Ad Area

हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित


दाङ, २१ बैशाख । स्थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगले ३५३ जना निर्वाचित भएको जनाएको हो ।

स्थानीय निर्वाचनको तयारीबारे जानकारी गराउन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले हालसम्म ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका र यो सङ्ख्या अझै बढ्ने बताउनुभयो ।

स्थानीय निर्वाचन २०७४ मा भने ४१२ उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । सहायक प्रवक्ता अर्यालले निर्विरोध निर्वाचित भएको घोषणा गरिए पनि प्रमाणपत्र भने मतगणनापछि निर्वाचित उम्मेदवारसँगै हस्तान्तरण गरिने जानकारी दिनुभएको छ ।

निर्विरोध निर्वाचित हुनेमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का १२३ जना उम्मेदवार रहेका छन् । गठबन्धनतर्फका १९० जना रहेका छन् । गठबन्धनतर्फ नेपाली कांग्रेसबाट १०१, नेकपा माओवादी केन्द्रका ५४, नेकपा एकीकृत समाजवादीका ३४ तथा जनता समाजवादी पार्टी नेपालका एक उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

Blog Post Ad Blog Post Ad