Ad Area

महायज्ञको आम्दानी-खर्च सार्वजनिक, सबै खर्च कटाएर सवा ४२ लाख वचत


घोराही, १६ बैशाख । बैशाख पहिलो साता सम्पन्न श्रीमद भागवत ज्ञान सप्ताह महायज्ञको आम्दानी खर्च सार्वजनिक भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया पार्कमा संस्कार गृह निर्माण गर्ने लक्ष्यका साथ संचालित महायज्ञबाट उठेको रकम बारे शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गरिएको हो ।

श्रीमद भागवत ज्ञान सप्ताह महायज्ञ मूल आयोजक समिति अध्यक्ष रमेशकुमार आचार्यको अध्यक्षता तथा दानदाता समाजसेवी धनबहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी महायज्ञको आम्दानी खर्च सार्वजनिक गरिएको हो ।

महायज्ञमा कुल ५८ लाख ३ हजार ६ सय ३२ रुपैयाँ नगद संकलन भएकोमा अधिकतम मितव्ययी रुपमा व्यवस्थापन गर्दा १५ लाख ७९ हजार ९ सय १९ रुपैयाँ खर्च भएको आर्थिक उपसमिति संयोजक सानुनारायाण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञ संचालन गर्दा लागेको सबै खर्चं कटाएर अहिले ४२ लाख २३ हजार ७ सय १३ रुपैयाँ वचत भएको छ ।

बैशाख १ गतेदेखि ८ गतेसम्म संचालित महासयज्ञमा कुल ९ सय ४६ दाताले दान गरेकोमा सबैभन्दा बढी गाउँगुलरियाका धनबहादुरले एक्लेै नगद २ लाख ३७ हजार ५ सय २५ रुपैयाँ दान गर्नुभयो ।

महायज्ञ सम्पन्न गर्न मूल आयोजक समितिले विभिन्न २४ उपसमिति गठन गरेको थियो भने १ सचिवालय र मुल समिति गठन गरेको अध्यक्ष आचार्यले बताउनुभयो । टोल विकास, संघसंस्था, शुभचिन्तक मिडियाको भुमिकाका कारण महायज्ञ सफल बनेको भन्दै सम्मान पनि गरिएको थियो ।

पत्रकार सम्मेलनमा मूल आयोजक  प्रचारप्रसार उपसमिति संयोजक कमल ओली, महासचिव शरदकुमार शर्मा, उपसंयोजक हिमलाल पन्थी, भक्ति थापा टोलका अध्यक्ष बिश्राम वली, दाताका तर्फबाट धनबहादुर केसी, प्रमुख कथावाचक कोमल उपाध्यायलगायतले सत्कर्मका लागि गरिएका काममा सबैको साथ सहयोग मिलेको बताउनुभयो । पत्रकार सम्मेलनको सहजीकरण सचिव गोविन्द गोराथोकीले गर्नुभएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad