Ad Area

कार्यान्वयनमा आएन निःशुल्क शिक्षा


दाङ, ७ जेठ ।  नेपालको संविधान २०७२ मा संविधानमा आधारभूत तह सम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्म निःशुल्कको व्यवस्था रहेको छ । शिक्षालाई मौलिक तहको रुपमा रहेको छ । तर यसको कार्यान्वयन भने हुन सकेको छैन ।

अहिले विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालन भइ रहेको छ । तर शुल्क नतिर्दासम्म विद्यार्थी विद्यालयमा भर्ना हुन भने पाएका छैनन् । जिल्लामा अहिलेसम्म निःशुल्क शिक्षा कार्यान्वनमा आउन सकेको छैन । अहिले सामुदायिक विद्यालयहरुले भर्ना हुने विद्यार्थीहरुबाट भर्ना शुल्क लिएर भर्ना गरिरहेका छन् भने मासिक शुल्कसमेत लिँदै आएका छन् । यसले गर्दा गरिब तथा विपन्न गरिवारका बालबालिकाहरु पढाइबाट बञ्चित हुनुपर्ने बाध्यता रहेको छ ।

सरकारले निःशुल्क शिक्षा भने पनि कार्यान्वय हुन नसकेको अभिभावकहरुको गुनासो छ । “सरकारले निःशुल्क शिक्षा घोषणा गरे पनि हामीले भर्ना शुल्क तथा मासिक शुल्क तिर्नु पर्ने बाध्यता रहेको छ” एक अभिभावकले भने, “माध्यमिक तह सम्मको सञ्चालन तथा व्यवस्थापनको अधिकार स्थानीय तहमा रहेपनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।” ५ वर्षसम्म कार्यकाल सकेर विदाइ हुँदै गरेका जनप्रतिनिधिलेसमेत शिक्षा क्षेत्रमा ध्यान दिन नसकेको शिक्षाका जानकारहरु बताउँछन् । जसले गर्दा नै निःशुल्क शिक्षा कार्यान्वयन हुन नसकेको उनीहरुको भनाइ छ ।

विद्यालयहरुले भने भर्ना शुल्क तथा मासिक शुल्क लिनु पर्ने आफूहरुको बाध्यता रहेको बताएका छन् । वराह क्षेत्र मावि सेवार बनगाउले पनि विद्यार्थीहरुको भर्ना शुल्क लिने गरेको जनाएको छ । ‘न्युनतम भर्ना शुल्क लिने गरेका छौ’ विद्यालयका प्र अ ज्ञाननाथ योगीले भने । मासिक शुल्क भने नलिने गरेको उनले बताए । विद्यालयले प्राइभेट कक्षा समेत सञ्चाल गरेको जनाएको छ । भर्ना शुल्कमा लिएको रकम उक्त कार्यका लागिसमेत खर्च गरिने गरेको बताइएको छ । विद्यार्थीहरुबाट लिइने शुल्कले नै विद्यालयमा डेस्क, वेञ्च मर्मत, कागज पत्र खरिद, तथा अन्य मर्मतको काम गरिने गरेको बताइएको छ ।

यता घोराही उप–महानगरपालिका शिक्षा महाशाखाका शाखा अधिकृत नारायणप्रसाद पौडेलले नियम विपरीत शुल्क लिनेलाई कारवाही हुने बताए । “नियम भन्दा बाहिर कोही जान पाइदैन गएर काम नियम बाहिर गएर शुल्क लिएमा कारवाही हुन्छ” अधिकृत पौडेलले भने । विद्यालयहरुले कुनै पनि वाहानामा शुल्क लिन नपाउने उनले बताए । विद्यालयमा विद्यार्थी भर्ना हुँदा एक पटक मात्र शुल्क लिन पाउने उनी बताउँछन् । सामुदायक वा संस्थागत विद्यालयमा कुनै पनि नपाइने उनको भनाइ छ । “कुनै पनि विद्यालयले एउटै विद्यार्थीबाट पटक पटक भर्ना शुल्क लिन पाइँदैन” उनले भने ।

विद्यार्थीको पोशाकका लागि दाता खोज्दै विद्यालय
अहिले विद्यालयमा भर्ना अभियान सुरु भएको छ । विद्यार्थीहरु भर्ना गर्नका लागि शिक्षकहरु घर दैलो गरि रहेका छन् । तर विद्यालयमा आएका विद्यार्थीलाई विद्यालय पोशाकका लागि घोराहीमा रहेको एक विद्यालयले दाताको खोजी गर्न थालेको छ । घोराही उप–महानगरपालिका वडा नं १८ स्थित आधारभूत विद्यालय गिठेपानीले पोशाकका लागि दाताको खोजी गर्न थालेको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु अधिकाश गरिव विपन्न परिवारका भएकाले पोशाक समेत किन्न समस्या भएको विद्यालयले दाताको खोजी गरिरहेको आधारभूत विद्यालय गिठेपानीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश वलीले जानकारी दिए । “विद्यार्थीलाई ड्रेस किन्न समस्या भएकाले दाताको खोजी गरिएको हो” अध्यक्ष वलीले भने । अभिभावकहरुले विद्यार्थीलाई विद्यालय पठाउनका लागि ड्रेससमेत किन्न नसक्ने बताउने गरेको उनको भनाइ छ ।
अधिकाश अभिभावकहरु ज्याला मजदुर गरेर खाने भएकाले समस्या भएको उनीहरुले बताएका छन् । विद्यालयमा अध्ययनरत करिव १ सय जना विद्यार्थीलाई ड्रेस किन्न समस्या भएको उनी बताउँछन् । विद्यालयले आफूले दिन नसक्ने भएपछि दाताको खोजी गरिएको उनी बताउँछन् । “अभिभावकहरुले ड्रेस किन्न समेत समस्या भएपछि विद्यालयले दाताको खोजी गरेको हो” अध्यक्ष वलीले भने । अहिलेसम्म विद्यालयले दाता भेटाउन नसकेको उनको भनाइ छ । विभिन्न क्षेत्र संग सहयोगको माग गरिए पनि सहयोग पाउन नसकिएको उनी बताउँछन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad