Ad Area

दाङमा रासायनिक मल अभाव, असार पहिलो साताबाट हट्ने


घोराही, १९ जेठ । दाङमा रासायनिक मलको अभाव असारको पहिलो सातापछि समाधान हुने कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखाले जनाएको छ । विश्व बजारमा मलको अभाव भएकाले नेपालमा पनि यसको असर परेको कम्पनीका घोराही शाखा प्रबन्धक टोपाराम गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा यस वर्ष जम्मा ४० प्रतिशत मात्रै रासायनिक मल वितरण गरिएको छ । खेतीपातीको सिजन शुरु भएपनि केन्द्रबाटै मल नआउँदा जिल्लामा कृषकलाई मल वितरण गर्न कठिन भएको घोराही शाखाले जनाएको छ । उहाँले भन्नुभयो, ‘यो सिजनसम्ममा खपत ७५ हुनुपर्ने हो तर मल आपूर्ति छैन त्यसैले बिक्रि सोँचेजति बिक्रि हुन सकेको छैन ।’

सरकारले खासगरी मुख्य तीन बाली धान, मकै, गहुँलाई मात्रै आधार बनाएर रासायनिक मल आपूर्ति गर्ने हुँदा पनि सँधै मल अभाव हुने गरेको छ । अहिले व्यावसायिक रुपमा बाली उत्पादनसँगै अन्य कृषिजन्य बस्तु उत्पादनमा मलको ठूलो हिस्सा प्रयोग भईरहेकाले आपूर्ति र उपभोगमा असन्तुलन बढेको छ ।

सरकारले वर्षेनी करीव ५० अर्बको रासायनिक मल खरीद गर्दै आएको छ । खरीद अनुसार यसको उपयोग र प्रतिफलबीच पनि ठूलो असन्तुलन देखिएको छ ।

खेती गर्न घोराही क्षेत्रका लागि एक हजार दुई सय मेट्रिक टन युरिया र आठ सय मेट्रिक टन डिएपी आवश्यक पर्छ । तर आवश्यकता पूरा गर्ने मल कृषि सामग्री कम्पनीसँग नभएको कम्पनीका घोराही शाखा प्रमुख गौतमले जानकारी दिनुभयो ।

अहिले गोदाममा मल नभएपनि यस अघि कृषकले प्रसस्त मात्रामा खरीद गरेर लगेको मल ढुक्कका साथ प्रयोग गर्न आग्रह गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखा प्रबन्धक टोपाराम गौतमले असार पहिलो हप्ता मल आउने हुँदा भोलिका दिनमा मल अभाव नहुने विश्वास दिलाउनुभएको छ ।

Blog Post Ad

उहाँले भन्नुभयो, ‘गएको हिउँदमा दाङमा धेरै कृषकले रासायनिक मल खरीद गरेर राख्नुभएको छ । यसको सही उपयोग गर्नुभए हुन्छ, मल आउन लागेकाले तोरी र गहुँका लागि अभाव हुँदैन, वर्षे खेतीका लागि मल ढुक्कका साथ प्रयोग गर्नुस् ।’

खेतीपातीका लागि खरीद गरी मल लगेका किसानले सही उपयोग गरेमा मल अभाव धेरै हदसम्म कम हुने कार्यालयको भनाई छ । जिल्लामा हरेक वर्ष १५ सय टन डिएपी, २५ सय टन युरिया र सय टज पोटासको माग रहेको शाखा प्रबन्धक गौतमले बताउनुभयो । तर, आवश्यकता अनुसार मल आपूति नहुँदा कृषकलाई समस्या भोग्नु पर्ने अवस्था रहेको छ ।

यसैबीच, अभावका कारण मलको मुल्य बढ्ने चर्चा चलेपनि कृषकले साविक कै मुल्यमा मल खरी दगर्न पाउने शाखा प्रबन्धक गौतमले बताउनुभयो । सरकारले खरीद गर्ने मलको मुल्य बढेको छ तर बिक्रि मुल्य बढेको छैन, दायित्व सरकारले व्यहोरेको छ,’ गौतमले भन्नुभयो

घोराहीमा आउने रासायनिक मल रोल्पा, रुकुम पश्चिम र तुलसीपुरमा आएको मल सल्यानसम्म वितरण गरिँदै आइएको छ । जिल्लामा खेतीयोग्य कूल २९ लाख पाँच हजार ५०० हेक्टर जमिनमध्ये खेतीयोग्य जमिन ६९ हजार ९५० हेक्टर रहे पनि ६५ हजार ९८० हेक्टर जमिनमा मात्र खेती हुने गरेको छ ।

जसका लागि कृषकहरुले रासायनिक मलको प्रयोग गर्दै आएको छ । रुस र युक्रेनबीचको युद्धका कारण रासायनिक मल आयातमा रोक लागेपछि मल अभाव भएको सरकारको भनाई छ । जसका कारण नेपाल सरकारकाले हाललाई भारत सरकारसँग जीटूजी मार्फत मल खरीद प्रकृया अघि बढाएको जनाएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड लमही शाखामा पनि डिएपी मल मात्रै रहेको शाखा प्रमुख घनश्याम कहारले बताउनुभयो । लमही क्षेत्रका लागि एक हजार मेट्रिक टन युरिया र सात सय मेट्रिक टन डिएपी आवश्यक पर्छ तर संस्थामा मल छैन । ‘खेतीपातीको समय सुरु भईसक्द्या पनि मल नआउँदा कृषकले दैनिक मल आयो रु भनेर सोधेर हैरान बनाई सके,’ उहाँले भन्नुभयो ।

जिल्लाका तीन स्थानबाट अनुदानको रासायनिक मल सहकारी संस्थामार्फत वितरण गर्ने गरिएको छ । घोराहीमा आउने रासायनिक मल रोल्पा, रुकुम पश्चिम र तुलसीपुरमा आएको मल सल्यानसम्म वितरण गर्नुपर्ने जिम्मेवारी रहेको प्रमुख गौतमको भनाई छ । तुलसीपुर क्षेत्रमा दुई महिनाका लागि एक हजार ६०० मेट्रिक टन युरिया र एक हजार टन डिएपी आवश्यक पर्ने भए पनि अहिले मल नभएको उक्त लिमिटेडका तुलसीपुर शाखा प्रमुख तीर्थराज न्यौपानेले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad