दुखेको पोख्दै भन्नुभयो ‘म हिजो पनि काममै थिएँ आज पनि छु, र भोलि पनि रहेछु । उहाँहरुको हौसला पाए अझ आभारी हुने थिएँ ।’
भाषा प्रशिक्षकका रुपमा सँधैभर उहाँलाई काम गर्ने मौका मिल्दैन, बहिरा संघको कार्यालय तुलसीपुरमा छ, अधिकांश कार्यक्रम उतैतिर हुन्छ, त्यसैले घोराही र देउखुरी क्षेत्रका बहिराहरु संस्थाको छत्रछाँयामा समान ढंगले पर्न नसकेको उहाँको भनाई छ । आफ्नो श्रम, इमान्दारितासँगै भाग्यले साथ दिँदै गएमा भोलिका दिनमा उहाँलाई भव्य होटल संचालक बन्ने ईच्छा छ । त्यसका लागि आफुले अहिलेबाटै योजनावद्ध रुपमा काम गरिरहेको बताउनुहुन्छ । ‘दृढसंकल्पका साथ मन वचन र कर्मले काम गर्यो भने कसो नहोला र ? उहाँले आत्मविश्वास जगाउँदै भन्नुभयो ‘बहिराहरुले पनि केही गर्न सक्छन् भनेर यो समाजलाई देखाउनुछ, जसबाट अरुले पनि पाठ सिकुन्,’ उहाँले भन्नुभयो ।
जिल्लामा मात्रै करीव ३ सय भन्दा बढी बहिरा व्यक्ति रहेको उहाँको भनाई छ । तर, यसरी लगानी गरेर व्यावसायिक रुपमा लागेको भने रीता मात्रै उदाहरणिय पात्र हुनुहुन्छ । कतिपय बहिरा पुरुषहरु होटलहरुमा कार्यरत छन् ।
आगामी दिनमा पनि आफूहरुको सम्पर्क भाषालाई सबैले बुझ्न र बहिराहरुलाई आफ्नो दैनिकी चलाउन, मनका कुृरा अरु समक्ष राख्न कति समस्या हुँदो रहेछ भन्ने बोध गरुन् भनेर खाजाघरमा आउनेलाई सांकेतिक भाषाको महत्व दर्शाउने गर्नुभएको छ । जसले गर्दा सपाङ्ग र बालबालिकाहरु उहाँको खाजाघरमा सांकेतिक भाषाका बारेमा जानकारी प्राप्त गर्न र उहाँले पकाउने स्वादिष्ट परिकारको भरपूर स्वाद लिन जाने गरेका छन् ।