Ad Area

खानेपानी र सौँचालय व्यवस्थापनमा जोड


घोराही, १० जेठ । घोराही उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख नरुलाल चौधरीले नगरका सबै सामुदायिक विद्यालयमा सुरक्षित खानेपानीको व्यवस्थापन र व्यवस्थित शौचालय निर्माण गर्ने घोषणा गर्नुभएको छ । सोमबार नगरप्रमुखको पदभार ग्रहण गर्दै चौधरीले नगर भित्रका सबै सामुदायिक विद्यालयमा सुरक्षित खानेपानीको व्यवस्थापन र व्यवस्थित शौचालय निर्माण तथा व्यवस्थापन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।
‘अहिले पनि हामीले सामुदायिक विद्यालयको पूर्वाधार अवस्था सुधारमा सकेजति काम गर्न सकेका छैनौँ, अबको पाँच वर्षमा यसमा हाम्रो विशेष ध्यान हुन्छ,’ नगरप्रमुख चौधरीले भन्नुभयो, ‘बालमैत्री पालिका घोषणा अभियानलाई सार्थकता दिन पनि हामी गम्भीर भएर लाग्छौँ ।’

नवनिर्वाचित उपप्रमुख हुमाकुमारी डिसीले पदभार ग्रहण गर्दै आफुले सिंगो नगरको समृद्धिका लागि मन वचन र कर्मले दिनरात नभनी काममा खटिने बताउनुभयो ।
यसैविच घोराहीमा नवनिर्वाचित जनप्रतिनिधीको स्वागत र कार्यकाल सकिएका जनप्रतिनिधीको बिदाई गरिएको छ । उपमहानगरपालिकाले नव निर्वाचित जनप्रतिनिधीहरुको स्वागत र निवर्तमान भएकाहरुको बिदाई गरेको हो । नव निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुलाई स्वागत गरिएको हो भने कार्यकाल सकिएकाहरुलाई बिदाई गरिएको हो । निवर्तमान नगर उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी र वडा नम्बर १४ का निबर्तमान वडा अध्यक्ष शक्तिराम डाँगीले नवनिर्वाचित नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, १९ वटै वडाका अध्यक्ष र सदस्यहरुलाई टिका र माला लगाएर स्वागत गर्नुभएको हो ।।

विदाई कार्यक्रममा निवर्तमान नगर उपप्रमुख सीता सिग्देल न्यौपाने र १४ नम्बर वडाका निवर्तमान अध्यक्ष शक्तिराम डाँगीले ५ बर्षे कार्यकालमा जनताको सेवा, विकास र अधिकार स्थापित गर्ने कामको जिम्मेवारी पुराउने सबैलाई धन्यवाद दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण प्रशासन महाशाखा प्रमुख बालकृष्ण खनालले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad