Ad Area

गठबन्धनको अलमलले नामावली प्रकाशनमा ढिलाई, २ हजार ४ सय १२ जनाको उम्मेदवारी


घोराही, १३ बैशाख । प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले उम्मेदवारको अलमलका कारण नामावली प्रकाशनमा ढिलाई भएको जनाएको छ । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सोमबार नै नामावली प्रकाशन गर्नुपर्ने भएपनि प्रमुख राजनीतिक दलहरुले अबेरसम्म उम्मेदवारी दर्ता गराउन अलमल गर्दा मंगलबार बिहानसम्म दल दर्ता भएको निस्सा दिन समय लागेकोे मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

उसो त, एकै पटक दलका उम्मेदवार दर्ताका लागि उपस्थित भएपछि सर्भरमा आएको समस्याले नामावली प्रकाशनमा समस्या भएको हुँदा उम्मेदवारहरुको नामावली प्रकाशन गर्न मंगलबार बेलुकी मात्रै सम्भव भएको उनको भनाई छ । ‘दलका तर्फबाट टिकट पाएका उम्मेदवार आआफ्नै ढंगले उम्मेदवारी दिन आए, पछि फेरि तिनै उम्मेदवारको नाममा गठबन्धनबाट नाम दर्ता गर्ने काम भयो, यसले झन अलमल र ढिलाई भयो,’ मुख्य निर्वाचन अधिकृत थापाले भने, ‘एक पटक दर्ता भएको विवरण हटाउन नमिल्ने भएपछि गठबन्धनबाट पनि उही व्यक्तिको नाम उल्लेख भएर आएको ठाउँमा उनीहरुबाटै प्रमाणित गरी हटाउँदा समय लाग्यो ।’

निर्वाचनको मनोनयन दर्ता भएपछि उम्मेदवारको नामावली प्रकाशन गर्ने समय सोमबार बेलुकी नै राखिएको थियो । तर, मंगलबार बेलुकी करीव साढे ७ बजेपछि मात्रै उम्मेदवारी दिएकाहरुको पहिलो चरणमा जिल्लाभरको प्रारम्भिक संख्या सार्वजनिक गरिएको छ । विशेष गरी जिल्लाको लमही नगरपालिका र तुलसीपुर उपमहानगरपालिकाबाट उम्मेदवारको विवरण आउन ढिलाई भएको थियो । ‘सोमबार बेलुकी ५ बजेसम्म लाईनमा बसेका उम्मेदवारको मनोनयन गरेका हौँ, तर कम्प्युटरमा सबै विवरण राख्दा राख्दै समय लाग्यो,’ उनले भने, ‘अब जिल्लाको यकिन विवरण आएको छ, अरु थप प्रकृया अघि बढाउँछौँ ।’

जिल्ला भरको दश वटा पालिकामा ५ सय २० जना प्रतिनिधी चयनका लागि निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २ हजार ४ सय १२ जनाको उम्मेदवारी परेको छ ।

जिल्लाका १० पालिका र एक सय वडामा ५ सय २० जना प्रतिनिधी चयनका लागि २ हजार ४ सय १२ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जनाएको छ । दाङमा २९ वटा दलहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । प्रमुखमा केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसैगरी वडा अध्यक्ष र सदस्यहरुमा धेरैले स्वतन्त्र अर्थात बागी उम्मेदवारी दर्ता गराएका छन् ।

Blog Post Ad

लुम्बिनी प्रदेश निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाको घोराही उपमहानगरपालिकामा मेयर पदका लागि १५ जना, उपमेयर पदका लागि ८ जना, वडा अध्यक्ष पदका लागि १ सय ८ जना, सदस्य पदका लागि १ सय ६१ जना, महिला सदस्य पदका लागि ७८ जना र दलित महिला सदस्यका लागि ७० जना गरी कुल ४ सय ४० जनाको उम्मेदवारी परेको छ ।

तुलसीपुर उपमहानगरपालिकामा मेयर पदका लागि १२ जना उपमेयर पदका लागि ९ जना, वडा अध्यक्ष पदका लागि १ सय २३ जना, सदस्यका लागि २ सय ८ जना, महिला सदस्यका लागि ९८ जनजना र मलिा दलित सदस्यका लागि ८२ जना गरी कुल ५ सय ३२ जनाको उम्मेदवारी परेको छ ।

जिल्लाको लमही नगरपालिकाको मेयर पदका लागि ८ जना, उपमेयर पदका लागि ८ जना, वडा अध्यक्ष पदका लागि ५२ जना, सदस्यका लागि ९१ जना, महिला सदस्यका लागि ४५ जना र महिला दलित सदस्यका लागि ३८ जना गरी कुल २ सय ४२ जनाको उम्मेदवारी परेको छ ।

जिल्लाको दंगीशरण गाउँपालिकाको अध्यक्ष पदका लागि १० जना, उपाध्यक्ष पदका लागि ६ जना, वडा अध्यक्ष पदका लागि ३८ जना, सदस्यका लागि ५७ जना, महिला सदस्यका लागि २७ जना र महिला दलित सदस्यका लागि २४ जना गरी कुल १ सय ६२ जनाको उम्मेदवारी परेको छ ।

गढवामा अध्यक्ष पदका लागि ९ जना, उपाध्यक्ष पदका लागि ८ जना, वडा अध्यक्ष पदका लागि ४२ जना, सदस्य पदका लागि ७४ जना, महिला सदस्य पदका लागि ३१ जना र दलित महिला सदस्य पदका लागि ३१ जना गरी कुल १ सय ९५ जनाको उम्मेदवारी परेको छ ।

जिल्लाको बंगलाचुली गाउँपालिकामा अध्यक्ष पदका लागि ४ जना, उपाध्यक्ष पदका लागि ४ जना, वडा अध्यक्ष पदका लागि २३ जना, सदस्य पदका लागि ४२ जना, महिला सदस्यका लागि २१ जना र महिला दलित सदस्यका लागि २१ जना गरी कुल १ सय १५ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

बबई गाउँपालिकाको अध्यक्ष पदका लागि ७ जना, उपाध्यक्ष पदका लागि ६ जना, वडा अध्यक्ष पदका लागि ४० जना, सदस्यका लागि ५८ जना, महिला सदस्यका लागि २६ जना र महिला दलित सदस्यका लागि २० जना गरी कुल १ सय ५७ जनाको उम्मेदवारी परेको छ ।

राजपुर गाउँपालिकाको अध्यक्ष पदका लागि ७ जना, उपाध्यक्ष पदका लागि ६ जना, वडा अध्यक्ष पदका लागि ४० जना, सदस्यका लागि ६९ जना, महिला सदस्यका लागि ३४ जना र महिला दलित सदस्यका लागि ३२ जना गरी कुल १ सय ८८ जनाको उम्मेदवारी परेको छ ।

राप्ती गाउँपालिकाको अध्यक्ष पदका लागि ८ जना, उपाध्यक्ष पदका लागि ६ जना, वडा अध्यक्ष पदका लागि ५० जना, सदस्यका लागि ८९ जना, महिला सदस्यका लागि ४१ जना र महिला दलित सदस्यका लागि ३९ जना गरी कुल २ सय ३३ जनाको उम्मेदवारी परेको छ ।

शान्तिनगर गाउँपालिकाको अध्यक्ष पदका लागि ७ जना, उपाध्यक्ष पदका लागि ४ जना, वडा अध्यक्ष पदका लागि ३५ जना, सदस्यका लागि ५४ जना, महिला सदस्यका लागि २७ जना र महिला दलित सदस्यका लागि २१ जना गरी कुल १ सय ४८ जनाको उम्मेदवारी परेको छ ।

समग्रमा जिल्लाभरबाट तहगत पदमा सबैभन्दा धेरै सदस्य पदमा उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत थापाले बताए । उनका अनुसार, दश वटै पालिकामा गरेर प्रमुख वा अध्यक्ष पदमा कुल ८७ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुख वा उपाध्यक्ष पदमा ६५ जनाको उम्मेदवारी परेको छ । यसैगरी, वडा अध्यक्ष पदमा ५ सय ५१ जनाको, सदस्यमा ९ सय ३ जनाको, महिला सदस्यमा ४ सय २८ जनाको र दलित महिला सदस्यमा ३ सय ७८ जनाको उम्मेदवारी परेको छ ।

आयोगको कार्यतालिकाअनुसार मंगलबार उम्मेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय तोकिएको थियो । आयोगले वैशाख १४ र १५ गते मनोनयनपत्र जाँचबुझ गर्ने र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्नेछ ।

Blog Post Ad Blog Post Ad