महायज्ञको आम्दानी–खर्च १६ गते सार्वजनिक गरिने

घोराही, १४ बैशाख । बैशाख पहिलो साता सम्पन्न श्रीमद भागवत ज्ञान सप्ताह महायज्ञको आम्दानी–खर्च बैशाख १६ गते सार्वजनिक गरिने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया पार्कमा संस्कार गृह निर्माण गर्ने लक्ष्यका साथ संचालित महायज्ञबाट उठेको दान रकम बारे जानकारी गराउने तथा महायज्ञ सफल बनाउन भूमिका खेलेका सबैलाई विशेष सम्मान गरिने भएको छ ।
पछिल्लो समय भौतिवादमा मानिस व्यस्त हुँदै जाँदा आफ्ना रीतिरिवाज, संस्कार, परम्परा भुल्दै जान थालेपछि यसकोृ संरक्षण गर्न र असल नागरिक बनाउन संस्कार गृह निर्माण गर्नुपर्ने आवश्यक महसुस गरेर सामाजिक अभियान स्वरुप महायज्ञ संचालन गरिएको आयोजकको भनाई छ ।
श्रीमद भागवत ज्ञान सप्ताह सचिवालय संयोजक हरिप्रसाद पायडेयले बुधबार एक सूचना जारी गर्दै बैशाख १६ गते बिहान ११ बजे महायज्ञ संचालित स्थान घोराही १७ को शिवपार्वती तथा राधाकृष्ण मन्दिरमा कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभएको छ ।
बैशाख १ गतेदेखि ८ गतेसम्म भएको महायज्ञमा स्थानीय टोल विकास संस्था, व्यक्ति, परिवारलगायतको उत्साहजनक सहभागीता रहेको थियो । महायज्ञमा ५१ लाख बढी नगद दान संकलन भएको बताइएको छ ।