Ad Area

मतपेटिका लिएर मतदान केन्द्रमा खटिए कर्मचारी


दाङ, २७ बैशाख । स्थानीय तहको निर्वाचनका लागि दाङमा मतदान केन्द्रहरुमा कर्र्मचारीहरु खटिएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङले बैशाख ३० गते हुन थालेको निर्वाचनका लागि जिल्लाका ४ सय ६१ मतदान केन्द्रहरुमा निर्वाचनका लागि आवश्यक सामाग्रीसहित कर्मचारीलाई खटाएको हो ।

निर्वाचनमा खट्ने निर्वाचत अधिकृतसहितका कर्मचारीहरुलाई निर्वाचनका लागि आवश्यक सामग्री बुझाएर पठाउने काम भैरहेको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार मंगलवार साँझसम्म अनिवार्य रुपमा मतदान केन्द्रहरुमा खट्नुपर्ने भएपनि सदरमुकामदेखि टाढा रहेका मतदान केन्द्रहरुमा भने सोमवार नै कर्मचारीहरु पुगेको बताए ।

‘निर्वाचनका लागि मतदान केन्द्रमा मंगलवारदेखि आवश्यक सामाग्रीसहित कर्मचारी खटिएका छन्’,प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख भण्डारीले भने,‘घोराहीदेखि टाढा रहेका कतिपय मतदान केन्द्रहरुमा सोमवारदेखि मतदानअधिकृतसहितका कर्मचारीहरु पुग्न थालेका छन् ।’

निर्वाचनको तयारीका लागि २७ गते बेलुकासम्म सम्बन्धित मतदान केन्द्रहरुमा निर्वाचन अधिकृत पुग्ने र २८ र २९ गते मतदाता परिचयपत्र वितरण गर्ने तयारी रहेको प्रमुख भण्डारीले बताए । सोही समयमा मतदान स्थल नजिक रहेका बस्तीहरुमा कर्मचारीहरुले मतदाता शिक्षा समेत चलाउनुपर्ने कार्यालय प्रमुख भणडरीले बताए । ‘निर्वाचनका लागि यसपटक मतदाता शिक्षा चलेन ।

त्यसैले मतदाताहरु अन्यौलमा हुनुहुन्छ’,उनले भने,‘निर्वाचन सम्वन्धी जानकारी दिनका लागि कर्मचारीले मतदाता शिक्षा चलाउनु हुनेछ ।’ जिल्लामा स्थानीय तहको निर्वाचनका लागि १ सय ५३ मतदान स्थलमा ४ सय ६१ वटा मतदान केन्द्र रहेका छन् ।

निर्वाचनका लागि ३ हजार ६ सय ८८ कर्मचारी र करिव ३ हजार सुरक्षाकर्मी गरि ६ हजार ६ सय ८८ जनशक्ति निर्वाचनमा परिचालन हुने भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख भण्डारीले बताए । उनका अनुसार मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी र स्वयंसेवक परिचालन हुनेछन् ।

Blog Post Ad

जिल्लामा ४ लाख ९ हजार ९ सय २ जना मतदाता संख्या रहेको छ । जसमा २ लाख ७ सय ९९ पुरुष, २ लाख ९ हजार ९९ जना महिला र अन्य २ जना मतदाताको संख्या रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी परिचालन हुनेछन् । संवेदनशील ठाउँमा भने नेपाली सेना पनि पठाउने तयारी भैरहेको छ ।

५ मतदान केन्द्र महिलालाई जिम्मा

स्थानीय तह निर्वाचनका लागि जिल्लामा ५ वटा मतदान केन्द्र महिलाहरुलाई मात्र जिम्मा दिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १६ स्यानी अम्वापुरमा रहेका ३ वटा मतदान केन्द्र, तुलसीपुर उपमहानगरपालिका–५ मा रहेको अरनि केन्द्र रहेको १ र लमही नगरपालिको कोलहीमा रहेको एउटा मतदान केन्द्र महिलाहरुलाई जिम्मा दिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख भण्डारीले बताए ।

प्रमुख भण्डारीका अनुसार यी पाँच केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी, सहयोगी स्वंयसेवक गरी सवै कर्मचारीहरु महिला रहने भएका छन् ।

 

Blog Post Ad Blog Post Ad