Ad Area

घोराहीमा अब निजि र सहकारीमार्फत नगरबस चलाउँछौँ– नगर प्रमुख चौधरी


घोराही, ८ जेठ । घोराही उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख नरुलाल चौधरीले यहाँको आर्थिक सबलीकरणका लागि निजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले आज बिहान आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले निजि क्षेत्रसँगको सहकार्य बिना विकास सम्भव नभएको बताए । समृद्ध घोराही बनाउनका लागि निजि र सहकारीको माध्यमबाट नगर संचालन गर्ने, बेलुकी ७ नबज्दै बन्द हुने बजारलाई राति अबेरसम्म खुलाउन योजनावद्ध ढंगले अघि बढ्न आफुहरु तयार रहेकाले यो काममा निजि क्षेत्रले सहयोग गर्नुपर्ने बताए ।

हामी प्रदेश राजधानीबासी भईसकेपछि नयाँ ढंगले अघि बढ्नुपर्छ, हावापानी र सुरक्षाका हिसाबले घोराही धेरै राम्रो छ अब बजार चलायमान बनाउँदै उपभोक्तालाई सहज रुपमा बस्तु खरिदको वातावरण बनाउन ध्यान दिन जरुरी छ, त्यसका लागि नगरबस रातिसम्म चलाउने, बजार राति अबेरसम्म खुलाउने, पार्किङ थप व्यवस्थापन गर्ने काममा अब ढिला गर्नु हुँदैन, उनले भने ।

यस्तै, उनले घोराही ३ र ५ मा पर्ने लक्ष्मीपुर औद्योगिक क्षेत्रका काम छिटो अघि बढाउन छिटैनै केन्द्रमा ध्यानाकर्षण गर्न जाने बताए । घोराही ८ मा निर्माण हुने भनिएको विमानस्थलको काम पनि अघि बढाउन सार्थक पहल हुने बताए । विमानस्थल बनाउन सर्वेको काम सकिएकाले अब डिपिआरको काम अघि बढ्ने चरणमा रहेको उनको भनाई थियो । राम्रो काम गर्दा कहीकतैबाट विरोध हुनु स्वाभाविक हो, तर स्थानीय जनतालाई व्यवस्थापन गरेरै अघि बढ्नुपर्छ । तत्कालका लागि विरोध होला तर विमान स्थल बन्यो भने जिल्लाको समग्र विकासमा ठुलो टेवा पुग्छ, यसमा निजि क्षेत्रले साथ दिन जरुरी छ, उनले भने । नारायणपुरमा विमानस्थल बनाउँदा तुलसीपुरको पनि निरन्तर संचालनमा ध्यान दिईने बताए ।

यस्तै, घोराही– स्वर्गद्वारी केबुलकार संचालनको काम अघि बढाउने, अन्तर जिल्ला व्यापार सम्बन्ध बलियो बनाउन अब कुनै पनि हालतमा ढिलाइ नहुने बताए । उनले को पाँच वर्षे कार्यकालमा यहाँको आर्थिक विकास र समृद्धिका लागि विशेष प्राथमिकतामा रहेको स्पष्ट पारे ।

संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा निजि क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । संघका सदस्य विष्णुप्रसाद रिजालले धन्यवाद ज्ञापन गरेका थिए, भने कार्यक्रमको सहजीकरण महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।

Blog Post Ad

 

 

Blog Post Ad Blog Post Ad