Ad Area

जिम्मेवारी सम्हाल्दै जनप्रतिनिधि


घोराही, ७ जेठ । स्थानीय तह निर्वाचन दाङ २०७९ अन्तर्गत दाङका दश पालिकामध्ये नौ पालिकामा निर्वाचित जनप्रतिनिधिले सपथ ग्रहणसँगै पालिकाको जिम्मेवारी सम्हालेका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका बाहेकका अन्य नौ पालिका प्रमुखमा निर्वाचित जनप्रतिनिधिले शुक्रवार घोराहीमा सामूहिक रूपमा पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि पालिकामा फर्किएर जिम्मेवारी सम्हालेका हुन् ।

जिम्मेवारी सम्हाल्नुपूर्व पालिका प्रमुखले आ–आफ्नो पालिका उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए । निर्वाचित पालिका प्रमुखलाई मुख्य निर्वाचन अधिकृत एवं दाङ जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले सपथ ग्रहण गराएका थिए ।

मुख्य निर्वाचन अधिकत थापाले घोराही उपमहानगरपालिका नगर प्रमुखमा निर्वाचित नरुलाल चौधरी, लमही नगरपालिका नगर प्रमुखमा निर्वाचित जोगराज चौधरी, राप्ती गाउँपालिका अध्यक्षमा निर्वाचित प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्षमा निर्वाचित यमनारायण शर्मा, राजपुर गाउँपालिका अध्यक्षमा निर्वाचित शरदकुमार बुढाथोकी, बंगलाचुली गाउँपालिका अध्यक्षमा निर्वाचित तुलसीराम पुन, शान्तिनगर गाउँपालिका अध्यक्षमा निर्वाचित प्रमोद बस्नेत, दंगीशरण गाउँपालिका अध्यक्षमा निर्वाचित शम्भु गिरी र बबई गाउँपालिका अध्यक्षमा निर्वाचित कुलबहादुर खत्रीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

नवनिर्वाचित पालिका प्रमुखलाई सपथ ग्रहण गराउँदै प्रमुख निर्वाचन अधिकृत थापाले जनताको भावना र चाहनालाई बुझेर जनताको सेवामा लाग्न आग्रह गरेका थिए । सपथ ग्रहण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय प्रमुख सुरेशप्रसाद काफ्लेलगायतका जिल्लाका सुरक्षा निकायका प्रमुख तथा जनताको सहभागिता रहेको थियो ।
कार्यक्रममा मुख्य निर्वाचित अधिकृत थापाले नवनिर्वाचित पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई प्रमाणपत्र समेत प्रदान गरेका थिए ।

जिल्लामा हाल नौ पालिकाका अध्यक्ष÷उपाध्यक्षसहित ४ सय २३ जनप्रतिनिधि निर्वाचित भएका छन् । ५ सय २० जनप्रतिनिधि निर्वाचित हुनुपर्ने भए पनि तुलसीपुर उपमहानगरपालिकामा मत गणना सकिएको छैन । तुलसीपुर उपमहानगरपालिकामा भने मतगणना जारी रहेको छ । वडा नं. १७ का उम्मेदवारको मृत्यु भएपछि वैशाख ३० गते हुनुपर्ने निर्वाचन जेठको ३ गते भएपछि तुलसीपुर उपमहानगरपालिकामा मतगणनाको काम ढिला भएको थियो । तुलसीपुर उपमहानगरपालिकाको पछिल्लो मतपरिणामअनुसार गठबन्धनका उम्मेदवार गेहेन्द्र गिरी र एमालेका उम्मेदवार टीकाराम खड्काबीच प्रतिस्पर्धा भइरहेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad