Ad Area

 ‘मेयर ज्यू’ जनताको भावना बुझ्न पैदल पनि हिँड्ने गर्नुस्


घोराही, १० जेठ । नागरिक समाज दाङले घोराहीका नव निर्वाचित नगर प्रमुख नरुलाल चौधरीलाई जनताको भावना बुझेर समृद्ध घोराही बनाउन वडा वडामा पैदल हिँडेर घरभेट गर्न ध्यानाकर्षण गराएको छ । हिजोका दिनमा उपमहानगरले गरेका कामलाई सार्थक बनाउन तथा आम नगरबासीको मनोभावनालाई कदर गर्न पैदल हिँडेर गाउँबस्ती, टोलमा पुगेमा यसले धेरै नै सकारात्मक प्रभाव पर्ने सुझाव दिइएको छ ।
समाजका संयोजक केबी मसालको नेतृत्वमा सोमबार नगरपालिका पुगेको टोलीले नगरको समृद्धि र सुशासन पक्षलाई बलियो बनाउन, आम नागरिकको भावना प्रत्यक्ष रुपमा बुझ्न नियमित भेटघाटलगायतका कुरामा विशेष ध्यान दिन नगरप्रमुख चौधरीलाई ध्यानाकर्षण गराएको हो । ‘हामीले मेयर ज्यूको काम पूर्ण रुपमा सफल होस् भन्ने अपेक्षा गरेका छौँ, यसका लागि नागरिक समाजले सकारात्मक आलोचनासँगै सल्लाह सुझाव दिए आएको हो,’ समाजका संयोजनक मसालले भन्नुभयो, ‘नगरबासीसँग प्रत्यक्ष जोडिन घरभेटदेखि गाउँ टोलबस्तीमा नियमित पुगेर जानकारी लिने काम गर्नुहोला भनेका छौँ ।’

समाजले दोश्रो कार्यकाल सम्हाल्न जनप्रतिनिधिका रुपमा आउनुभएका नगरप्रमुखलाई ९ बुँदे ध्यानाकर्षण गराएको छ । नगरबासी, विकास प्रेमी, योजनाविद, वुद्धिजीवीसँग महिनामा १ पटक राय सुझाव लिनेलगायत छलफल गर्न पनि सुझाव दिइएको छ ।
संयोजक मसालले नगर क्षेत्रमा रहेका सरकारी सार्वजनिक जग्गाको उचित संरक्षण गर्न र शहरी क्षेत्रमा नागरिकको पहुँचमा पुग्ने गरी खानेपानी, सौँचालय र सवारी पार्किङ्गको व्यवस्थामा विशेष ध्यान दिन आग्रह गर्नुभयो । नगरपालिकाबाट प्रवाह हुने सबै खाले काम र सेवाको पारदर्शिता कायम राख्दै भ्रष्टाचारमुक्त पालिका बनाउन पनि आग्रह गरिएको छ ।
पछिल्लो पाँच वर्षमा घोराही उपमहानगरले थालेको पानी संरक्षण अभियानलाई थप सार्थक बनाउन र यसको उचित प्रयोगमा ध्यान दिन पनि अपिल गरिएको छ । यस्तै, जिल्लालाई मरुभुमिकरण हुनबाट रोक्न वन जंगल, जलाधार क्षेत्रको संरक्षण गरी उत्तरी भागमा सिंचाँका लागि वैज्ञानिक जलाशय निर्माण गरी कृषि क्षेत्रलाई बढावा दिन समाजका सदस्य हरिप्रसाद पाण्डेयले ध्यानाकर्षण गराउनुभयो ।
एक वडा एक पहिचानको आधारमा कार्ययोजना बनाई पाँच वर्षे आवधिक योजना बनाई पूर्वाधार निर्माणमा ध्यान दिन अपिल गरिएको छ । नगर अस्पतालको व्यवस्था लगायत एम्बुलेन्समार्फत निशुल्क रुपमा सुत्केरी र जेष्ठ नागरिकलाई सुविधा पुर्याउन, नगरपालिकामार्फत नगरमा शब वाहनको व्यवस्था गर्न पनि भनिएको छ ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरी स्वास्थ्य सेवा सर्वसुलभ गराउन, सम्भव भएसम्म सूर्तीजन्य गुट्का, सूर्ती लगायत मध्यपानको खुलेआम बिक्रिलाई रोेक लगाउन तथा यसबाट हुने फोहोर नियन्त्रणमा विशेष कार्ययोजना बनाउन समाजले माग गरेको छ ।
यस्तै, बजार क्षेत्रमा निर्माणाधाीन पूपर्वाधारको कामलाई छिटो छरितो रुपमा सम्पन्न गर्न गराउन समबन्धित पक्षलाई ताकेता गर्न भनेको छ । निर्माणकर्ताको जानकारीसहित सूचना बोर्ड राख्ने व्यवस्था मिलाउन, स्वतन्त्र नागरिकको तर्फबाट योजना अनुगमन समिति बनाउन तथा फुटपाथमा व्यवसाय गर्नेहरुलाई उचित स्थानमा व्यवसायको बन्दोबस्त गर्न पनि समाजले ध्यानाकर्षण गराएको छ ।
सो अवसरमा नगरप्रमुख चौधरीले नगरपालिकाको प्रमुखमा दोश्रो कार्यकाल सम्हाल्न आएकाले सिंगो नगरबासीको साथ सहयोग र सुझावलाई सिरोधार्य गरेर अघि बढ्ने बताउनुभयो । समाजका तर्फबाट प्राप्त सुझावलाई मनन् गर्दै योजनावद्ध रुपमा काम गर्ने वचन पनि दिनुभयो । कार्यक्रममा नागरिक समाजका अधिकांश पदाधिकारीको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण समाजका सचिव नारायणप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

 

Blog Post Ad Blog Post Ad