Ad Area

घोराहीमा गठबन्धनको घोषणापत्र जारी, दर्जनौं लोकप्रिय कार्यक्रम घोषणा


दाङ, १६ वैशाख । घोराही उपमहानगरपालिकामा गठबन्धनले चुनावी घोषणापत्र जारी गरेको छ ।

घोराही उपमहानगरपालिका १७ बर्गदीमा आयोजित चुनावीसभामा घोषणापत्र जारी गरिएको छ । कार्यक्रममा प्रमुखका उम्मेदवार हेमराज शर्मा ‘डायमण्ड’, उप्रमुखका उम्मेदवार भुपबहादुर डाँगी, नेताहरु कृष्णबहादुर महरा, निर्मल आचार्य, राजु खनालगायतले घोषणापत्र सार्वजनिक गरेका हुन ।

घोषणापत्रमा दर्जनौं लोकप्रिय कार्यक्रम सार्वजनिक गरिएको छ । लोकतन्त्र, परिवर्तन र सामाजिक न्यायका लागि, विकास र समृद्धिका लागि यस स्थानीय निर्वाचनमा लोकतन्त्रवादी र परिवर्तनकारी शक्तिहरुलाई मतदान गरी प्रतिगमनकारीहरुलाई परास्त गर्नुको विकल्प नभएको भन्दै विज्ञप्तिमा लोकतन्त्र, विकास र समृद्धिको पक्षमा उभिन मतदातालाई आव्हान गरिएको छ ।

‘नेपालको संविधान २०७२ जारी भएपछिको पहिलो निर्वाचनपश्चातका पाँच बर्षको अवधिमा देशमा देखापरेका परिवर्तनविरोधी हर्कत, पटकपटकको संसद विघटनलगायत प्रतिगमनकारी हर्कतहरुले अहिले पनि आन्दोलनका बलमा प्राप्त उपलब्धिहरु हाम्रा सामु रहेको छ’– घोषणापत्रमा भनिएको छ– ‘यस अर्थमा प्राप्त उपलब्धिहरुको रक्षा गर्दै लोकतन्त्र र समाजवादको यात्रामा अगाडि बढ्न हामी परिवर्तनका पक्षधर शक्तिहरुले प्रगतिशील लोकतान्त्रिक गठबन्धन निर्माण गरी जनतामाझ जाने निर्णय गरेका छौं ।’

बर्षौदेखि विद्यमान गरीबी, बेरोजगारी, कुशासन, भ्रष्टाचार, न्यून उत्पादन, न्यून वेतन आम नेपालीका साझा दुश्मनका रुपमा रहिआएको उल्लेख गर्दै घोषणापत्रमा लोकतान्त्रिक मूल्य मान्यताप्रति पूरै उदासिन रही व्यक्तिगत लाभ र स्वार्थमा लिप्त रहेको एमाले नेतृत्वको स्थानीय तहलाई विदाई गर्नुको विल्प नरहेको उल्लखे छ ।

घोषणापत्रलाई आगामी नीति कार्यक्रमकै रुपमा अघि सारिएको उम्मेदवारहरुले बताएका छन् । घोषणापत्रमा समेटिएका प्रमुख नाराहरु यस्ता छन्ः

Blog Post Ad

–अर्थतन्त्रको प्रमुख आधारः कृषिमा आमूल सुधार
–गुणस्तरीय सीपमूलक शिक्षा र रोजगारीः गठबन्धनको नेतृत्वमा राज्यको जिम्मेवारी
–स्वस्थ जीवन नागरिकको अधिकारः स्थानीय सरकार पूर्ण जिम्मेवार
–दिगो विकासको आधार, सडक पूर्वाधार
–नगरमा उद्योग, नगरवासीलाई रोजगारः स्वरोजगार नागरिक, समृद्धिको आधार
–पानी जिन्दगानी, नगरको लगानी
–एक घर, दुई विरुवा– एक केरा, एक मेवा
–सुन्दर नगर, पर्यटकीय शहर
–स्थानीय कला संस्कृति मौलिक पहिचानः गठबन्धन सरकारको बिशेष अभियान
–भ्रष्टाचाररहित घोराहीको सोंचः सार्वजनिक सेवामा सहज नागरिक पहुँच
–लोकतन्त्र र स्थायित्वः सामाजिक न्याय हाम्रो दायित्व
–अघि बढ युवा हो, देश अब हाम्रो हो
–आधुनिक जीवनको आधार, सूचना र सञ्चार

Blog Post Ad Blog Post Ad