गोधूलि बर्ष कृति पुरस्कार गजल संग्रह ‘बोई’ लाई प्रदान
दाङ,१५ जेठ । गोधूली बर्ष कृति पुरस्कार युवा गजलकार वसन्त ओली ‘वसन्ती’को कृति ‘बोई’ लाई प्रदान गरिएको छ । गाधूली साहित्य प्रतिष्ठानबाट हरेक बर्ष प्रदान गरिने ‘गोधूलि वर्ष कृति पुरस्कार–२०७८ बाट दाङ निवासी युवा गजलकार ओलीद्वारा लेखिएको गजल संग्रह बोइलाई प्रदान गरिएको हो ।
आइतवार काठमाडौंमा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलप्रति गंगाप्रसाद उप्रेतीले ओलीलाई नगदसहित प्रमाणपत्र,अविर टिकालगाएर पुरस्कार प्रदान गरेका थिए । पछिल्लो समय गजल विधामा आफ्नो फरक र अग्लो पहिचान बनाउन सफल युवा गजलकार ओलीलाई नगद दश हजार राशीसहित काठमाडौंमा पुरस्कृत गरिएको छ ।
दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको न्यू स्टार फुटवल एकेडेमीका सस्थापक अध्यक्ष समेत रहेका ओलीले गजलसँगै नेपाली भाषा र साहित्यका अन्य विधामा समेत कलम चलाउने गर्दछन् । ओलीका उपन्यास, मुक्तक र गजल संग्रह प्रकाशित भैइसकेका छन् । साहित्य लेखनसँगै फुटवल खेलाडी समेत रहेका उनी नेपाली सेनामा कार्यरत छन् ।