Ad Area

‘बजारमा भीडभाड बढ्यो तर बढेन व्यापार’


अमरराज आचार्य

दाङ, २५ असोज । कोभिड–१९ को असरले गर्दा २ वर्षसम्म थला परेको आर्थिक क्षेत्र चाडवार्डले चलायमान हुने आशा गरिएको थियो तर चाडपर्वले अर्थ चलायमान हुन नसक्ने देखिएको छ । बजारमा भीडभाड उत्साहजनक देखिए पनि व्यापार व्यवसाय भने उक्लन सकेको देखिँदैन । बजार विश्लेषकहरुले यसलाई क्रयशक्तिमा भएको गिरावट भनेका छन् ।

‘अघिल्लो दशैमा परारसालको व्याकप थियो, अहिले व्याकप छैन, त्यसैले बजारमा देखिएको भीडले व्यवसायीहरुको व्यापार उत्साहलाई सम्बोधन गर्न सकेको छैन’, तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विनिल केसीले भने ।

खासमा अघिल्लो दशैताका मुलुकमा वैदेशिक रोजगारबाट रेमिट्यान्स केही कम भए पनि आइरहेको थियो, सानातिना विकास निर्माणका काम पनि भएका थिए, तर यो बर्ष रेमिट्यान्समा गिरावटसँगै आर्थिक क्रियाकलाप पनि घट्दो दरमा रहेको उनको भनाइ थियो ।

त्यसैगरी विकास निर्माणकै कुरा गर्ने हो भने पनि यो बर्षको बजेट विशेषगरी विकास निर्माणमा खर्च हुन सकेन, कोभिड व्यवस्थापनमै खर्च भयो, जसका कारण बजारमा आर्थिक गतिविधिहरु बढ्न सकेनन् । अर्को कुरा दुई बर्षदेखिको कोरोना भाइरसको संक्रमणले आम मानिसमा घटाएको उत्साह अझै पूर्वावस्थामा फर्कन पनि सकेको छैन ।

चाडपर्व सुरु भइसक्दा समेत बजारमा व्यापार व्यवसाय नभएको अन्य व्यवसायीहरु पनि बताउँछन् । जसले गर्दा चलायमान हुन नसक्ने बताइएको छ । वर्ष भरीमा धेरै कारोबार हुने चाडपर्वमा पनि व्यापार हुन नसकेको व्यवसायीहरु बताउँछन् ।

Blog Post Ad

कोभिडको कारण धेरैले रोजगारी गुमाएको तथा नागरिकहरुसँग खर्च गर्नका लागि रकम समेत हुन नसक्दा व्यापार व्यवसाय घटेको व्यवसायीहरु बताउँछन् । जिल्लाका सबै बजारहरुमा उस्तै अवस्था रहेको व्यवसायीहरुको भनाइ रहेको छ । जिल्लाका मुख्य बजार घोराही, तुलसीपुर, लमही, नारायणपुर, भालुवाङ, हापुरे, गढवा बजारको उस्तै बताइएको छ । चाडपर्वमा बढी भीडभाड हुने पसलहरुमा पनि भिडभाड देखिँदैन ।

कोभिड–१९ को कारण गत वर्षभन्दा वातावरण केही सहज भए पनि व्यापार व्यवसाय भने बढ्न नसकेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताए । ‘गत वर्षभन्दा वातावरण सहज भए पनि व्यापार बढेको छैन’, अध्यक्ष बुढाथोकीले भने । कोभिडले गर्दा व्यापार व्यवसाय धराशायी भएको उनको भनाइ रहेको छ ।

व्यापार व्यवसाय पहिलेको लयमा फर्कनका लागि केही समय लाग्ने उनी बताउँछन् । ‘बजारमा केही चहल–पहल बढेको देखिए पनि व्यापारमा बृद्धि हुन सकेको छैन’, अध्यक्ष बुढाथोकीले भने । धेरै व्यापार हुने समयमा नै व्यापार नहुँदा व्यवसायीहरु मारमा परेका छन् ।

चाडवार्डको समयमा हुनुपर्ने जसरी व्यापार व्यवसाय हुन नसकेको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिए । ‘चाडपर्वमा केही बढेको छ तर यस समयमा हुनुपर्ने जसरी हुन सकेको छैन’, अध्यक्ष खनालले भने । कोभिडको संक्रमण कम हुँदै गएसँगै व्यापार व्यवसाय पनि बृद्धि हुँदै गएको उनको भनाइ रहेको छ । ‘पछिल्लो समयमा केही सुधार हुँदै गएको पाएका छौँ’, अध्यक्ष खनालले भने ।

बजारमा व्यापार व्यवसाय वढाउन विभिन्न गतिविधिहरुसमेत सञ्चालन गरिँदै आएको उनको भनाइ रहेको छ । जसले गर्दा व्यवसाय बढाउन सहयोग पुगेको खनाल बताउँछन् । तीनै तहका सरकारले विकास बजेट खर्च गर्न सकेको भए आन्तरिक रोजगारीको अवस्थामा पनि सुधार आउन सक्थ्यो, तर त्यो नहुँदा नागरिकहरुको क्रयशक्ति पनि घटेको छ ।

सरकारले लकडाउन र निषेधाज्ञा खुकुलो बनाएर आर्थिक गतिविधि बढाउन प्रयास नगरेको भने होइन । तर तीव्ररूपमा फैलिएको कोरोनाले परिस्थिति गम्भीर बनाएको छ । कोरोना प्रभावबाट बाहिर आउन अझै दुई तीन वर्ष लाग्न सक्ने व्यापारी व्यवसायी बताउँछन् । कोरोनाका कारण विगतमा ठूलो लगानी गरेका व्यापारी चिन्तित बनेका छन् । सोचेजस्तो व्यापार नभएकाले बैंक र फाइनान्सको किस्ता कसरी तिर्ने भन्ने समस्या उनीहरूमा देखिएको छ ।

Blog Post Ad Blog Post Ad