Ad Area

अपाङ्गता भएका व्यक्ति र उम्मेदवारहरूबीच संवाद


तुलसीपुर, २५ वैशाख । तुलसीपुरमा अपाङ्गता भएका व्यक्तिहरूसँग उम्मेदवार विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ । राप्ती बहिरा संघ दाङ र नगर स्तरीय अपाङ्ग सञ्जालको संयुक्त आयोजनामा शनिवार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूको क्षमतालाइ पहिचान गरी रोजगारको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । उनीहरूले क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू नल्याउँदा आफ्नो क्षमतालाई कुण्ठित गरेर भत्ताकै भरमा बस्दा आफूमा भएको क्षमता समेत ओझलमा पर्ने गरेको बताए । सहभागी दिवाकर पाण्डेले शारीरिक, मानसिक, आर्थिक संवेगात्मकलगायत विविध तवरमा पछाडि परेका फरक क्षमता भएका व्यक्तिहरूलाई समाजका शिक्षितवर्गबाट असभ्य र संवेदनशीलहीन व्यवहार भएको गुनासो गरे ।

कार्यक्रममा नेत्रहीन संघ दाङका उपाध्यक्ष राजेशकुमार अर्यालले वित्तीय क्षेत्रमा पहुँच पुग्ने गरी काम गर्न उम्मेदवारलाई आग्रह गरे । अपाङ्ग व्यक्तिहरूप्रतिको विभेद र नेतृत्वलाई स्वीकार्न नसक्दा अपाङ्गमैत्री समाज बन्न सकेको बताउँदै उनले आर्थिक रूपमा मजवुत गर्न तथा आधारभूत आवश्यकताहरूको व्यवस्था गर्न र प्रत्येक अपाङ्ग व्यक्तिहरूलाई रोजगारीको व्यवस्था गर्न उम्मेदवारसँग माग गरे ।

तुलसीपुर उपमहानगरपालिकका गठबन्धनका उम्मेदवार गेहेन्द्र गिरीले ऐनकानुनमा भएका व्यवस्थाहरू अक्षररस पालना गर्ने, अपाङ्गमैत्री वातावरण निर्माण गर्ने तथा फरक क्षमता भएका व्यक्तिहरूको पहिचान गरी रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘अपाङ्गता भएका व्यक्तिहरू पनि यही समाजका सदस्यहरू हुन्, उनीहरूको अधिकारलाई कसैले पनि खोस्न पाउँदैन’, गिरीले भने, ‘सपाङ्गसरह अधिकार दिलाउन हामिले पहल गर्ने छौँ ।’

तुलसीपुर उपमहानगरपालिका नेकपा एमालेका मेयर पदका उम्मेदवार टीकाराम खड्काले सरकारले दिइरहेको हालको भत्तालाई वृद्धि गरेर लैजाने, ज्ञान, सीप र क्षमतालाई हेरी रोजगारको व्यवस्था मिलाउने, आवसीय विद्यालय बनाउनेलगायतका प्रतिबद्धता जनाए ।

कार्यक्रममा गठबन्धनका उपमेयर पदका उम्मेदवार जोगबहादुर राना र स्यानी चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीका रविन्द्र उच्च नेपाली, मंगोल नेशनल अर्गनाइजेशनका मेयर पदका उम्मेदवार जया घर्ती मगरलगायतले आ–आफ्नो प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रमको सहजीकरण स्मृति योगीले र दोभाषे संघका निर्देशक प्रतिमा शर्माले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad