Ad Area

गठबन्धन राष्ट्रिय आवश्यकता : प्रधानमन्त्री देउवा


तुलसीपुर, २५ बैशाख । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले केही हानी नगरेको र सबैभन्दा धेरै फाइदा कांग्रेसलाई भएको बताएका छन् । ‘गठबन्धनले सबभन्दा धेरै फाइदा नेपाली कांग्रेसलाई भइरहेको छ र हामीले पनि गठबन्धन दलहरूलाई फाइदा दिनु पनि छ,’ देउवाले भने– ‘त्यसकारण कांग्रेसका लागि गठबन्धन जरूरी छ, हाम्रो सरकार टिकाउन आवश्यक छ । त्यसकारण गठबन्धन कांग्रेसका लागि जरूरी छ ।’

उनले गठबन्धन राष्ट्रिय आवश्यकता बनेको पनि तर्क गरे । गठबन्धनको सरकार तल्लो तहसम्म बन्न जरूरी रहेको पनि उनले जोड दिए । ‘तुसलीपुरमा पनि मेयर÷उपमेयर गठबन्धनका दलहरूले जितेपछि केन्द्रबाट हामीले पठाएको पैसाको सही सदुपयोग हुनेछ,’ देउवाले भने– ‘त्यसले देशको विकास हुनेछ ।’ स्थानीय तहमा पनि गठबन्धन सरकार बनाउन गठबन्धनको मर्मअनुसार मतदान गर्न आग्रह गर्दै प्रधानमन्त्री देउवाले सबै गठबन्धनभित्रका दलहरूले मतदातालाई मतदान कसरी गर्ने भनेर सिकाउन जरूरी रहेको बताए ।

‘साना–तिना समस्या होलान् ती समस्याको समाधान गर्दै जानुपर्छ,’ देउवाले भने– ‘गठबन्धन वर्षौंसम्म टिकाउन जरूरी छ ।’ त्यसअघि देउवाले नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राष्ट्रलाई दुर्घटनातर्फ लैजान खोजेको भए पनि आफूहरूको खबरदारीले जोगिएको दाबी गरेका थिए ।

नयाँ संविधानमा संसद भंग गर्न नपाइने व्यवस्था भए पनि प्रधानमन्त्री छँदा ओलीले संसदमा विरोध गर्न खोजेपछि संसद नै भंग गरेर गैरप्रजातान्त्रिक छवि प्रस्तुत गरेको आरोप लगाए । ओलीले अदालतको निर्णय पनि नमानेको र जनताको निर्णय पनि नमान्ने गरेको देउवाले बताए । ‘संसदमा अहिले बहुमत प्राप्त गठबन्धन रहेको छ र बहुमतको कदर विश्वभर हुन्छ,’ प्रधानमन्त्री देउवाले– ‘ओली कस्ता व्यक्ति हुन् भने उनले बहुमत पनि मान्दैनन् र उनी प्रजातन्त्रवादी नै हैनन् । जसले ‘रूल अफ ल’ मान्दैनन् ।’ अति नै भएपछि देशले ओलीबाट मुक्ति पाउनुपर्ने अत्यन्तै आवश्यकता परेपछि आफूहरूले ओलीकै खिलापमा गठबन्धन गर्न बाध्य भएको देउवाले स्पष्ट पार्न खोजेका थिए ।

गठबन्धन भएपछि ओलीको सरकार ढलेको र अहिले गठबन्धन दलहरू सबैले कांग्रेसको सरकारलाई सद्भावपूर्ण तरिकाले स्वीकारेको देउवाको भनाइ थियो । ‘यो मेरो लागि पनि खुसीको कुरा हो र मेरो पार्टीको लागि पनि राम्रो कुरा हो ।’ अहिलेको परिस्थितिमा राष्ट्रिय आवश्यकतालाई मध्यनजगर गर्दै कांग्रेस मिल्नुपर्ने बाध्यता रहेको देउवाले बताए । ‘अहिले जसले जे कुरा उठाए पनि अन्य कुराहरूको भ्रममा पर्ने काम नै छैन,’ देउवाले भने– ‘अहिले गठबन्धनलाई जिताउन जरूरी छ ।’

तुलसीपुरमा भएको बृहत चुनावी सभामा सबै नेताहरुले गठवन्धन संविधान च्यात्ने केपि ओलीका विरुद्धमा खरो रुपमा उत्रे । प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एउटै अभिव्यक्ति दिए, लोकतन्त्रका विरुद्ध लाग्ने केपी ओली प्रवृत्तिका विरुद्ध । आफ्नै पार्टीको विधान नमान्ने, मुलुकको संविधान पनि नमान्ने ओली शासनविरुद्ध गठबन्धन भएको उनीहरुले स्पष्ट पारे ।

Blog Post Ad

‘लोकतन्त्रको सर्वोच्चता संसद हो, तर पार्लियामेन्टलाई नै नमान्ने ओलीजीको विरुद्ध हामीले गठबन्धन गरेका हौं’, तुलसीपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने । सात दशकसम्मको आन्दोलनले मुलुकमा नयाँ शासन पद्धति ल्याएको अवस्थामा ओलीले यही व्यवस्थाका विरुद्ध लागेको पनि देउवाको अभिव्यक्ति थियो । ओलीले जनमतको कदर गरेको देखिएन, त्यही कारण जनताका प्रतिनिधिको संसदलाई चल्न दिएका छैनन्’ पार्लियामेन्ट नमान्ने ओलीलाई परास्त अब स्थानीय तहको निर्वाचनले गर्नेछ’, देउवाले छोटो अभिव्यक्ति दिए ।

कार्यक्रममा नेकपा समाजवादीका नेता विजय पौडेलले कम्युनिष्ट आन्दोलनलाई पुस्तान्तरण तथा पुर्नजागरण गर्न एकपटक गम्भीर भएर सोच्नुपर्ने बताए । त्यसका लागि नेपाली जनता आतुर भएको पनि उनको अभिव्यक्ति थियो । त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले जनतालाई झुटा कुरा गरेर फेरि पनि झुक्याउने काम गरेको बताए । उनले विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउन आग्रह गरे । त्यस्तै राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष रेश्मीराज आचार्यले अहिलेको आवश्यकता लोकतन्त्र रक्षा र प्रतिगमनविरुद्ध भएको बताए । उनले ५ दलीय गठबन्धन प्रतिगमन र संविधानलाई समाप्त पार्नेहरुका विरुद्ध भएको बताए ।

चुनावी सभामा गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार गेहेन्द्र गिरीले एमालेका नेता केपी ओली आफ्नै पार्टीको विधान मान्दैनन्, नेपालको संविधान मान्दैनन्, परमादेशको सरकार चाहिँदैन भनेर रेडियो जिंगल बजाइरहेको सन्दर्भमा आपत्ति जनाएका थिए । कार्यक्रममा उपप्रमुख जोगबहादुर रानाले तुलसीपुर उपमहानगरपालिकाभित्रका गलत कुराहरुलाई चिर्न र विकास, समृद्धि हासिल गर्न आफूहरुलाई जिताउन आग्रह गरे ।

नेपाली कांग्रेसका जिल्ला सभापति शंकर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन नेकपा माओवादीका नेता शेसुराम भण्डारीले गरेका थिए । नेकपा एकीकृत समाजवादीका नेता डिल्लीबहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव अर्जुनकुमार योगीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad