दाङमा दशैंका लागि नयाँ नोट आएन, ग्राहक निराश !

घोराही, २५ असोज । दशैं तिहार जस्ता ठूला चाडमा मानिसहरु नयाँ नोटको बढी खोजी गर्छन् । नयाँ नोट आफ्ना ग्राहकले पाऊन् भन्दै नेपाल राष्ट्र बैंकले यो पटक करिव एक महिना अघिबाट विवरण गर्न शुरु गरेको थियो । तर, दशैं तिहार लक्षित नयाँ नोट दाङमा भने आई पुगेको छैन । नेपाल राष्ट्र बैंकले यस वर्ष पाँच, दश, बीस, पचास र सय रुपैयाँको २५ अर्ब रुपैयाँभन्दा बढीको नयाँ नोट बजारमा पठाएको जनाए पनि जिल्लामा नयाँ नोट अभाव छ ।
सर्वसाधारणले ५ देखि एक सय रुपैयाँसम्मका करिव ९ अर्ब रुपैयाँ र बैंक तथा वित्तीय संस्थाले ५ सय र हजार दरका करिव १६ अर्ब रुपैयाँ राष्ट्र बैंकबाट लिएका छन् । राष्ट्र बैंकले गत भदौ अन्तिम सातादेखि बैंकलाई र असोज ४ देखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन शुुरु गरेको बताउँदै आएको छ । आज सोमबारसम्म नयाँ नोट वितरण गर्ने योजनाका साथ राष्ट्र बैंकले देशभरका बैंक तथा वित्तिय संस्थामा नयाँ नोट पठाएको दावी गर्दै आएको छ । दाङमा नेपाल बैंक लिमिटेडले नयाँ नोट नल्याए पनि केही निजि बैंकहरुले आफ्ना कर्मचारीलाई भनेर सिमित रुपमा नयाँ नोट मगाएको बुझिएको छ ।
दशैं र तिहारका लागि भन्दै अहिलेसम्म करिव २५ अर्ब रुपैयाँ बराबर नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको बताइएको छ । राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले गरी उक्त परिमाणमा नयाँ नोट सटही सुविधा लिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।
जिल्लामा रहेको नेपाल बैंक लिमिटेडले यो वर्ष नयाँ नोट नआएको प्रष्ट पारेको छ । नयाँ नोट मागिएकोमा केन्द्रले नपाएको नेपाल बैंक लिमिटेड घोराही शाखा प्रबन्धक सरोज प्रसाद उपाध्यायले जानकारी दिए । ‘राष्ट्र बैंकले नयाँ नोट पठाउने हो, हामीले माग पनि गरेको हो तर माथिबाटै चासो भएन,’ शाखा प्रबन्धक उपाध्यायले भने, ‘चासो नभएपछि हामीले पनि थप पहल गरेनौँ, यो पटक यस्तै भयो ।’
जिल्लामा आवश्यक पर्ने नयाँ नोटका लागि नेपालगञ्ज गएर नोट ल्याउन सकिने केन्द्रबाट समन्वय भएपनि आफुले लामो बाटोमा जोखिम लिन नचाहेको प्रष्ट पारे । जोखिम लिएर नयाँ नोट बाड्नु भन्दा बैंकमा रहेका पुरानै नोट विवरण गरिरहेको बताए । पुराना नोटमा पनि १०, २०, ५० र सयका नोट पनि प्रसस्त नरहेको जानकारी गराए ।
दाङका अन्य नीजि बैंकहरुले पनि लगातारको प्रयासमा नयाँ नोट प्रसस्त रुपमा जिल्लामा नआएको बताएका छन् । एनआईसी एशिया लमही शाखा प्रबन्धक सुरज श्रेष्ठले जिल्लामा यो पटक नयाँ नोट सिमित मात्रै आएको बताए । ‘ग्राहकले नयाँ नोट चाहियो भन्छन् तर हामीसँग नयाँ नोट नभएपछि पुरानै नोट दिएर पठाउने गरेका छौँ,’ उनले भने ।
राष्ट्र बैंकले यो वर्षसर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण गर्ने गरी नियम बनाएको छ । तर, जिल्लामा नयाँ नोट नआउँदा सेवाग्राही निराश बनेका छन् । दशैँको समयमा बैंकमा हुने चापले अन्य बैंकमा खाता भएका सेवाग्राही पैसा झिकेर सटहीका लागि नेपाल बैंक पुगे पनि नेपाल बैंकमा रकम नपाउँदा निराश भएको घोराही १५ का लक्ष्मण न्यौपानेले दुखेसो पोखे ।
नयाँ नोटका लागी बैंकमा ग्राहकहरुको भिड लाग्ने भए पनि नहुँदा समस्या भएको माछापुच्छ्रे बैंक घोराही शाखाले जनाएको छ । बैंकमा पर्याप्त पैसा मौज्दात रहे पनि नयाँ नोट नपठाएको हुँदा ग्राहकको माग पूरा गर्न नसकेको बैंकहरुले बताउने गरेका छन् ।
जिल्लामा ४ दर्जन बढी बैंकहरु छन् । सबै बैंकमा अहिले अवस्था यही रहेको छ । दशैं तिहारमा टीका लगाएर दक्षिणाका रुपमा नयाँ नोट दिने प्रचलन रही आएको छ । यस्तै, चाड पर्वका बेला बैंकले पनि नयाँ नोट ग्राहकहरुका लागि भन्दै उपलब्ध गराउने गरेको छ । तर, यस पटक दाङका नागरिक नयाँ नोट पाउनबाट वञ्चित भएका छन् ।