Ad Area

एमालेको पक्षमा जनलहर : महासचिव पोख्रेल


दाङ,१५ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पाँच दलीय गठबन्धनसँग सरकार चलाउने अनुभव नभएको बताएका छन् । नेकपा एमाले राजपुर गाउँपालिका कमिटीले बेलामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले केपी ओली नेतृत्वको सरकार हँुदा देश ठीकठाक अवस्थामा चलेको तर, अहिलेको सरकारले देशको अवस्था विगारेको दावी गरे ।

‘पाँच दलीय गठबन्धन सरकार चलाउन आएका होइनन्, यिनहरु देश खोक्रो बनाउन आएका हुन्’ उनले भने– ‘अर्थमन्त्रालय सेटिङ्गमा चलेको छ । हामीले सरकार छाड्दा धनात्मक अवस्थामा देश थियो । अहिलेको सरकारले देशलाई ऋणात्मक अवस्थामा पराएको छ ।’ उनले एमालेको पक्षमा देशभर जनलहर देखापरेको समेत बताए ।

राजपुर गाउँपालिका कमिटीका अध्यक्ष हेमकुमार जिसीको अध्यक्षतामा चुनावीसभा भएको हो । कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्षमा कुलराज गिरी, उपाध्यक्षमा सीता यादवलगायत १ देखि ७ वडासम्मका उम्मेदवारहरुको परिचय गराइएको थियो । त्यसैगरी पार्टी महासचिव पोख्रेलले गढवामा भएको चुनावी सभालाई समेत सम्बोधन गरेका थिए । गाउँपालिका कमिटीले गढवामा चुनावीसभा सम्पन्न गरेको हो ।

गाउँपालिका कमिटीका अध्यक्ष बावुराम अधिकारीको अध्यक्षतामा भएको चुनावी सभामा गढवा गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षमा सहजराम यादव, उपाध्यक्षमा सीता चौधरी र वडा नं. १ देखि ८ सम्मका वडाध्यक्ष तथा सदस्यहरुको परिचय गराइएको थियो । यसैगरी राप्ती गाउँपालिका वडा नं. २ मा चुनावी सभा सम्पन्न भएको छ ।

गाउँपालिका कमिटीका अध्यक्ष मदन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका महासचिव शंकर पोख्रेलले सम्बोधन गर्दै लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गरिएको र त्यसको कार्यान्वयनको लागि पुनः एमालेको नेतृत्व आवश्यक पर्ने बताए । एमालेले राप्ती गाउँपालिका अध्यक्षमा जगतप्रसाद पोख्रेल, उपाध्यक्षमा कमलापती चौधरीलाई उम्मेदवार बनाएको छ । त्यसैगरेर लमहीमा पनि चुनावी सभा सम्पन्न भएको छ । चुनावी सभालाई एमाले महासचिव पोख्रेललगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

बिहीवार तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकाका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम भएको एमाले दाङले जनाएको छ । बैशाख १६ गते घोराही र बंगलाचुलीका चुनावी सभालाई महासचिव पोख्रेलले सम्बोधन गर्ने कार्यक्रम भएको नेकपा एमाले घोराही नगर कमिटी अध्यक्ष भुवन चौधरीले बताए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad