Ad Area

‘मातृ तथा पेरिनेटल मृत्यु रोक्न प्रतिबद्धता’


दाङ, २३ जेठ । जिल्लामा मातृ तथा पेरिनेटल गर्भवती अर्थात (गर्भवती भएको २८ दिनदेखि सुत्केरी भएको ४२ दिनसम्म)को मृत्यु रोक्ने गरी कार्यक्रम ल्याउने नवनिर्वाचित जनप्रतिनिधिहरुले बताएका छन् ।

स्वास्थ्य कार्यालय दाङले सोमवार घोराहीमा गरेको ‘मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य सञ्चालन एवं आधारभूत स्वास्थ्य सेवासम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले जिल्लामा मातृ शिशु तथा पेरिनेटल मृत्यु रोक्नका लागि आफूहरु प्रतिबद्ध रहेको भन्दै आउने नयाँ बजेटमा त्यो अनुसारको कार्यक्रमहरु ल्याउने बताएका हुन् ।

उनीहरुले स्वास्थ्य र शिक्षाको विकासविना अरु विकासको परिकल्पना गर्न नसकिने भन्दै भौतिक पूर्वाधार सँगसँगै स्वास्थ्य र शिक्षाको विकासमा जोड दिने बताएका थिए । साथै केही जनप्रतिनिधिहरुले भौतिक पूर्वाधारभन्दा स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बजेट बनाउने तयारीमा रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै लमही नगरपालिका प्रमुख जोगराज चौधरीले मातृशिशु तथा पेरिनेटल मृत्यु रोक्नका लागि सचेतना आवश्यक रहेको बताए । त्यसका लागि सहरसँगै ग्रामीण क्षेत्रसम्म सचेतनामूलक कार्यक्रमहरुसँगै सुविधासम्पन्न स्वास्थ्य संस्था बनाउन आफूले ध्यान दिने बताएका थिए । उनले मातृ शिशुदर घटाउनका साथै सबै नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा हुनुपर्ने बताए ।

कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले आधारभूत स्वास्थ्य सेवा नीतिमा मात्र नभएर व्यवहारमा पाउनुपर्ने भन्दै त्यसका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताए । ‘नीतिमा हुने तर व्यावहारिकरुपमा जनताले नपाउने अवस्थाको अन्त्य हुनुपर्छ’, अध्यक्ष विष्टले भने– ‘त्यसका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ ।’ उनले विकासका लागि स्वास्थ्य र शिक्षा महत्वपूर्ण पक्ष भएको भन्दै राप्ती गाउँपालिकाले आउने बजेटमा अघिल्लो पटकको भन्दा बढाएर बजेट ल्याउने बताए ।

उनले महिला, बालबालिका, विभिन्न समुदायसँगै सम्पूर्ण नागरिकले आधारभूत तहको निःशुल्क स्वास्थ्य सेवा पाउनुपर्ने बताए । उनले सरकारले थालेको मातृ तथा पेरिनेटल मृत्युदर रोक्ने कार्य महत्वपूर्ण भएको भन्दै यसका लागि पालिका तयार रहेको बताए ।

Blog Post Ad

कार्यक्रममा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले भौतिक पूर्वाधार सँगसँगै स्वास्थ्य र शिक्षाको विकासका लागि आफू तयार रहेको बताए । जिल्लाको दुर्गम क्षेत्र भएकाले पूर्वाधारमा लगानी गर्नुपर्ने आवश्यकता रहेकाले भौतिक पूर्वाधारसँगै स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिने बताएका हुन् ।

त्यसैगरी घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले आधारभूत स्वास्थ्य सेवालाई जनताको पहुँचमा लग्ने र मातृशिशु मृत्युदर घटाउने कार्य महत्वपूर्ण भएको बताइन् । तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले जिल्लालाई पूर्ण खोप सुनिश्चिततासँगै मातृ तथा पेरिनेटल मृत्युदर रोक्ने गरी कार्यक्रमहरु ल्याउनका लागि जिल्लाका सबै पालिकाहरु तयार रहेको बताएका थिए । साथै उनले आगामी दिनहरुमा समेत सबै पालिकालाई एक ठाउँमा राखेर कार्यक्रमहरु गर्दै आगामी बढ्न आवश्यक रहेको बताएका थिए ।

सहभागीहरुले मातृ तथा परिनेटल मृत्युदर रोक्नका लागि स्थानीय सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय दाङले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका छन् । कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य निरीक्षक एवं मातृ तथा पेरिनेटल मृत्यु निगरानी सम्बन्धी फोकल पर्सन सीता कुँवरले जानकारी गराएकी थिइन् ।

त्यसैगरी कार्यक्रममा स्थानीय सरकारले सुनिश्चित गर्नुपर्ने आधारभूत स्वास्थ्य सेवाहरुका बारेमा स्वास्थ्यका लागि सक्षम प्रणालीका हरिजंग रायमाझी र खोप कार्यक्रमका बारेमा जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक किशोर आचार्यले जानकारी गराएका थिए ।

जिल्लाका दशवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुखलगायतका कर्मचारीहरु सहभागी रहेको कार्यक्रममा विषयवस्तुबारेमा स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालयका बामदेव शर्माले गरेका थिए ।

Blog Post Ad Blog Post Ad